थेरवाद एकेडमीमा बुद्धशिक्षाबारे सेमिनार सम्पन्न

बोधी संवाददाता

काठमाडौं, साउन ७ । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा नरेशमान वज्राचार्यले राेजीराेटी र पदलाभका लागि मात्र बुद्धधर्मको अध्ययन गर्नेहरुमा बुद्धधर्मका अनुयायीहरुमा हुनुपर्ने गुण नहुने बताउनुभयो ।

 

“अब बौद्ध गुरुहरु सचेत हुनुपर्दछ, रोजीरोटीको लागि बुद्धिज्ममा आउने, पदको लागि डिग्री लिनेहरु सुबास बिनाको फूल जस्ता हुन्,” आज थेरवाद बुद्धिस्ट एकेडमीमा आयोजित बुद्धशिक्षा सम्बन्धी एकदिवसीय सेमिनारमा बोल्दै उहाँले सो कुरा बताउनुभएको थियो ।

 

अहिले भिक्षु वा लामा वा गुरुजुहरुलाई विश्वविद्यालय अध्ययन गरेर आएकाहरु देखेर दुईवर्ष पढेर के जान्दछ र भन्ने पनि लाग्दछ होला । हुन पनि दुइचार वर्ष पढ्दैमा बौद्ध विद्वान हुन गाह्रो छ । यो त विधि मात्र हो । उनीहरुले आफुले पालना नगरेका कुराको बयान गरिरहेको हुन्छ । यिनीहरु भनेको नक्कली गुलाब जस्ता हुन् जसमा सुबास हुँदैन ।

 

अर्कोतर्फ उहाँले बुद्धधर्मको प्राज्ञिक अध्ययन गरेर आउनेहरुलाई भिक्षुहरु वा लामाहरुसँग प्राज्ञिक अध्ययन छैन, उहाँहरुलाई के थाहा होला र, हामीहरु त विश्वविद्यालयमा पढेर डिग्री लिएको भन्ने अभिमान होला भन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामीसँग अब बौद्ध गुरु वा स्पीरिचुअल मास्टर्सहरु छन् भने अहिले नयाँ उत्पादन भएका बौद्ध प्राज्ञिक व्यक्तिहरु छन् । एकपक्षले अर्को पक्षको अवमुल्यांकन पनि गर्नु ठिक हाेइन । अब स्पीरिचुअल मास्टरको व्यक्तित्वका साथै एकेदेमिसियनको व्यक्तित्व पनि लिनुसक्नुपर्नेहुन्छ ।”

 

उहाँले बौद्ध गुरुहरु र बौद्ध प्राज्ञहरुका बिच सहकार्य र समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयाे ।

 

कार्यक्रममा निग्रोध स्थविरले नेपालमा स्थविरवादको वर्तमान अवस्थाका बारेमा, महेन्द्ररत्न शाक्यले स्नातकोत्तर तहमा बौद्धकलाको पाठ्यक्रमका बारेमा, मदनरत्न मानन्धरले प्रतीत्य समुत्पादको बारेमा, कोलित महास्थविरले बुद्धधर्ममा जीव वातावरणको विषयमा तथा सविता धाख्वाले बुद्धधर्ममा महिलाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँहरुको कार्यपक्रमा क्रमशः उर्मिला ताम्राकार, पुष्परत्न शाक्य, फणिन्द्र न्यौपाने, पञारत्न स्थविर र रश्मी राजकर्णिकारले टिप्पणी गर्नुभयो ।

 

कार्यपत्र प्रस्तोताहरुलाई विश्वविद्यालयका रजिष्टार तिलक आचार्यले प्रमाणपत्र वितरण गर्नुभयो ।

 

कार्यक्रमको अन्तमा विश्वविद्यालयका डिन प्रा भद्रत्न वज्राचार्यले विश्वविद्यालयका शिक्षकहरुको प्राज्ञिक अभ्यास तथा क्षमतावृद्धिका खातिर यस्ता कार्यक्रमहरु गर्दैजाने वचनवद्धता व्यक्त गर्नुभयो ।