बौद्ध विद्वान दोलेन्द्र रत्न शाक्यको गुणानुस्मरण

बोधी संवाददाता

ललितपुर, असार १५ । बौद्ध विद्वान दोलेन्द्र रत्न शाक्यको सुगतिको कामना गर्दै आज ललितपुरका विभिन्न बौद्ध संघसंस्थाहरुले उहाँको नाममा श्रद्धाञ्जली एवं गुणानुस्मरण सभाको आयोजना गरे ।

कार्यक्रममा अखिल नेपाल बौद्ध भिक्षु महासंघका भिक्षु कौण्डन्यले शाक्यको परिश्रम, ध्यान भावना तथा बौद्ध साहित्यलेखन प्रतिभाको कदर गर्दै उहाँले आफ्नो धर्ममा जीवन अर्पण गर्ने इच्छा राखेकाले नै त्यस्ता विकट रोगहरुबाट पनि लडेर ७४ वर्ष सम्म क्रियाशिल जीवन बिताउन सक्नुभएको बताउनुभयो ।

एकजना मृगौलाका बिरामीलाई बाँच्ने आधार धर्म र धर्मका लागि केही गरौं भन्ने भावनाले दियो । उहाँ सकारात्मक सोचले दीर्घ जीवन पाइन्छ भन्ने एक उदाहरण हुनुभएको छ, उहाँले भन्नुभयो ।
आफ्नो जीवनकालमा ४०वटा भन्दा बढी बुद्धधर्मका पुस्तक लेखक गरिसक्नुभएका शाक्यको करीब १० पुस्तकको समीक्षा भिक्षुले् गर्नुभएको थियो ।

मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यानकेन्द्रका अध्यक्ष पुष्परत्न शाक्यले उहाँले आफ्नो जीवनको पूर्वाद्र्धमा व्यवसायिक जीवन को लागि र उत्तराद्र्धमा सद्धर्मको शिक्ष दिनमा व्यतित गरेको स्मरण गर्नुभयो ।

शाक्यका छोरा महेन्द्ररत्न शाक्यले दीवंगत शाक्यले शुरु गर्नुभएको धर्म साकच्छाका कार्यक्रमहरु निरन्तर रहोस् भन्ने कामना गर्नुभयो र साथै उहाँको घरमा रहेको धर्महल पनि धार्मिक कार्यक्रमहरुका लागि सँधै उपलब्ध रहने पनि विश्वास दिलाउनुभयो ।

स्थानीय दशलाल डंगोलले आफुलाई बौद्ध शिक्षा ग्रहण गर्नमा शाक्यले मार्गदर्शन गर्नुभएको स्मरण गर्दै अहिले एक अन्तर्राष्ट्रिय विहार बनाउनको लागि नक्खुमा १ रोपनी २ आना जग्गा दान दिएको बताउनुभयो ।

शाक्य गत असार १० गते साँझ ७.२५ बजे दीवंगत हुनुभएको थियो ।

4 years ago/Sunday, July 2nd, 2017 /