बौद्धधर्म ज्योतिष शास्त्र सम्वन्धी तालिम शुरु

सन्तवीर लामा
धनकुटा, बैशाख १५ । वौद्धधर्म मान्ने समुदायका लामागुरुहरुलाई वौद्धधर्मसंग सम्वन्धि ज्योतिष शास्त्रमा प्रशिक्षित गराउने उदेश्यले धनकुटाको हिलेमा तीनदिने वौद्ध (चि) प्रशिक्षण तथा मणी (लुङ) शुक्रवारदेखि शुरु भएको छ ।
उक्त वौद्ध (चि) प्रशिक्षण तथा मणी (लुङ) आगमन कार्यक्रममा एक नम्वर प्रदेश अन्तर्गतका १ सय ५० जना लामा गुरुहरु सहभागी भएका छन् । प्रशिक्षण कार्यक्रममा ताप्लेजुङ, पास्थर, इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम र धनकुटाका वौद्धधर्म लामा गुरुहरु सहभागी भएका छन् ।
वौद्ध (चि) प्रशिक्षण तथा मणी (लुङ) आगमन कार्यक्रमको प्रमुख प्रशिक्षक नेपाल तामाङ लामा घेदुङका धर्मगुरु खेन्पो सोनाम ग्युरमे बल तामाङ, सहायक प्रशिक्षकको रुपमा लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामा र महासचिव लामा मणी कुमार मोक्तान रहेका छन् ।  प्रशक्षिणमा तामाङ समुदायले मनाउने सोनाम ल्होछार मञ्जुश्री पात्रो अनुसारको नयाँ वर्ष मनाउने सन्दर्भ, ल्हो गणना पद्धती, वौद्ध ज्योतिष पात्रो अथवा सोनाम ल्होतोक अनुसार दशाग्रह हेर्ने, देशविदेश जाँदा वा कुनै पनि शुभ कार्य गर्दा साईत हेर्ने लगायतका वारेमा प्रशिक्षित गरिने नेपाल तामाङ घेदुङ प्रदेश नं.१ क सचिव निरेन तितुङ तामाङले वताएका छन् ।
नेपाल तामाङ लामा घेदुङका केन्द्रिय अध्यक्ष पाल्देन लामाको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको उद्धघाटन सत्रमा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा तामाङ, पुर्व केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ तामाङ, प्रदेश नं.१ सचिव निरेन तामाङ, जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम तामाङ, जिल्ला घेदुङका सल्लाहकार वुद्ध तितुङ, तामाङ संचार समुहका केन्द्रिय सदस्य एवं घेदुङका जिल्ला सचिव सन्तवीर मोक्तान, जिल्ला सदस्य फुर्वा तामाङ, म्हानीपा घेदुङका जिल्ला उपाध्यक्ष पेमाकुमारी लामा लगायतले तालिमको सफलताको शुभकामना व्यक्त गरेका थिए । तालिम हिले वजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ गुम्वामा भैरहेको छ ।

 

उक्त कार्यक्रम नेपाल तामाङ लामा घेदुङ केन्द्रिय समितिको आयोजना र जिल्ल्ला घेदुङ धनकुटा र म्हानीपा घेदुङ धनकुटाको स्थानिय व्यावस्थापना शुरु भएको थियो ।

साभार : इसमता डट कम