बुद्धजयन्तिको उपलक्ष्यमा ललितपुरमा वृहद बौद्धसभा आयोजित

बोधी संवाददाता
ललितपुरं, बैशाख २६ । २५६१औ बुद्धजयन्ति मूल समारोह समिति रत्नाकर महाविहार हःख बहालले बुद्धजयन्तिको पूर्वसन्ध्यामा आज एक वृहत बौद्धसभाको आयोजना गर्यो ।

 

सभामा आफ्नो मन्तव्य दिँदै नेपालका उपसंघनायक ज्ञानपूर्णिक महास्थविरले भगवान बुद्धले दिएर जानुभएको स्मृति पठ्ठान अथथा विपस्सना ध्यानभावनाको मद्दतले आफुसँग भएको नकारात्मक सोचाइलाई हाटाउन सकिन्छ भन्ने वैज्ञानिक रुपमा प्रमाणित भैसकेको बताउनुभयो ।

 

“वैज्ञानिकहरुले विपस्सना सिक्दैगरेका, अभ्यास गर्ने र सिकाउने आचार्यहरुको मष्तिष्कको शुक्ष्म अध्ययन गरेर मानिसमा आउने क्लेशलाई शान्त पार्न सकिन्छ भनेर देखाइसकेको छ । हामी नेपालीहरु भने हावा गफ मात्र गरेर बस्छौं,” उहाँले भन्नुभयो ।

 

उहाँले नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर गर्व मात्र गरेर बस्ने तर बुद्ध को हुन् भनेर सिक्ने कोशिस नगर्ने भएकोले विश्वका धेरैभन्दा धेरै मानिसले बुद्धधर्म अवलम्बन गरेपनि नेपालीहरु भने बुद्धको नाममा गौरव गरेर मात्र बस्ने गरेकोमा दुख व्यक्त गर्नुभयो ।

 

अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष भिक्षु धर्ममुर्ति महास्थविरले नेपालमा हामी सबैले धर्मको अभ्यास गर्नुपर्ने तथा भविष्यका सन्ततिका लागि पनि धर्मको अभ्यास गर्ने वातावरण बनाएर जानुपर्नेमा जोड दिनुभयो ।

 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. नरेशमान वज्राचार्यले नेपालमा बौद्धहरुले नेपालमा बुद्धधर्म मनाउने चलन भित्र्याउने वरिष्ठ थेरबादी भिक्षुहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारले वृहत र सरकारी स्तरबाट बुद्ध जयन्तिलाई मनाउनुपर्ने माग राख्नुभयो ।

 

उहाँले यसका साथै लुम्बिनी विश्वविद्यालयले नयाँ गुरुयोजनाहरु बनाइरहेको र लुम्बिनीमा जग्गा प्राप्त गरी भौतिक पूर्वाधारहरुको निर्माण कार्य छिट्टै शुरु गरिने पनि बताउनुभयो । साथै लुम्बिनीमा नेपालको परम्परागत बुद्धधर्म झल्किने महाविहारको निर्माण पनि अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो ।

 

भिक्षु गुणसागरले तिब्बतबाट धेरै पहिलेदेखि काठमाडौंका विद्वान वज्राचार्यहरुकहाँ आएर शिक्षा लिनआउने गरेको पुरानो इतिहास भएकोले त्यसको रक्ष ागर्नको लागि सबैसँग अपिल गर्नुभयो ।

 

बुद्धजयन्ति कोष समितिका अध्यक्ष धर्मबहादुर शाक्यले  हरेक वर्ष स्थानीय जनतानै अघिसरी यसरी बुद्धको जन्म बुद्धत्व प्राप्ति तथा परिनिर्वाणको दिवस मनाउने गरेको र यसमा स्थनीय जनताले नै दान दिएर बनेको श्रोतबाट यस्तो मंगलकारी दिवस मनाइँदै आइरहको बताउनु भयो ।

 

उक्त अवसरमा उपसंघनायक ज्ञानपुर्णिक महास्थविरले बौद्ध झण्डोत्तोलन गर्नुका साथै बैशाख महोत्सव नामक वार्षिक पत्रिकाको विमोचन पनि गर्नुभएको थियो ।

 

कार्यक्रममा सातदिनसम्म बुद्धजयन्तिको उपलक्ष्यमा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान पनि गरिएको थियो ।