भूकम्पमा क्षतिग्रस्त बौद्ध गुम्बाहरुको पुननिर्माण चाँडै थाल्नुपर्ने

बोधी संवाददाता

काठमाडौं, साउन ४ । दुई वर्ष अगाडिको भूकम्पले क्षति पुर्याएका बौद्ध गुम्बाहरुको जिर्णोद्धार तथा पुननिर्माण अझै चाँडै नुहने देखिएको छ । सरकारी पक्षले जसरी यस कार्यमा ढिलासुस्ती र आलटाल गरिरहेको छ, त्यो देखेर हाल सरोकारवालाहरुले सरकारलाई घचघच्याउनलाई अल्टिमेटम दिने र जनप्रदर्शन गर्नुपर्ने आवश्कता देखिएको छ ।

 

हालै बौद्ध संघसंस्थाहरुले साउन ८ गते सबै गुम्बाका प्रमुख लामा र पदाधिकारीको भेला गर्ने र साउन १० गते बृहत जन प्रदर्शन तथा विरोध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

सरसकारी पक्षले बौद्ध गुम्बा निर्माणमा चासो नदेखाएको तथा भएको बजेट समेत निकासा नगरेको भनी एक संघर्ष समिति बनाएर सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गरेका थिए ।

 

पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक सानुबाबु लामा, पूर्व उर्जा राज्य मन्त्री सूर्यमान दोङ लगायतका सदस्यहरुले ससरकार र सरकारी संरचनाको आलोचन गर्दै उनीहरुले १० बुँदे माग सहित गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङ्गलाई एक हप्ते अल्टिमेटम दिए । कार्यक्रममा तामाङ्ग घेदुङ संघका प्रदेश नं ३ का संयोजक सोम्बले तामाङ, लामा धर्म गुरु ग्याल्छो लामा, लामा धर्म गुरु अमर लामा आदिको पनि उपस्थिति थियो ।

 

२०७२ वैशाख १२ र २९ गतेको विनासकारी भुकम्प र त्यसपछिका पराकम्पनबाट गुम्बा, विहारमा पनि ठूलो क्षति भएको थियो । झण्डै ८ लाख संरचना ध्वस्त हुने गरी गएको भूकम्पले निजी आवास, विद्यालय, सरकारी भवनका साथै गुम्बा विहार, मठ मन्दिरमा अकल्पनिय क्षति पु¥यायो । भूकम्पबाट क्षतिग्रस्त सांस्कृतिक धरोहर तथा सम्पदाहरुको पूर्न्निमार्णका लागि पनि सरोकारवाला समुदाय, नेपाल सरकारका निकाय र विदेशी दातृनिकायको समन्वय र सहयोगमा आर्थिक वर्ष २०७३÷ ०७४ को लागि पुर्न्निमार्णको लागि आवेदन परेका मध्ये ९ सय ९३ गुम्बाको पूर्न्निमार्ण नेपाल सरकार संधिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत रहेको बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिले पूर्न्निमार्णको जिम्मा लिएपछि गुम्बा विहारको पुर्निनमार्ण कार्यले मूर्त रुप लिने अपेक्षा गरिएको थियो । जसका लागि विनियोजित बजेट सहितको पत्र गुम्बाहरुलाई प्राप्त भएको थियो । समितिको ढिलासुस्ती र पदाधिकारीहरुको निर्णयक्षमताको अभावका कारण निमार्ण प्रक्रियामा सुस्तता आयो । तथापी विनियोजित बजेट निर्धारण गरिएको पत्र प्राप्ति पछि सम्बन्धित गुम्बालाई नक्सांकन बापत रकम जम्मा गर्न लगाइए पनि बजट भने नदिइँदा भूकम्प प्रभावितलाई झन् पीडित बनाइयो आर्थिक वर्षको समाप्ति सम्म आइपुग्दा पनि निमार्ण कार्य अगाडि बढाउन गुम्बा विकास समितिबाट कुनै पहल कदमी लिन नसक्नु दुखद विषय रह्यो भन्ने उनीहरुको भनाइ थियो ।

 

कार्यक्रममा वितरित प्रेस विज्ञप्तिमा भनएिको छ — “प्रक्रिया अगाडि बढेको विषयको कार्या्विधि परिवर्तन गरि जिम्मेवारीबाट पन्छिने काम गुम्बा विकास समितिले गर्न मिल्दैन तसर्थ कार्य्विधि नै परिवर्तन गर्ने गैह्रजिम्मेवार कार्य प्रति हाम्रो पूर्ण असहमति र घोर आपत्ति छ । भूकम्प प्रभावित गुम्बा विहार संघर्ष समितिको तर्फबाट मिति २०७४ साउन२ गते का दिन गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङ्गलाई एक हप्ते अल्टिमेटम सहित निम्न बमोजिमका मागहरु प्रस्तुत गरेको जानकारी गराउन चाहान्छौं ।”
साथै उनीहरुले बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समितिले वजेट विनियोजन गरेका ९९३ वटै गुम्बाको पूर्न्निमार्ण कार्य तुरुन्त शुरु गरियोस् भन्दै . हालै जारी गरिएको नायँ कार्य्विधि खारेज गरियोस भन्ने माग राखे ।
यसका साथै आर्थिक वर्ष २०७३÷०७४ को विनियोजित वजेट अनुसार कै योजनालाई निरन्तरता दिइयोस् तथा छुट भएका गुम्बा विहारहरुलाई पुर्न निमार्ण कार्यमा समावेश गरियोस भन्ने पनि उनीहरुको माग रह्यो ।
उनीहरुले गुम्बा पुर्न निमार्ण गर्दा भौतिक संरचना अन्र्तगत मूति आर्ट तथा थाङका समेतलाई समावेश नगरी पुननिमार्ण कार्यपूर्ण हुदैन त्यसैले मूर्ति र आर्ट तथा थाङका समेत पूर्ववत अवस्थामा कायम राख्ने कार्यविधिमा समावेश गरियो भन्ने पनि माग राखे ।

 

साथै उनीहरुको माग अनुसार बौद्ध दर्शनसंग सम्बन्धित व्यक्तिहरुलाई र सम्बन्धित समुदाय तथा वौद्ध दर्शनको ज्ञान भएका व्यक्तिलाई मात्र नेपाल सरकारबाट गठित समितिहरुमा कार्यकारी निर्देशक तथा विभागिय प्रमुख जिम्मेवारी दिने प्रवन्ध मिलाइनु पर्दछ ।

 

 

यसै अवसरमा उनीहरुले पूर्न्निमार्ण कार्य बौद्ध दर्शन प्रर्वद्धन तथा गुम्बा विकास समिति मार्फत नै गरियोस्, यस अघि नक्सांकन भइसकेका गुम्बाहरुलाई मान्यता प्रदान गरियोस् तथा नक्सांकन गर्न बाँकी गुम्बाहरुको लागि विकास समितिबाटै प्राविधिहरुले नक्सांकन गर्ने प्रवन्ध मिलाइयोस् भन्ने पनि माग राखे ।

 

उनीहरुले यहि नेपाली माटोमा प्रर्वद्धन भएको बौद्ध दर्शनको आस्थाको प्रतिक गुम्बा विहारलाई नेपाल सरकार र सम्बन्धित निकायले गम्भीरता पूर्वक ग्रहण गरियोस भन्ने आग्रह पनि गरे ।

 

महाभुकम्पमा देशभरी रहेका हजारभन्दा बढी गुम्बाहरुमध्ये ९९३ वटा गुम्बामा क्षति पुगेको प्रतिवेदन आएको थियो जसका लागि झण्डै ९ अरब रुपैंया सहयोग प्राप्त भएको भन्ने जानकारीमा आएको सरोकारवालाहरु बताउँछन् । तर पनि ती मध्ये कुनै पनि गुम्बाको पुननिर्माण शुरु गरिएको छैन ।