त्रिपिटक अन्तर्गतका पटिसम्भिदामग्ग तथा धम्मसङ्गणी नेपालभाषामा अनुवादित

बोधी संवाददाता
ललितपुर, जेठ २० । बुद्धको जन्मभूमि नेपाल भनिएपनि बुद्धवाणीका निकै थोरै अंश मात्र अहिलेसम्म नेपालका भाषाहरुमा अनुवाद भएका छन् । यसै सन्दर्भमा बुद्ध वचन त्रिपिटक अन्तर्गतका दुइ प्रमुख पुस्तकहरु पटिसम्भिदामग्ग तथा धम्मसङ्गणीका नेपालभाषामा अनुवादित रुप आज यहाँ रत्नाकर महाविहारमा विमोचन भए ।

 

पुस्तकहरुको विमोचन उपसंघनायक तथा अनुवादक ज्ञानपूर्णिकले गर्नुभएको थियो ।

 

पटिसम्भिदामग्गको अनुवाद डा.ज्ञानपूर्णिक महास्थविरले तथा धम्मसङ्गणीको अनुवाद अनागारिका अग्गञाणीले गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपसंघनायक तथा अनुवादक ज्ञानपूर्णिकले बुद्ध नेपालमा जन्मेको भनेर हामी खुशी हुन्छौं भन्दै तर किन बुद्ध महान भए भन्ने विषयमा थोरैले चासो लिएकोमा दुख व्यक्त गर्नुभयो ।
उहाँले तथागतका उपदेशलाई विभिन्न रुपमा विभाजन गरिएकोमा निकायका अनुसार क्षुद्रकनिकाय अन्तर्गत पटिसम्भिदामग्ग पालिग्रन्थ भएको बताउनुभयो । “यस श्रुतिमय निर्देश एउटालाई मात्र विस्तृत रुपमा गम्भीर रुपमा गहनतामा डुबेर पूर्णरुपले अन्वेषण गवेषण गरेर अनुसन्धानात्मक ढंगले तीक्ष्ण अन्तर्चक्षुलाई प्रयोग गरी अध्ययन, चिन्तन, मनन गरेर हेर्दे गएमा सबै प्रतिसम्भिदा स्पष्ट भएर आउँछ,” उहाँले भन्नुभयो ।

 

उहाँले यस अमुल्य ग्रन्थरत्न आज आफ्नो मातृभाषामा अनुवाद गरी पाठक समक्ष प्रस्तुत गर्नपाएनु ठुलो सौभाग्य र सुसंस्कारको प्रतिफल भएको पनि बताउनु भयो ।

 

त्यस्तै धम्मसङ्गणीका अनुवादक अनागारिका अग्गञाणीले यस ग्रन्थ अभिधर्मको मूल आधार तथा सार भएकोले यसको अनुवाद गर्दा सामान्य अनुवाद मात्र नगरी अर्थकथाको वर्णन हेरेर अनुवाद गरेको बताउनुभयो ।

“यो धम्मसङ्गण्ी ग्रन्थ एउटाको मात्र मातृका नभइ सातवटै ग्रन्थहरुको मातृका हो । यस मातृकथामा रहेको त्रिक द्विकलाई प्रधानता दिएर यस ग्रन्थलाई चारवटा काण्डमा विभाजन गरिएको छ,” उहाँले भन्नुभयो ।

अखिल नेपाल भिक्षु महासंघका महासचीव कौण्डण्य महास्थविरले नेपाली र नेपालका अन्य भाषाहरुमा त्रिपिटक अनुवाद धेरै अगाडि हुनुपर्नेमा हाल यसले केही गति लिएको भन्दै यसका लागि लागि पर्नुभएका डुण्डबहादुर वज्राचार्यको कार्यको सराहना गर्नुभयो ।

साथै उहाँले एउटै पालि भाषाका पुस्तक पनि विभिन्न व्यक्तिले अलग अलग अनुवाद गर्दा पहिले अनुवाद भएको पुसतकको प्रसंग पनि ननिकाल्नु दुखद भएको तर्फ पनि ध्यानकाकर्षण गर्नुभयो ।

 

दुबै पुस्तकहरु वीर–पूर्ण पुस्तक संग्रहालयबाट प्रकाशित भएका हुन् ।
कार्यक्रम धर्मगुप्त महास्थविरको सभापतिमा सम्पन्न भएको थियो ।

4 years ago/Saturday, June 3rd, 2017 /