शाक्यमुनि बुद्ध मूर्तिको अनावरण

बोधी संवाददाता
काठमाडौं, साउन १२। ढुक्पा छेसी छ्योइखोर दुइछेन (प्रथम धर्मचक्र प्रवर्तन)को अवसरमा शाक्यमुनि बुद्ध मूर्तिको अनावरण (राप्ने) कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार छयोर्तेन टासी तामाङ गुम्बाको हलभित्र नवनिर्मित बुद्ध मूर्तिको श्रदेय टुल्कु लोसाङ नाम्गेल रिम्पोर्छेको प्रमुख आतिथ्यतामा एक विशेष पूजासहित राप्ने गरियो ।
कार्यक्रममा विशेष अतिथि आचार्य सोनाम ग्युर्मेले प्रथम धर्मचक्र प्रवर्तन तथा दान पारामिताको बारेमा प्रवचन दिनुभएको थियो । आचार्य ग्युर्मेले आजको दिन विशेष रहेकोले पुण्य एवं दान दिने कार्यले ठुलो पुण्य प्राप्त हुने जानकारी गराउदै सबैमा पुण्य तथा सत्कर्ममा लाग्न अनुरोध गर्नुभयो । आज शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त पाश्चत पहिलो चोटि धर्मदेशना गर्नुभएको तिथि हो । जुन देशनामा बुद्धले चार आर्य सत्य र आर्य अष्टाङ्गीक मार्गको बारेमा
देशना गर्नुभएको जानकारी गराउदै यसमा दत्तचित्त भई धर्म मार्गमा लाग्न सबैमा अनुरोध गर्नुभयो ।
सोही गुम्बाको आफ्नै जग्गामा भवन निर्माणको लागि आर्थिक सहयोग संकलन पनि गरिएको थियो । सहयोग संकलनमा खण्डोमा दुइछेन आमा समुहबाट १० लाख, ब्यावसायी ग्रुपबाट ८ लाख १ सय ५, गुम्बा अध्यक्ष मानबहादुर तामाङबाट १० लाख, थाङ्का ब्यवसायी कार्साङ लामाबाट साढे २ लाख, हरिबहादुर बलबाट २ लाख, सिद्धीबज्र लामाबाट १ लाख, धर्मलाल लामाबाट ५० हजार ५ सय, लगायत अन्य विभिन्न ब्यक्ति, संस्थाबाट संकलित रकम करिब ३० लाख भन्दा माथि भएको थियो भने संकलन हुने क्रम निरन्तर जारी छ । संकलित रकमले छिटै नै भवन निर्माण गर्ने कुरा बरिष्ठ उपाध्यक्ष सिद्धीबज्र लामाले जानकारी गराउनु भयो ।
कार्यक्रममा सभाअध्यक्ष मानबहादुर तामाङले आफ्नो विचार राख्दै आजको यस प्रथम धर्म चक्र प्रवर्तन अवसरमा बुद्ध मूर्तिको अनावरण गर्न पाएकोमा खुशी ब्यक्त गर्दै मूर्ति निर्माणको लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनु भयो । भवन निर्माणको लागि सहयोग गर्न सबैमा अह्वानसमेत गर्नुभयो ।
कार्यक्रममा बुद्ध मूर्ति निर्माण गर्ने छेवाङ लामालाई गुम्बाबाट विशेष सम्मान गरियो ।
कार्यक्रममा अतिथिहरु पूर्व सांसद हर्षजित लामा, पूर्व शसस्त्र प्रहरी महानिरिक्षक किशोर कुमार लामा, नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङ, नेपाल बाल संगठनका अध्यक्ष लक्ष्मी लामा, कलाकार रोज मोक्तान, तम्बा संघ नेपालका अध्यक्ष धावा वाङ्गेल मोक्तान, बौद्ध कल्याण गुठीका अध्यक्ष खड्गजित लामा, धर्मपाला थाङ्का सेन्टरका कार्साङ लामा, गोले वंशवली उत्थान समाजका अध्यक्ष जय प्रसाद गोले लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो ।
(चित्र समाचारसँग असम्बन्धित )