शान्तिपुरभित्रका प्राचीन भित्ते चित्रकलाको उचीत संरक्षण हुनुपर्ने

बोधी संवाददाता
काठमाडौं, साउन ११ । स्वयम्भूस्थित शान्तिपुरभित्र बनेका प्राचीन भित्ते चित्रकलाको समयमै उचीत संरक्षण हुनुपर्ने धारणा आज बौद्ध विद्वान प्राेफेसर एलेक्जेन्डर भोन रोस्पाटले राख्नुभयो ।

 

युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेमा दक्षिणी तथा दक्षिणपूर्वी एशियाली अध्ययन विभागका प्रमुख रोस्पाटले आफुले गरेको शान्तिपुरका भित्तेचित्रहरुका बारे अध्ययनका बारेमा बोल्दै यसो भन्नुभएको हो ।

 

ती चित्रहरुको व्याख्या गर्दै उहाँले आदिबुद्ध विपश्वी इत्यादिले स्वयम्भुमा वीजारोपन गर्नुभएको, स्वयम्भू चैत्य उत्पत्ति भएको मञ्जुश्रीले पानी बाहिर पठाएको, नागराजाहरु यहीँ बसेको, शाक्यमुनि बुद्ध तथा मैत्रेयी बुद्धले धर्मोपदेश दिएको, राजा अशोकको प्रसंग, शान्तिकराचार्यदेखि प्रतापमल्लसम्मको प्रसंगका कुराहरु समेत वर्णन गरिएको छ,जुन धेरै किसिमले स्वयम्भु पुराणको दृष्टान्तसँग मिल्छ भन्नुभयो ।

 

उहाँका अनुसार यी भित्तेचित्रहरुले काठमाडौं उपत्यकाको अनुपम सम्पदाको प्रतिनिधित्व गर्दछ । उहाँले यी चित्रहरु नै उत्कृष्ट नभएपनि यसको मौलिक स्वरुप यी चित्रहरुभन्दा धेरै राम्रो हुनुपर्ने र कालान्तरमा क्षय भएर अहिलेको स्वरुपमा आएको हुनसक्ने बताउनुभएको छ ।

 

“शान्तिपुरका भित्तेचित्रहरु अद्वितीय छन् । यति लामो भित्ते चित्र नेपालको बौद्ध कलाको क्षेत्रमा मात्र होइन नेपालमै पनि पाइँदैन होला । यसको संरक्षण जरुरी छ,” उहाँले भन्नुभयो ।

 

उहाँका अनुसार यी भित्ते चित्रहरु मौलिक रुपमा धेरै पुराना भएपनि यस भन्दा पहिले सन् १९०४मा पुनःचित्रण गरिएका थिए, जसका कारण यसले मौलिक स्वरुप, रंग, चित्रकारी र वर्णन वाक्यका लिपि पनि धेरै ठाउँमा गुमाएको छ ।

 

उहाँले यस कार्यमा त्यसबेलाका चित्रकार परिवारहरुको योगदान रहेको तथा उनीहरुले नेपालको धर्म तथा संस्कृतिलाई अविछिन्न राख्न पनि भूमिका निभाएकोमा सराहना गर्नुभयो ।

 

 

दुइवर्ष अगाडि गएको भूकम्पले यसमा क्षति पुर्याएको बताउँदै यसका साथै स्वयम्भूमा अहिलेसम्म पुनःनिर्माण वा जिर्णोद्धार गर्न सम्बन्धित सबै निकायको ध्यानाकर्षण पनि गराउनुभयो ।

 

कार्यक्रम सोसल साइन्सबहाःको आयोजनामा भएको थियो ।

4 years ago/Wednesday, July 26th, 2017 /