प्रज्ञानन्दको स्मृति सभा सम्पन्न

बोधी संवाददाता
ललितपुर, बैशाख १६ । नेपालको थेरवाद बुद्धधर्मको पुनरुत्थानमा प्रमुख योगदान गरेका भिक्षुहरु मध्ये एक प्रज्ञानन्द महास्थवीरको ११८औं जन्म दिवसको उपलक्ष्यमा आज थैना स्थित श्री शाक्यसिंह विहारमा यहाँ एक विशेष समारोहको आयोजना गरियो ।

 

उक्त अवसर संघ उपनायक ज्ञानपूर्णिक महास्थवीरबाट धर्मदेशना हुनुको साथै विहारको अक्षय कोष विवरण एवं वार्षिक क्यालेण्डर पनि विमोचन गरियो । त्यस्तै अन्तमा प्रज्ञानन्दको सालिक तथा पुस्तक प्रदर्शनी पनि भएको थियो ।
कार्यक्रममा उपत्यकाका सयौं उपासक उपासिकाहरुको उल्लेख्य उपस्थिति थियो ।

 

अरिय धम्मरक्खित नेपाल बुद्धशासन वंसालंकार सिरि संघमहानायक अग्गमहापण्डित प्रज्ञानन्द महास्थविर कुलमान सिंह तुलाधरका रुपमा सन् १९०० मा जन्मनुभएको थियो भने उहाँको निधन १९९३मा भयो । नेपालमा १४औं शताब्दी पछि पहेँलो चीवर लगाउने भिक्षुहरुनै लोप भइसकेको अवस्थाामा सन् १९३०मा उहाँले पहिलोपल्ट नेपालमा चीवर लगाउने पहिलो भिक्षुको रुपमा चिनिनुहुन्छ । र सन् १९४४मा बुद्धधर्म प्रचार गरेको आरोपमा नेपाल सरकारले देश निकाला गरेका आठ जना भिक्षुहरुमध्ये उहाँ एक जना हुनुहुन्थ्यो ।