असम्भव छ ईश्वरीय सत्ता

रत्नकाजी वज्राचार्य
बौद्ध धर्ममा एउटी प्रसिद्ध पात्र छिन्-किसा गौतमी! कथाको रूप लिएको यो अत्यन्त महत्वपूर्ण घटनाको संभवतः संपुर्ण बौद्ध वाहेक अन्य धर्मावलम्बीहरु समेत जानकार छन्, यद्यपी यो कथा मार्फत भगवान बुद्धले यो जगतलाई दिन चाहानु भएको वास्तविक संदेश भने खासै स्पष्ट रूपमा न कसैले बुझे वा बुझ्न चाहे नत कसैले बुझाउन नै प्रयत्न गरे त्यसैले मेरो ज्ञानले भ्याएसम्म कथा सहित पुनः व्याख्या गर्ने कोसिस गरेको छु।

 
भगवान बुद्ध मानवहरुलाई जागृत गर्ने अभियानको शिलशिलामा विभिन्न स्थानहरुको भ्रमण गरिरहनु हुन्थ्यो । त्यसै क्रममा सामान्य बिश्राम स्थलमा बसिरहेको समयमा एउटी महिला आफ्नो अत्यन्त प्यारो छोराको मृत शरीरलाई बोकेर रुंदै चिच्याउँदै विलाप गर्दै अगाडि आएर बुद्धसँग याचना गरिन् -” म अत्यन्त ठूलो आशा लिएर तपाईंको सामुन्ने आएको छु । मैले सुने यो जगतमा हाल तपाईं मात्र एउटा ब्यक्ति हुनुहुन्छ जस्ले मेरो यो मुटुको टुक्रा छोरालाई पुनः जीवन दान दिन सक्नुहुन्छ, दुष्ट सांपले डसेर मेरो यो नाबालक छोरा मर्यो। म यो छोरा विना बांच्न सक्दिन। ”
ती महिला विक्षिप्त अवस्थामा थिईन् । छोरा बाच्छ भने उनी आफ्नो ज्यान दिन पनि तयार थिईन्।
बुद्धले सहानुभूति पुर्ण रुपमा मृदु भाषामा भन्नुभयो -” ठिक छ । नआत्तिनुहोस म तपाईंको छोरालाई पुनः जीवित पारिदिने छु तर तपाईले मलाई एकमुठी तील त्यस्तो घरबाट ल्याएर दिनु पर्ने छ जुन घरमा कोही पनि नमरेको होस्।”
पुत्रको मृत्युले पागल झै भईसकेकी किसा गौतमी नामकी ती महिला तत्क्षण “म तुरुन्तै ल्याउने छु भगवान्” भनेर अत्यन्त हौसलाका साथ त्यहाँबाट तिल माग्न हिडिन्।

 
तिनी एक पछि अर्को गर्दै सयौं घर चाहारिन् । प्रत्येक घर धनीहरुले तील दिन उत्सुकता देखाए तर सबैको घरमा कोही न कोही मरेकै भेटिन् । कोहीको घरमा बाजे त कसैको घरमा नाती, कुनै घरमा बाउ त कुनै घरमा बजै, आमा, कसैको घरमा जन्मदैको बच्चा त कोहीको घरमा जवानहरु मरेका थिए। बिस्तारै किसा गौतमीको मस्तिष्कले अनुभूति गर्न थाल्यो कि अरुको पनि आफन्तहरु मर्दारहेछन्, मर्नेहरु सबै उमेर र वर्गका हुने रहेछ। मेरो मात्र छोरा मरेको होइन रहेछ। बिस्तारै ज्ञान पलाउन थाले संगै विक्षिप्त मस्तिष्कमा विचारको द्वन्द चल्न थाल्यो र थकित भै बुद्धको चरणमा आएर रुन थालिन्।

 
तब भगवान बुद्धले भन्नुभयो ” अहिले जुन विचार तिम्रो दिमागमा आईरहेको छ त्यही कूरा मैले तिमीलाई सुरुमै भनेको भए निश्चित थियो तिमीले मलाई विश्वास गर्ने थिएनौ तर अहिले आफैंलाई ज्ञान भयो कि संसारमा जो जन्मिन्छ अवश्य एक दिन त्यस्को मृत्युहुन्छ,”
तत् पश्चात् किसा गौतमीले प्रकृतिको कठोर सत्यलाई स्विकार्दै आफुलाई बुद्ध धर्म र संघ प्रति समर्पित गरिन्।

 

भगवान बुद्धले यो कथा द्वारा दिनुभएको सन्देश कृपया मनन गर्नु होला र अन्यथा नलिनु होला। संसारको अन्तिम सत्यलाई बुझ्ने कोशिस गर्नुहोला।  यदि त्यो घटनामा बुद्धको स्थानमा अरु कोही ईश्वर थिए भने यस्तो भनेको सुनिन्थ्यो वा पढ्न पनि पाइएको छ, ” हे किसा गौतमी तिमी निश्चिन्त होउ तिमी मेरो शरणमा आएकी छौ । म तिम्रो छोरालाई अवस्य पुनर्जीवन दिन्छु ।”
अनि पुनः भन्थ्यो “हे दुष्ट सांप तँ तुरुन्त याहाँ आईज । यो बालकको शरिरबाट संपुर्ण विष चुसेर फिर्ता लैजा।!!
हे काल तं पनि यहाँ तुरुन्तै आईज । यो बालकलाई पुनः जीवन दे । तँ काल होस भने म माहाकाल हुं ” र सांप र काल दुबैलाई बाध्य पारेर किसा गौतमीको छोरालाई पुनः जीवन दान दिएको कथा बनाईन्थ्यो र उपस्थित मानिसहरु लगायत देवीदेवताहरुले जीवन दाता ईश्वरको जयजयकार गरेको बताईन्थ्यो।
अब सोचौं त,  किसा गौतमलाई उस्को छोरा अति प्यारो थियो उस्ले मरेको छोरा जीवित पार्न ईश्वरको हारगुहार गरिन् र ईश्वर खुसी भै उस्को छोरालाई जीवन दान दिए । अब कसैलाई श्रीमती प्यारो होला, कोहीलाई छोरी, कसैलाई बुबा त कसैलाई श्रीमान् । अझ कसैलाई नाति नातिनातिना प्यारो होला त कसैलाई अरु कोही अनि सबैजना लास सहित ईश्वर हारगुहार गर्न आए सबैलाई पुनः जीवित पार्ने?

 

लौ ईश्वर दयालु रहेछ सबैलाई जीवनदान दिए। ओहो! अब त कोही पनि नमर्ने भयो। मर्यो कि ईश्वरको हारगुहार गर्यो पुनः जिवित। अब त यो संसार पुनः जीवनदान पाएका मुर्दाहरुले नै भरिने भयो। प्रतिवर्ष ६ करोड नयाँ मानवहरुको जन्म अनि कोही नमर्ने! अनि केही बर्ष पछि यो पृथ्वीमा मानिसहरु अट्ने ठाउँ रहला?

 
अर्को पक्ष – “लौ यो त भएन काहां सबै मृतहरुलाई जिवित पार्नु हुन्छ? किसा गौतमी पो अवला थिईन्, मेरो सच्चा भक्त थिईन्, उनीको छोरा प्रति अगाध माया थियो वा मृत्युको समय नै आएको थिएन । त्यसैले मैले उनको छोरालाई जीवनदान दिएको हुं।” लौ ईश्वर यस्तो वहानामा आफ्नो बचाउ गर्न लागे रे, तर ईश्वरीय आशिर्वाद नपाउनेहरुको विद्रोहले ईश्वर नै अति विवादित र स्वार्थी नठहर्ला? यो लेख पढिरहनुभएका मित्रहरुलाई नै पनि ईश्वरले पक्षपात गरेमा सायदै तपाईंले त्यो ईश्वरलाई छोड्ला!

 
किसा गौतमीको अति प्यारो आफन्त मर्दा जीवनदान दिएको थाहा पाउनासाथ अर्की” उशा” आफ्नो जवान पतिको मृत शरीर लिएर उनै ईश्वरलाई हारगुहार गर्न पुगिन् र” हे प्राणनाथ हजुरको कृपाले किसा गौतमीको पुत्रले जीवनदान पायो म त किसा भन्दा पनि बढी पिडित छु। मेरो त जवान पतिको भिरबाट लडेर मृत्यु भएको छ म अहिले विधुवा भएकी छु। म जस्ती जवान एकल विधुवालाई यो समाजमा वाच्न अत्यन्त कठिन हुन्छ। हे प्रभु कुनैपनि हालतमा मेरो पतिलाई जिवित पारिदिनुस नत्र म पनि यहि ढुंगामा टाउको ठोकेर तपाईंको अगाडी नै प्राण त्यागिदिने छु। ” लौ अब त वाध्यताले नै ईश्वरले उस्लाई पनि जीवनदान गर्नै पर्ने भो।

 
अर्को । आफ्नो प्यारी श्रीमतीको मृत्युले विक्षिप्त भएको युवक श्रीमतीको लास लिएर आए अनि धम्काउंदै” हे ईश्वर मैले थाहा पाएको छु तपाईंले धेरै मृतहरुलाई जीवनदान दिनुभएको छ। मेरा अत्यन्त सुन्दरी मनमोहिनी श्रीमतीको अकालमा नै दुर्घटनामा मृत्यु भयो म मेरो आधा आयु यिनलाई दिन तयार छु । तपाईंले यिनलाई बचाई दिनुस हैन भने म जे पनि गर्न सक्छु । अरुलाई पुनः जीवनदान दिने मेरो श्रीमतीलाई नदिने हो भने म कसैलाई पनि छाड्ने छैन । ”

 
अब कि त युवकसँग भिड्नु पर्यो या खुसुक्क उनको श्रीमती पुनः जीवित पार्नु पर्यो। ईश्वर एउटा युवकसँग कुस्ती खेल्दा के हविगत होला? जीवनदान दिउँ कतिलाई दिने? कसैलाई लाख र कसैलाई पाखा गर्दा स्वत: विरोधहरु बढ्ने भयो। सम्हाल्न नसक्ने हो भने शोकले विक्षिप्त भएकाहरुले ति ईश्वरलाई नै आक्रमण नगर्ला भन्न सकिन्न।

 
उपरोक्त पंक्तिहरु कोर्नुको कारण  – यो संसारमा जे हुन्छ त्यो कर्म र कारणले हुन्छ वा प्रत्युतसम्पाद हो। कर्म र त्यसको परिणाम स्वरुप नै जीवन चक्रको निरन्तरता हुन्छ न कि कसैको ईच्छाले। यो ब्रम्हाण्डको प्रत्येक वस्तुहरु क्रियाचक्र कै परिणाम रुपि निरन्तरता हो। कुनै ईशरीय शक्तिको संजाल होइन। यो ब्रम्हाण्डको संतुलित निरन्तरतामा अलिकति पनि विचलन आएमा वा ल्याउने दुस्साहस गरेमा परिणाम भयावह हुन्छ। त्यसैले याहाँ कुनै पनि ईश्वरीय सत्ता असंभव छ। जे हुन्छ प्रकृतिको नियम अनुसार हुन्छ। कर्म र त्यसको असरबाट नै यो ब्रम्हाण्ड निरन्तर सक्रिय र संचालनमा रहन्छ ।यो ब्रम्हाण्डको न त सुरुवात हुन्छ नत मध्य नत कहिल्यै अन्त्य मात्र निरन्तरता हुन्छ ।प्राणीहरु सहित यावत तत्वहरु उत्पत्ति हुंदै नष्ट हुने र पुनः परिवर्तन हुंदै उत्पन्न र नष्ट भै रहन्छ।

 
भगवान बुद्धले यही अन्तिम सत्यको ज्ञात सबैलाई होस। असम्भव कुराहरू प्रति अंधविश्वासी भै अज्ञानतावश आश्था राख्दा शोक र चिन्ता झनै बढ्न जान्छ त्यसैले संसारको वास्तविकता बुझेर परिस्थितिसंग तालमेल गर्दै यथार्थबादी बन्ने कोसिस गरोस र संपुर्ण दुष्कर्महरुलाई त्यागेर मानिसहरु सदकर्म तर्फ लागोस भन्ने स्पष्ट मार्ग यो घटनामा दर्शाउनु भएको छ। त्रिरत्न शरणम्।

3 years ago/Sunday, December 10th, 2017 /