बुद्धधर्मले महिलालाई मुक्तिको मार्ग देखाएको छ

बोधी संवाददाता
काठमाडौं, मंसीर २९ । विभिन्न धर्मका अभियन्ताहरुले आज आफ्नो आफ्नो धर्ममा महिलाको उच्च स्थान रहेको बताउँदै सबै धर्मका धर्म गुरुहरुले आफ्नो आफ्नो समुदायभित्र रहेका कुरीति हटाउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बुद्धधर्ममा महिलाको स्थानको बारेमा चर्चा गर्दै भिक्षु पियदस्सीले समाजको रुपान्तरणमा बुद्धको भूमिका प्रकाश पार्दै बुद्धलाई समाज सुधारकको रुपमा प्रस्तुत गर्नुभयो । साथै उहाँले बुद्धकालीन समाजमा महिला विरुद्ध व्यापक विभेद रहेको बताउँदै बुद्धले महिलालाई प्रवजित हुने अनुमति दिएर क्रान्तिकारी कदम चलाएको पनि प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, बुद्धले महिलालाई मुक्तिको मार्ग देखाउनुभएको थियो ।

उहाँको अनुसार बुद्धधर्मले कहिल्यै बालविवाहलाई प्रश्रय दिएको छैन । उहाँले बुद्धधर्मले छोराछोरी परिपक्व भएको अवस्थामा मात्र आमाबुबाले आफ्नो छोराछोरीको विवाहको व्यवस्था गरिदिनुपर्छ । साथै उमेर गइसकेको व्यक्तिले बालकन्या विवाह गरेमा उसको पतन हुने कुरा पनि बौद्ध ग्रन्थमा उल्लेख भएको पनि उहाँले स्मरण गर्नुभयो ।

समाज सुधारको कार्यमा हरेक धार्मिक समुदायमा बौद्ध गुरुहरुको भूमिका हुने बताउँदै उहाँले धार्मिक सहिष्णुतामा जोड दिनुभयो ।

कार्यक्रमकाे प्रारम्भमा सबै धर्मका प्रतिनिधिहरुले मंगल बाक्य पाठ गर्दा बौद्ध समुदायकाे तर्फबाट शुभवती गुरुमांले भाग  लिनुभएकाे थियाे ।

उक्त कार्यक्रममा इस्लाम धर्मका महिलाकहरुको अवस्थाको बारेमा नजीर हुसैनले, क्रिश्चियन धर्ममा महिलाको अवस्थाको बारेमा इशुजंग कार्कीले तथा रामचन्द्र भण्डारीले हिन्दुधर्ममा महिलाको अवस्थाको बारेमा प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रम महिलाहिंसा विरुद्ध अन्तर धार्मिक सञ्जालले प्लान इन्टरनेशनल, सिविन नेपाल एवं ओरेक नेपालको सहयोगमा आयोजना गरेको थियो ।

3 years ago/Friday, December 15th, 2017 /