सागादावाको अवसरमा स्वयम्भूमा १३ कोरा सम्पन्न

बोधी संवाददाता
काठमाडौं, असार १० । बौद्ध परम्परा अनुसार महत्वपूर्ण मानिएको पर्व सागादावाको अन्तिम दिनमा आज हजारौं बौद्धहरुले स्वयम्भू पर्वतको कोरा वा पदप्रदक्षिणा गरेर पुण्य संचय गरे ।

नेपालभरिका ६०वटा भन्दा बढी गुम्बाका हजारौं बौद्ध भिक्षु भिक्षुणी तथा बृद्ध बद्धा युवा युवतीहरुले हावा र पानीको परवाह नगरी हिजो बेलुका ९ बजे देखि आज करिब ९ बजेसम्ममा स्वयम्भू पर्वतको १३ पल्ट परिक्रमा गरेका थिए ।

साथै सहभागीहरुले अवलोकितेश्वरको १०औं हजारपल्ट जप गरेका थिए । त्यस्तै कार्यत्रमको समापनमा १० हजार मारमे वा दीप प्रज्वलन पनि गरेका थिए ।
कार्यक्रमको अन्तमा ढुक्पा काग्र्यु परम्पराको बौद्ध धर्म गुरु ९औ अवतार पावन शरण नायक ग्याल्वा दोखाम्पा (खाम्टुल रिम्पोछे)ले शुभाशिष वा वांग दिनुभएको थियो । कोराको नेतृत्व पनि उहाँले नै गर्नुभएको थियो ।

शुक्रवार कार्यक्रमको शुरुवातमा गरिएको धार्मिक कार्यक्रममा उहाँले सम्पूर्ण मानव जातिका लागि बुद्धधर्मको महत्वमाथि प्रकाश पार्दै बुद्धको जन्म भएको साघादावाको अवसरमा गरिने कोराको धार्मिक महत्व र यसबाट लाभ हुने पुण्यको बारेमा चर्चा गर्नुभयो ।

भगवान बुद्धले जन्म लिनुभएको बोधीज्ञान लाभ गर्नुभएको र परिनिर्वाण प्राप्त गर्नुभएको दिन भनेर विश्वका बौद्धहरुले सागादावालाई धुमधामका साथ मनाउने गरिन्छ ।

यस्तो कार्यक्रम नेपालमै पहिलो पल्ट मनाइएको जनाकारी कार्यक्रमका सञ्चार संयोजक प्रेम लामाले दिनुभयो ।

4 years ago/Saturday, June 24th, 2017 /