लुम्बिनीमा थाइ राजकुमारीको भ्रमण

बोधी संवाददाता
काठमाडौं, कार्तिक ३ । थाइल्याण्डका राजकुमारी महाचकरी सिरिनधोरनले आज शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुुभयो ।
उहाँले लुम्बिनीस्थित थाइल्याण्ड सरकारद्वारा निर्मित थाइ राजकीय बौद्ध विहारको समुद्घाटन गर्नुभएको थियो । लुम्बिनी परिसरमा थाइल्याण्ड सरकारको सहयोगमा तीनवटा बौद्ध विहारहरु निर्माण गरिएका छन् । यी बौद्ध विहारहरुले थाइ कला, संस्कृति, वास्तुकलाका साथै थाइ जनताको बुद्ध र बुद्धधर्मप्रतिको श्रद्धा समेत झल्काउँछ । निकै कलात्मक ढंगले निर्माण गरिएका विहारहरु लुम्बिनीमा दर्शनीय ठाउँहरु मध्ये एक हो ।
बौद्ध विहारको उद्घाटन पछि राजकुमारी सिरिनधोरनले लुम्बिनीमा यहाँस्थित मायादेवी मन्दिरमा पुगेर प्रार्थना गर्नाका साथै यहाँ स्थित अशोक स्तम्भ तथा अन्य धार्मिक स्थलहरुमा पनि भ्रमण गर्नुभयो ।
राजकुमारी थाइ एअरको विशेष वायुयानबाट शुक्रबार बिहान मात्रै काठमाडौँ आउनुभएको थियो भने यहाँबाट पुनः प्लेच चार्टर गरी लुम्बिनी जानुभएको थियो ।
राजकुमारी लुम्बिनी आउने तय भएपछि थाई सरकारका प्रतिनिधि र अन्य बौद्ध धर्मावलम्बीहरु गरेर हजारौं थाइल्याण्डका मानिसहरुले लुम्बिनी आएर यहाँको बस्तुस्थितिको जानकारी लिएर गएको थाहा भएको छ । मन्दिर उदघाटन कार्यक्रममा सहभागी हुन भनेर थाइल्याण्डबाट २ हजार थाई भिक्षु, भिक्षुणी र उपासक उपासिकाहरु लुम्बिनी आएका थिए ।
गत वर्ष दिवंगत भएका राजा भूमिवल अदुल्यादेजकी छोरी राजकुमारीका साथमा ४४ जना थाइ सरकारका विशिष्ट पाहुना पनि भ्रमण दलमा आएका थिए ।
थाइ सरकारले लुम्बिनीमा बौद्ध विहार गर्नुका साथै, त्यहाँका सडक, पर्यटन लगायत ग्रामीण क्षेत्रमा शिक्षा स्वास्थ्यका क्षेत्रमा समेत सहकार्य गर्दै आएको छ ।

फोटो साैजन्य कान्तिपुर अनलाइन

3 years ago/Friday, October 20th, 2017 /