गुरु उ पण्डिता आनन्दद्वारा आधुनिक जीवनमा ध्यानको महत्वबारे प्रवचन

बोधी संवाददाता
काठमाडौं, कार्तिक ३ । मलेशियाका बौद्ध धर्मगुरु उ पण्डिता आनन्दले आज यहाँ एक कार्यक्रममा आधुनिक जीवनमा ध्यानको महत्वबारे एक प्रवचन दिनुभयो ।
उहाँले आज ध्यान गर्दा चित्तको एकाग्रता महत्वपूर्ण छ भन्दै ध्यान बस्ने भनेर बसेर मात्र ध्यानको सफलता नहुने बरु जुन काम गर्दा पनि मनलाई एकाग्र बनाएर गरेमा उठ्दा, बस्दा खाँदा पनि जुन गरिरहेको हो त्यमसा एकाग्र भएर त्यसको अर्थलाई भित्री मनदेखि मनन गरेमा त्यसबाट ध्यान गर्ने जतिकै फाइदा पुग्ने बताउनुभयो ।
उहाँका अनुसार मानिसका श्वासप्रश्वास प्रणालीले मानिसलाई हरदम साथ दिइरहेको हुन्छ र त्यसलाई मात्र ध्यानमा राखेर बस्दा पनि हाम्रो शारीरिक तथा मानसिक स्थिति सन्तुलनमा आउँछ । उहाँले शरीर स्वस्थ हुनको लागि मन सन्तुष्ट हुनुपर्ने र मन खुशी भए शरीर स्वस्थ हुने पनि बताउनुभयो । बेलाबेलामा आनन्दपूर्वक लामो श्वास छोडेर सन्तुष्ट भएको अनुभव गरेमा मनलाई लाभ हुने उहाँको धारणा छ ।

 

 

कार्यक्रममा उहाँद्वारा निर्देशित चीनियाँ कलाकारहरुद्वारा अभिनित योगमा आधारित नृत्यनाटिकाको पनि प्रदर्शन गरिएको थियो ।

 

 

गुरु आनन्दले लामो रोगबाट मुक्त भइसकेपछि थाइल्याण्ड र म्यानमारमा केही वर्ष बुद्धधर्म तथा ध्यान सिक्नुभयो र आफुले अठोट गरे बमोजिम आफ्नो जीवन नै बुद्ध धर्मको प्रचारमा बिताइरहनु भएको छ । विशेष गरेर उहाँका गुरुले निर्देशन गर्नुभए अनुसार उहाँ समयसमयमा नेपाल आएर नेपालीहरुलाई ध्यान सिकाइरहनुभएको छ । उहाँले काठमाडौं लगायत पोखरा, जोमसोम तथा मार्फामा पनि ध्यानकेन्द्रहरु खोल्नुभएको छ ।

 

 

यसबाहेक उहाँ काठमाडौं लगायत नेपालका विभिन्न दुर्गम जिल्लामा रहेका आर्थिक रुपले कमजोर विद्यालयहरुका लागि छात्रवृत्ति तथा कम्प्युटरहरु पनि प्रदान गदै आइरहनुभएको छ । आजको कार्यक्रमको अन्तमा उहाँले डोटी तथा कास्की लगायतका जिल्लामा सामुदायिक विद्यालयहरुका लागि छात्रवृत्ति प्रदान गर्नका लागि नगद तथा कम्प्युटरहरु पनि वितरण गर्नुभयो ।

 

 

कार्यक्रम रोटरी इन्टरनेशनल तथा नेपाल सिनोजेन साँस्कृतिक विकास संघले आयोजना गरेको थियो ।