शंखकीर्ति महाविहारको पुनःनिर्माणका लागि शिलान्यास सम्पन्न

बोधी संवाददाता
काठमाडौं, बैशाख ६ । स्वास्थ्य मन्त्री गगन थापाले आज नक्साल चारढुंगे स्थित शंखकीर्ति महाविहारको पुननिर्माणको शिलान्यास गर्नुभयो । उक्त अवसरमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल पनि हुनुहुन्थ्यो ।

अनुमानित ७औशताब्दीको उक्त लिच्छवीकालीन विहार समयकालमा नाश भई व्यक्तिगत सम्पत्तिका रुपमा समेत प्रयोग भइरहेकोमा स्थानीय व्यक्तिहरुको पहलले त्यहाँका सुकुम्बसीहरुलाई मुआब्जा दिई हटाएर खाली गराई हाल पुरातत्व विभागको सहयोगमा पुननिर्माण हुन लागेको हो ।
स्थानीय जात्रा व्यवस्थापन तथा समाज सेवा समितिका सचिव राजकुमार श्रेष्ठले विभिन्न पार्टीमा संलग्न स्थानीयहरु सहभागी भई यसको पुनःनिर्माण गरेर यहाँको धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वलाई पुनर्जीवन दिनलाई जनसहभागिता सहित काम भइरहेको बताउनु हुन्छ ।
यसको पुननिर्माणका लागि कुल ४ करोड ९७ लाखको बजेट स्वीकृत भएको छ र सो अनुसार अब पुनःनिर्माणको कार्य शुरु हुन्छ, उहाँले भन्नु भयो ।
यसका लागि त्यस परिसरमा यत्रतत्र छरिएर रहेका पुराना संरचनाका अवशेषहरु र मूर्तिहरुलाई पुरानै ढंगबाट संरक्षण गर्ने र त्यसका लागि परम्परागत निर्माण सामाग्री र प्रविधि नै सकभर प्रयोग गरिने पनि जानकारी गराउनु भयो ।
करिब २०५४साल तिरै एक भगवान बहाल जिर्णोद्धार समिति गठन गरी यसकै पहलमा उक्त बहाल कब्जा गरिबसेका आठ घर परिवारलाई मुआब्जा दिएर हटाएको भएपनि पुनःनिर्माणको कार्य अगाडि बढाउन नसकेको थियो । पछि दुइवर्ष अगाडि भूकम्पको समयमा त्यहाँ २ ३ सय मानिसले आश्रय पाए  र यसको महत्व जनताले बुझे । त्यसपछि विभिन्न व्यक्ति र संस्थाको प्रयासले पुरातत्व विभाग समेतको सहयोगमा त्यस बहालमा ढुंगा छाप्ने काम समेत भएको थियो ।