वर्तमान समयमा बुद्धशिक्षा दिनु झन् ठुलो चुनौति : भिक्षुणी खेमा

बोधी संवाददाता
काठमाडौं, चैत ३० । अमेरिकामा थेरवाद बुद्धधर्म र ध्यान प्रशिक्षण दिँदै आउनुभएका भिक्षुणी खेमाले आज वर्तमान समयमा बुद्धशिक्षा सिकाउँदा पहिले अनुभव गर्नुनपरेको भन्दा फरक सामाजिक र मनोवैज्ञानिक चुनौतिको सामना गर्नुपरेको बनाउनुभयो ।

थेरवाद बुद्धिस्ट एकेदमिमा आफ्नो प्रवचन दिँदै उहाँले दान–शील–भावना तथा शील–समाधि–प्रज्ञाको मार्गबाट एवं ब्रम्ह विहारको चिन्तनबाट सांसारमा रहेरै पनि सांसारिक दुख र समस्याबाट मुक्त हुनसकिने विश्वास व्यक्त गर्नुभयो ।

“प्रविधिले संसारलाई द्रुत गतिमा लगेको छ, सञ्चारमा माध्यमहरु धेरै विकसित भएका छन् र आजभोलि जो कोही पनि घर, स्कुल र कार्यालयमा धेरै किसिमका दबावको बिचबाट गुज्रिरहनुपरेको छ । यस्तो अवस्थामा ध्यान गर्नाले आफ्नो मन र शरीरलाई सन्तुलनमा राख्न सकिन्छ,” उहाँले भन्नु भयो ।

उहाँका अनुसार बुद्धधर्मको सार भनेको दुख, दुखको कारण, दुखको अन्त्य र अन्यको मार्ग नै हो ।
उहाँले थप्नुभयो, “साथै उहाँले धर्मले यो कुरा खुलाइदिन्छ कि तपाइलाई केही भइरहेको छैन बरु तपाइँबाट सबैकुरा भइरहेको छ ।”
उहाँ ध्यान गर्दा पनि मन्द मुस्कानका साथ गरेमा मनको भित्री भागबाट मैत्री भावनाको विकास हुने र त्यसले संसारभरि नै शान्ति ल्याउन मद्दत पुग्नेमा विश्वास गर्नुहुन्छ ।