स्वयम्भूमा भिक्षुणीहरुद्वारा सरसफाइ

बोधी संवाददाता
काठमाडौं, असार १० । सागादावाको अन्तिम दिनमा आज शानिबार बिहान स्वयम्भूमा भिक्षुणीहरु, स्वयम्सेवकहरु तथा काठमाडौं महानगरपालिकाका कर्मचारीहरुले संयुक्त रुपमा स्वयम्भू क्षेत्रमा सरसफाइ गरे ।

कार्यक्रममा सेतो गुम्बा इचंगुका २० जना भिक्षुणीहरु तथा विभिन्न संस्थाका ३५ जना जति स्वयम्सेवकहरु तथा १५ जना जति सफाई कर्मचारीहरुले भाग लिएका थिए ।

उनीहरुले स्वयम्भु काेरामार्ग बुद्धपार्क तथा माथि जाने सिँढीमा अनावश्यक घाँसपात उखेल्ने देखि प्लास्टिक लगायतका अन्य सडक र अन्य ठाउँमा फालिएका फोहर संकलन गरी व्यवस्थित तरिकाले विसर्जनका लागि पठाएका थिए ।

कार्यक्रमका संयोजक ताशी ल्हामो शेर्पाले यस्तो कार्यक्रम स्वयम्भूमा हरेक महिना गर्ने लक्ष्य रहेको तथा यस्ता कार्यक्रमले धर्मावलम्वी तथा तीर्थयात्रीहरुलाई फाइदा हुने पनि बताउनुभयो ।

सेतो गुम्बाका भिक्षुणीहरु केही समयदेखि वातावण र सरसफाइको कार्यमा सक्रिय भएर लागेका छन् ।

भगवान बुद्धले जन्म लिनुभएको बोधीज्ञान लाभ गर्नुभएको र परिनिर्वाण प्राप्त गर्नुभएको दिन भनेर विश्वका बौद्धहरुले सागादावालाई धुमधामका साथ मनाउने गरिन्छ ।