लुम्बिनी ‘स्मार्ट सिटी’ कि ‘पिस सिटी’ ? क्वाकको शान्ति शहर परियाेजना ओझेलमा

प्रदीप आचार्य 

लुम्बिनी । सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रुपमा विकास गर्न काम अघि बढाएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत नयां शहर आयोजनाले लुम्बिनी सहित निजगढ र पालुङ्टारलाई समेत स्मार्ट सिटीको रुपमा विकास गर्न परामर्सदाता छनोटका लागि सूचना जारी गरेको छ । छनोट हुने परामर्शदाता कम्पनीले संसारका महत्वपूर्ण स्मार्ट सिटीहरुको गुरुयोजना बनाएका विज्ञहरुको सहयोगमा काम गर्नुपर्ने प्रावधान छ ।

परामर्शदाता कम्पनीले लुम्बिनी,निजगढ र पालुङ्टारमा बन्ने स्मार्ट सिटीको मापदण्ड बनाउने,आधाररेखा बनाउने,गुरुयोजना तयार पार्नेे,२० वर्षे रणनीति बनाउने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार पार्नेछन् । यो सवै काम परामर्शदाता कम्पनीले आगामी १० महिनाभित्र पुरा गर्नुपर्ने प्रावधान छ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई प्राथमिकतामा राखेर स्मार्ट सिटीको काम अघि बढाउने तयारी भइरहेको नयाँ शहर आयोजनाका प्रमुख चक्रवर्ति कण्ठले बताए । कण्ठका अनुसार यसै आर्थिक वर्षभित्र लुम्बिनीमै कार्यान्वयन डिभिजन कार्यालय राखेर स्मार्ट सिटीको काम अघि बढाउने तयारी छ । सम्भवतः परामर्शदाता कम्पनीले प्रतिवेदन बुझाउनु अघि देखि नै स्मार्ट सिटीका लागि आवश्यक पर्ने फराकिला सडक,ढल निकास लगायतका भौतिक पूर्वाधार निर्माणको काम अघि बढाइने छ ।

 

 

कसरी गरियो स्मार्ट सिटीको परिकल्पना ?
सन् २०१२ मा ‘लुम्बिनी शान्ति शहर’को गुरुयोजना बनाउने जिम्मा पाएका कोरिएन प्रोफेसर क्वाक याङ्गुनले लुम्बिनी शान्ति शहर एउटा ‘स्मार्ट सिटी’को रुपमा तयार हुने बताएका थिए ।
यद्यपि उनले आफ्नो गुरुयोजनामा यो शहरलाई स्मार्ट सिटीको रुपमा भन्दा बढी पिस सिटीकै रुपमा चिनाउन चाहन्थे । ‘क्वाकले बनाएको लुम्बिनी शान्ति शहरको गुरुयोजना एउटा स्मार्ट सिटी कै परिकल्पनामा आधारित छ’ –लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराइले भने । भट्टराइका अनुसार आधुनिक सूचना प्रणालीका सवै संयन्त्रहरुको परिकल्पना, पार्क, हरियाली र वातावरणमैत्री तथा प्रदूषणरहित शहरको रुपमा ‘लुम्बिनी शान्ति शहर’लाई अघि सारिएकाले लुम्बिनी शान्ति शहर नै स्मार्ट सिटीको रुपमा विकास हुन सक्छ ।

तर प्रोफेसर क्वाकले आफ्नो गुरुयोजना तयार पारेर सरकारलाई बुझाएको केही समयपछि सरकारले लुम्बिनीलाई स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना घोषणा गरेको थियो । यस्तो योजना घोषणा हुँदा लुम्बिनी शान्ति शहरको गुरुयोजनाका विषयमा भने सरकारले केही बोलेको छैन ।

लुम्बिनी ‘स्मार्ट सिटी’ कि ‘पिस सिटी’ ?
लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर क्वाक याङ्गुनले गुरुयोजना तयार पारिसकेका छन् । कमलको फूलको आकारमा तयार पारिएको उनको गुरुयोजना निकै लोभलाग्दो छ । अत्याधुनिक शहरको परिकल्पना गरिएको यो गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिक मात्रै होइन अत्याधुनिक स्मार्ट सिटीकै रुपमा विकास गर्ने योजना स्पष्टसँग तयार पारेको छ ।

वर्षौ लगाएर तयार पारिएको लुम्बिनी शान्ति शहरको यो गुरुयोजना कार्यान्वयनका लागि क्वाक आफै सक्रियतापूर्वक लागेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन समेत यो गुरुयोजना कार्यान्वयनका लागि उत्सुक छन् । सरकारले गुरुयोजना कार्यान्वयनमा तदारुकता देखाए यसका लागि आवश्यक पर्ने स्रोत जुटाउन आफु तयार रहेको क्वाकको भनाई छ । यतिसम्म कि आफ्नो कार्यकाल सकिनु अघि नै यो गुरुयोजनाको शीलान्यास आफ्नेै हातबाट गर्न इच्छुक रहेको गोप्य सन्देश समेत महासचिव मुनले नेपाल सरकारलाई पठाइसकेका छन् ।

तर सरकारले क्वाकको यो गुरुयोजनालाई वेवास्ता गर्दै हतारमा स्मार्ट सिटीको अर्को योजना अघि सारेर कार्यान्वयनको प्रकृया समेत शुरु गरेको छ । क्वाकको गुरुयोजना अध्ययन गरेका नेपाली प्राविधिकहरुले शान्ति शहरको गुरुयोजनालाई नै स्मार्ट सिटीको रुपमा विकास गर्न सल्लाह समेत दिइरहेका छन् ।

लुम्बिनी विकास कोषका वरिष्ठ इन्जिनियर सरोज भट्टराइले सरकारले अघि सारेको ‘स्मार्ट सिटी’ लुम्बिनी शान्ति शहरको गुरुयोजना कार्यान्वयनको लागि अघि बढाइएको प्रक्रिया हुनसक्ने आशंका गरे । क्वाकले अघि सारेको ‘लुम्बिनी शान्ति शहर’ सरकारले भनेको ‘स्मार्ट सिटी’ संग मेल खाने दावी उनको छ ।

तर रुपन्देहीका विकासे आयोजनाहरुमा विशेष चासो र पहल राख्ने सभाषद्, नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल भने ‘स्मार्ट सिटी’को परिकल्पना क्वाकको गुरुयोजना भन्दा बाहिरबाट आएको दावी गर्छन् ।

पौडेलले रुपन्देहीलाई विकासमा मुलुककै नमुना जिल्ला बनाउने अभियान अन्तर्गत यो योजना अघि सारिएको बताए । उनले लुम्बिनीको महत्व र सम्भावनाहरुलाई समेत ध्यानमा राखेर लुम्बिनीमै ‘स्मार्ट सिटी’ बनाउने कुरामा सरकार तत्पर रहेको दावी गरे ।

‘क्वाकले पनि शान्ति शहरको परिकल्पना गरेर एउटा सुझाव सहितको प्रस्ताव ल्याएका छन्,त्यसलाई कार्यान्वयन गर्ने,नगर्ने वा कति गर्ने भन्ने कुरा सरकारको हातमा छ’– नेता पौडेलले भने ।
तर क्वाकको शान्ति शहरको गुरुयोजनासंग ‘स्मार्ट सिटी’को कुनै सम्वन्ध नरहेको उनले दावी गरे । पौडेललका अनुसार लुम्बिनी क्षेत्रमा व्यक्तिकोे नीजि जग्गा लिएर सरकारले ‘स्मार्ट सिटी’का लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु निर्माण गर्नेछ ।

सम्भव होला त लुम्बिनीमा ‘स्मार्ट सिटी’ ?
सन् १९७८ मा जापनीज वास्तुकलावीद् प्रोफेसर केन्जो टाङ्गेले बनाएको लुम्बिनी गुरुयोजना तत्कालिन समयमा निकै महत्वकांक्षी मानिएको थियो । सरकारले करिव ३५ वर्ष मा उनको गुरुयोजनाको ८० प्रतिशत काम सकेको छ । टाङ्गेको गुरुयोजना आफैमा भव्य र सुन्दर छ । यो गुरुयोजनाले लुम्बिनीको जम्मा १ सय ७७ विगाहा क्षेत्रफल मात्रै ओगटेको छ । यसले लुम्बिनीका प्राचीन पुरातात्विक संचरनाहरुको संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको छ ।

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै होइन वाहिर समेत ब्यवस्थित शान्त र समृद्ध शहरको परिकल्पना उनले गरेका छन् । तर टाङ्गेले बनाएको गुरुयोजनाले भित्र बसेका स्थानीयलाई बाहिर समेत व्यवस्थित रुपमा बसाल्ने ठोस प्रस्ताव ल्याएन जसका कारण स्थानीय वासिन्दा सधै लुम्बिनी र लुम्बिनी विकास कोषप्रति असन्तुष्ट रहदै आए । लुम्बिनी भित्र जति सुन्दर बन्दै गयो वाहिर झन् अव्यवस्थित ।

यति सेरोफेरोमा केही वर्षअघि लुम्बिनीमा चिनिया“ लगानी ल्याउने उद्देश्य सहित ‘एपेक’ नामक परियोजना अगाडी सारियो । यो परियोजनाले पनि लुम्बिनी क्षेत्र वाहिर आधुनिक र सूचना प्रविधिले भरिपूर्ण शहरको परिकल्पना गरेको थियो । यद्यपि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकप्रियताका लागि यस्तो योजना अघि सारेको भन्दै व्यापक आलोचना भएपछि उनी त्यसवाट पछि हटे ।
त्यसपछि लुम्बिनीलाई ग्रेटर लुम्बिनी बनाउनुपर्ने प्रस्तावहरु आए । तर ग्रेटर लुम्बिनीको परिकल्पनालाई साकार पार्न खास कुनै गुरुयोजना बनेन ।

त्यही विचमा कोरियन प्रोफेसर क्वाकले लुम्बिनीलाई संसारकै नमुना शान्ति शहर बनाउनुपर्ने प्रस्ताव ल्याए । सरकारको अनुमति पाएपछि कोरियन सहयोग नियोग (कोइका)को सहयोगमा प्रोफेसर क्वाकले सुन्दर र शान्त शहरको गुरुयोजना तयार पारे ।

तीन अर्ब अमेरिकी डलरको लगानीमा यस्तो शहर बनाउन सकिने योजना उनको छ । उनको गुरुयोजनालाई लुम्बिनीवासीले निकै मन पराएका छन् । तर सरकारले यसलाई कार्यान्वयनमा लैजाने विषयमा खासै चासो देखाएको छैन । स्थानीय राजनीतिक दलका नेताहरुको सहभागिता विना शान्ति शहरको योजना बनेको आरोप समेत लाग्ने गरेको छ । यद्यपि लुम्बिनी संसारकै नमुना, सुन्दर, शान्त र ‘स्मार्ट शहरको’रुपमा विकास हुने दिशामा अघि बढेको विज्ञहरु बताउंछन् ।

लुम्बिनी एउटा शान्त र पवित्र ग्रामको रुपमा विकास भइसकेकाले अहिलेको लुम्बिनी गुरुयोजना क्षेत्रलाई नै ‘स्मार्ट पिस एरिया’ बनाउन सकिने धारणा पर्यटनविद् रामचन्द्र सेंढाइको छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङ्ले पटक–पटक नयां योजना अघि सारेर गुरुयोजना बनाउने नाममा पैसा खर्च गर्नुभन्दा क्वाकको गुरुयोजनालाई कार्यान्वयन गर्नु उपयुक्त हुने धारणा राखे । यद्यपि लुम्बिनीमा अर्को ‘स्मार्ट सिटी’को परिकल्पना आफैमा राम्रो भएको टिप्पणी उनको छ ।

लुम्बिनीविद् डा. गितु गिरीले लुम्बिनीमा ‘स्मार्ट सिटी’को परिकल्पना प्रोफेसर क्वाकले गरिसकेको भन्दै त्यसलाई कार्यान्वयनमा लैजानु सवैभन्दा राम्रो हुने बताए । तर क्वाकको परिकल्पनामा भव्य कंक्रिट शहरको परिकल्पना नभएकाले अर्को कुनै ‘स्मार्ट सिटी’ बनाउने भए लुम्बिनीदेखि टाढा बन्नुपर्ने धारणा उनको छ ।

नया“ शहर आयोजनाका प्रमुख चक्रवर्ति कण्ठले क्वाकको गुरुयोजनाका विषयमा आयोजनामा कुनै छलफल नभएपनि सोही गुरुयोजनालाई स्मार्ट सिटीको रुपमा विकास गर्ने नीतिगत भए धेरै छिटो र सजिलो हुने धारणा राखे । उनले सरकारले लुम्बिनीलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने विषयलाई प्राथमिकतामा राख्ने हो भने क्वाककै गुरुयोजना कार्यान्वयन गर्दा राम्रो हुने धारणा राखे ।

साभार लुम्बिनी टाइम्स डटकम