सत्यमोहन जोशीद्वारा मायादेवी पूजा सम्पन्न

बोधी संवाददाता
काठमाडौं, पुस १ । बुद्ध र बुद्धधर्मको कल्पना गर्न सकिँदैनथ्यो यदि माहामायादेवीले सिद्धार्थ गौतमको जन्म नदिनुभएको भए — यही धारणाबाट अभिप्रेरित भई आज शताब्दी पुरुष सत्यमोहन जोशीले आफ्नो आँगनमा स्थापना गरेका बुद्धजन्म मूर्तिको पूजा गर्नुभएको थियो ।

थेरवादका प्रमुख भिक्षुहरुको समुपस्थितिमा आज उहाँले बुद्धपूजा, बुद्धमाता महामायादेवी तथा बोधिवृक्ष पूजाको आयोजना गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले मायादेवी महायान र वज्रयानका जस्ता कुनै कल्पित देवी नभइकन सिद्धार्थ आफ्नो कोखबाट जन्म दिनलाई आउनुभएको थियो र सिद्धार्थको जन्मपछि आफ्नो ऐतिहासिक कार्यको सफलता पछि विश्राम लिनुभएजस्तै धरती छोडेर जानुभयो भन्नुभयो । मायादेवी नभएको भए बुद्धको जन्म हुने थिएन, बुद्धको जन्म नभएको भए बुद्धत्व प्राप्ति र धर्मचक्र प्रवर्तन हुने थिएन । त्यसो नभएको भए संसारमा बुद्धधर्म नै हुने थिएन । त्यसकारण हामीले मायादेवीको गुणस्मरण गर्नु वांछनीय छ, उहाँले भन्नु भयो ।

साथै उहाँले आफ्नो घरको प्रांगणमा स्थापना गरी परम्परागत रुपमा प्राणप्रतिष्ठा समेत गरेका मायादेवीको मूर्तिको चर्चा गर्दै त्यो पशुपति क्षेत्रमा पाइएको अत्यन्त सुन्दार सातौ शताब्दीको बुद्धजन्म मूर्तिका नक्कल भएकोले यसको आफ्नो बेग्लै महत्व भएको पनि चर्चा गर्नुभयो ।

उक्त अवसरमा बोल्दै भिक्षु कौण्डन्यले नेपालमा बुद्धधर्मको विशेषताको चर्चा गर्दै बुद्धले दिनुभएको ज्ञानलाई पुस्तकमा सिमित नराखी आफ्नो जीवनमा उतार्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अन्त्यमा आधाशताब्दी अघिदेखि नेपालभाषा साहित्यको माध्यमद्वारा नारीचेतना जगाउने कार्य गर्दै आउनुभएकी पामिला नारायणदेवी श्रेष्ठले सत्यमाेहज जाेशीकी धर्मपत्नी राधादेवी जाेशीलाई सम्मान पनि गर्नुभएको थियो ।

यस अघि पूर्व मन्त्री बुद्धिराज वज्राचार्य एवं प्रतिष्ठित भजन गायक भृगुराम श्रेष्ठ लगायतले बुद्ध भजन गाउनुभएको थियो ।

उक्त कार्यक्रम मेत्तागार धम्म परिवारले आयोजना गरेको थियो ।