थेरवाद बौद्ध संग्रहालयको प्रगतिका बारेमा छलफल

बोधी संवाददाता
काठमाडौं, असार २३ । बौद्ध महिला संघ नेपालले आज भविष्यमा बन्ने भएको थेरवाद बौद्ध संग्रहालयको प्रगतिका बारेमा एक छलफल कार्यक्रमको आयोजना गर्यो ।

उक्त अवसरमा हालसम्म संग्रहालयका लागि आवश्यक सामाग्री संकलनकाे अभिभारा लिएका सदस्यहरु संगीना वज्राचार्य, अनिता मानन्धर तथा दीना कंसाकारले विभिन्न विहारमा गएर त्यहाँ पहिले बसेर जानुभएका भिक्षुहरुले प्रयोग गरेका सामानहरु तथा ऐतिहासिक तस्बीरहरको संकलन गर्दाको प्रगति विवरण प्रस्तुत गर्नुभयो ।

संग्रहालयविद् कर्ण महर्जनले हालका लागि संग्रहालय कस्तो बन्ने छ र यसमा के के वस्तुहरु कसरी राख्दा नेपालको थेरवादको पुनरुत्थानलाई एकै स्थानमा झल्काउन सकिन्छ भन्ने बारे प्रस्तुतीकरण गर्नुभयो ।

 

संघका महासचिव मीरा ज्योतिले अहिले संकलन भएका सामाग्रीहरुबाट पहिलो चरणमा संग्रहालयलाई यथाशक्य चाँडो मूर्त रुप दिएर पछि क्रमश विकास गर्दै लानुपर्ने राय ब्यक्त गर्नुभयो ।

संघका अध्यक्ष डा. केशरी लक्ष्मी मानन्धरले नेपालमा बुद्ध जन्मेको भएर पनि बुद्धधर्मको बारेमा यथेष्ठ जानकारी दिने एउटा संग्रहालय नभइरहेको अवस्थामा यसको निर्माणमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अपील गर्नुभयो ।