यशोधरा विद्यालयमा बुद्ध प्रतिमा अनावरण तथा सम्मान

बोधी संवाददाता
ललितपुर, जेठ १४ । नेपालका लागि श्रीलंकाका राजदूत डब्लु प्रेमलथा पेरेरा तथा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रध्येय भिक्षु मैत्री महास्थविरले श्री यशोधरा बौद्ध माध्यमिक विद्यालयको प्रांगणमा स्थापित बुद्ध प्रतिमाको अनावरण गर्नुभयो ।
उक्त अवसरका उक्त प्रतिमाको निर्माणमा, विद्यालयको विकास र निर्माणमा चन्दा दिएर सहयोग गर्नुहुने उपासक उपासिका एवं अन्य समाजिक कार्यकर्ताहरुलाई सम्मानपत्र पनि वितरण गरियो ।

उक्त अवसरमा राजदूत पेराराले नेपालमा बुद्ध शासन र बुद्ध शिक्षाको कदर गर्दै बुद्धभूमिमा बुद्धको ज्ञान र बुद्धका अनुयायीहरु बढ्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले नेपालको शिक्षा प्रणालीमा बुद्ध शिक्षा समावेश हुनुपर्ने र प्रत्येक नेपालीले विदेशमा समेत बुद्धशिक्षाको प्रचारप्रसार गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्यालयलाई आजको अवस्थासम्म आउन सहयोग गर्नुहुने सबै उपासक उपासिकाको मंगल होस् भन्ने कामना पनि गर्नुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन डा. भद्ररत्न वज्राचार्यले नेपाल बुद्धको जन्म स्थल भइकन पनि बुद्ध धर्मको प्राज्ञिक अध्ययनको लागि कुनै विश्ोष अध्ययन केन्द्र नभइरहेको अवस्थामा हाल विश्वविद्यालयले विभिन्न संकाय अन्तर्गत स्नातकोत्तर तहको बुद्ध धर्म र दर्शनका विभिन्न पक्षहरको अध्यापन हुनथालेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय ललितपुरका दिलनाथ पुरीले नेपालमा सामुदायिक विद्यालय खोल्ने अवस्था नै नभएको अवस्थामा पनि माधवी गुरुमां लगायतका केही उर्जनशील तथा समाजसेवक व्यक्तिहरुले आआफ्नो ढंगले सेवा गरी विद्यालय स्थापना गरेकोमा धेरै खुशी व्यक्त गर्नुभयो ।

4 years ago/Sunday, May 28th, 2017 /