बुङ्गद्यःलाई रथमा राखी जात्रा प्रारम्भ

बोधी संवाददाता
ललितपुर, बैशाख १५ । नेपालका बौद्धहरुको सबैभन्दा लामो पर्वको रुपमा मानिएको बुङ्गद्यः, करुणामय वा बोधिसत्व लोकेश्वरको रथजात्राको विधिवत् प्रारम्भ विहिबार बेलुका भयो ।

तःबहालमा राखिएको करुणामयको मूर्तिलाई खटमा बोकेर ल्याई पुलचोक स्थित चारपाङ्ग्रे रथमा विराजमान गराएपछि उक्त जात्रा शुरु भएको मानिन्छ ।

रथमा राखेको चार दिन पछि अथवा आउँदो बैशाख १७ गते रथयात्रा शुरु गरिने छ भने लगभग एक महिना सम्म पाटनको विभिन्न टोलहरुमा रथलाई परिक्रमा गराई अन्तमा जावलाखेलमा भोटो जात्रा गराई जात्रा समापन गरिनेछ ।

उपत्यकामा १२ वर्षसम्म वर्षा नभएर अनिकाल लागेको बेलामा यहाँका राजा, पुजारी र सहयोगीले कामारु कामाक्षा भन्ने ठाउँबाट करुणामय बुङ्गद्यःलाई सातौ सताब्दीमा ल्याइएको जनविश्वास छ । ती देवतालाई सहकालको देवताको रुपमा पुजा गर्छन् र जात्रासँगसँगै यहाँ मनसुनको शुरु हुने विश्वास पनि गरिन्छ ।