बुद्ध जयन्ती अवसरमा निःशुल्क आँखा शिविर

बोधी संवाददाता
ललितपुर, बैशाख ११ । २५६१ औं बुद्ध जयन्ती मूल समारोह समिति रत्नाकर महाविहारले तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग र समाजसेवी मोतिशान्ति शाक्यको संयोजक र अरणीतारा वज्राचार्यको सहसयोजकत्वमा रत्नाकर महाविहार हखबहालमा बृहत निःशुल्क आँखा शिविर शनिबार आयोजना गरियो ।
२५६१ औं बुद्ध जयन्तीको अवसरमा स्थानीय संघसस्था र जनताको सक्रिय सहभागितामा भएको सो शिविरमा आँखा परीक्षण, औषधी वितरण, मोतियाविन्दुको निशुल्क शल्यक्रिया, आँखा दान गर्ने घोषणा कार्यक्रम भएको संयोजक मोतिशान्ति शाक्यले जानकारी दिनुभयो । संयोजक शाक्यका अनुसार ४ सय ५६ जनाको आँखा परीक्षण र १ सय जनाले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका थिए ।

 

त्यसैगरी शिविरमा मोतियाबिन्दुका शल्यक्रिया गर्नुपर्ने ४८ जना पहिचान गरिएको थियो । उनीहरुको यही जेठ १५ गते निशुल्क शल्यक्रिया गरिने बताइएको छ । ’सो शिविरमा आँखा दानको विषयमा समाजको हेराई, बुझाई सकारात्मक बनाउन त्यस सम्बन्धी जानकारीमूलक पुस्तिका वितरणका साथै, उहाँले अभिमुखीकरण कार्य शुरु गरिएको पनि जानकारी दिनुभयो ।
शिविरमा आँखा दान बारे जनचेतना जगाउने कार्यमा मुदिता सेवा गृह इमाडोल, नन्द पोलिक्लिनिकको विशेष सहयोग रहेको बताइएको छ । आँखा दानप्रति समाजमा व्याप्त रहेको रुढीवादी धारणाको अन्त्य गर्न कार्यक्रममा गौतम बुद्धले दानको सम्बन्धमा दिनुभएको ज्ञान र बुद्ध जयन्तीको सन्र्दभलाई माध्यम बनाइएको बताइएको छ ।

 

‘दान बुद्धत्व प्राप्तिको एउटा खुड्किलो हो । यसै शिक्षाको प्रवाह गरी आखा दान गर्न सर्वसाधारण धेरैले इच्छा व्यक्त गरेको पाइयो ’ सहसंयोजक अरणीतारा बज्रचार्यले भन्नुभयो ।