तिलौराकोट ऐतिहासिक भएको पुष्टि

मनोज पौडेल

कपिलवस्तु पुरातात्त्विक तिलौराकोट (प्राचीन कपिलवस्तु) को ऐतिहासिकता पुष्टि भएको छ । पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फाइयान र सातौं शताब्दीमा आएका हुवेनसाङले आफ्नो यात्रा विवरणमा यसबारे उल्लेख गरेका तथ्य फेला परेका छन् । विदेशी र नेपाली पुरातत्त्वविद्को टोलीले तीन वर्षदेखि गरिरहेको तिलौराकोट क्षेत्रको उत्खननबाट ती तथ्य फेला परेका हुन् ।

त्यस क्रममा व्यवस्थित सहर र घर फेला परेका छन् । तिलौराकोटभित्र बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउँठाउँमा ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन् । दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका धेरै बस्तु पाइएपछि बुद्धस्थलको ऐतिहासिकता पुष्टि भएको उत्खननमा संलग्न युनेस्कोका परामर्शदाता तथा वरिष्ठ पुरातत्त्वविद् कोषप्रसाद आचार्यले बताए ।

बेलायतको डुराम विश्वविद्यालय, युनेस्को, पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्त्वविद् संलग्न टोलीले उत्खनन गरेको हो । त्यसबारे जानकारी दिन आयोजित कार्यक्रममा परियोजना सहनिर्देशकसमेत रहेका आचार्यले तिलौराकोटमा पछिल्ला पाँच वर्षयता भएका उत्खनन उपलब्धिमूलक भएको बताए । तिलौराकोटसहितका बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषणको आवश्यकता रहेको उनको भनाइ छ ।

भारतीय पुरातत्त्वविद् देवला मित्राले सन् १९६२ मा तिलौराकोटमा गरेको उत्खननले भ्रम सिर्जना गरेको उनले बताए । तिलौराकोटको प्राचीनता इसापूर्व दोस्रो शताब्दीसम्म भएको देवला मित्राको भनाइलाई अहिले भइरहेको वैज्ञानिक उत्खनन, अन्वेषण, अनुसन्धान र परीक्षणले इसापूर्व आठौं शताब्दीका भवनका किल्ला र पर्खालको पोस्टहोल (काठ र बाँसका खाँबोको डोब) भेटिएपछि गलत साबित गरेको आचार्यले बताए ।

मित्राले तिलौराकोटमा सहरको बनोट नभएको, किल्लाबन्दी पूरा नभएको, भएका किल्लाबन्दी इसापूर्व दोस्रो शताब्दीपछिका रहेको दाबी गरेकी थिइन् । उनले तत्कालीन सरकारलाई बुझाएको प्रतिवेदन गलत साबित भएको पनि उनले जानकारी दिए । हालसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको सहर भएको र त्यसको कालक्रम इसापूर्व आठौं शताब्दी (२८ सय वर्ष पुरानो) रहेको डुराम विश्वविद्यालयका सहउपकुलपति तथा प्रमुख पुरातत्त्वविद् डा. रविन कनिङघमले बताए ।

तिलौराकोटमा गरिएको भूभौतिक सर्वेले पाँच सय मिटर गुणा तीन सय ५० मिटरको किल्लाबन्दीको व्यवस्थित सहर रहेको देखाएको आचार्यले जानकारी दिए । उनका अनुसार किल्लाबन्दीभित्र पूर्वपश्चिम र उत्तर–दक्षिणी सडक रहनुका साथै सडकछेउमा व्यवस्थित घर भेटिएका छन् ।

चार वटाभन्दा बढी द्वार रहेको संकेत फेला परेको तथा ती कुनै कालमा सुरक्षालगायत कारणले बन्द गरिएको हुन सक्ने देखिएको छ । यस्तै, मध्यभागमा १/१ सय मिटर लम्बाइ/चौडाइको भग्नावशेषसहितको दरबार फेला परेको थियो । यस वर्ष उक्त क्षेत्रको १० प्रतिशतमा उत्खनन गर्दा भवनका संरचना फेला परेका छन् । मध्य भागमा ठूलो संरचना फेला परेको पुरातत्त्व विभागका प्रमुख रामबहादुर कुँवरले बताए ।

पूर्वी द्वारको दक्षिणमा गरिएको उत्खननमा विभिन्न तह भएको ठूलो पर्खालको संरचना तथा सिसहनिया, दोहनी, चेतरादेही र सगरहवालगायत स्थानमा गरिएको भूभौतिक सर्वेमा जमिनमुनि विभिन्न संरचना फेला परेको उनले बताए । यस वर्षको उत्खननमा पशुका मूर्ति, पुरुष मूर्तिका शिर, माटाका भाँडाका टुक्रा, इसा पहिलो वा दोस्रो शताब्दीका कुशानकालीन तामाका मुद्रा भेटिएका छन् । अगेट, ल्यासपिस लिजिली, जेड, अनेक्स, अगेटबिट र क्रिस्टल बिटलगायत बहुमूल्य र अर्ध बहुमूल्य मालाका दाना पनि फेला परेका छन् ।

तिलौराकोटका तीन र कुदानको एक ठाउँमा पछिल्लो उत्खनन गरिएको हो । टोलीमा बेलायतको डुराम विश्वविद्यालय, युनिभर्सिटी अफ स्टलिङ र ओक्नी कलेजका प्राध्यापक १०, युनेस्कोका दुई नेपाली परामर्शदाता, पुरातत्त्व विभागका पाँच र लुम्बिनी विकास कोषका चार विशेषज्ञ तथा पुरातत्त्वविद् सहभागी छन् । यस्तै, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तरमा संस्कृति र पुरातत्त्व अध्ययनरत १३ विद्यार्थी सहभागी छन् ।

जनवरीको मध्यदेखि सुरु भएको उत्खनन मार्च पहिलो सातासम्म चलेको थियो । जापान सरकारको जापान फन्ड इन ट्रस्ट र नेसनल जियोग्राफी सोसाइटी अमेरिकाको सहयोगमा उत्खनन तथा अनुसन्धान गरिएको हो । दोस्रो चरणको तीन वर्षे उत्खनन तथा अन्वषेण यस वर्ष सकिएको छ ।

साभार कान्तिपुर फाल्गुन २७, २०७२

 

3 years ago/Friday, December 8th, 2017 /