काठमाडौं बौद्धग्रन्थहरुको कारण विश्वमा बुद्धधर्म फैलन सहज : थापा

बोधी संवाददाता

ललितपुर, चैत २० । त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख प्रा. डा शंकर थापाले आज काठमाडौं उपत्यकाका बौद्धविद्वानहरुले लेखेका अमुल्य ग्रन्थहरुका कारण विश्वमा बुद्धधर्म प्रचारप्रसार सहज भएको बताउनु भयो ।

आज यहाँ आयोजिक नेपालका बौद्ध ग्रन्थहरुको बारेमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । सन् १८३३मा ब्रिटिश रेसिडेन्ट भएर नेपाल आएका ब्रेन हगटन हजसनले यहाँबाट तीनसयथान भन्दा बढी बौद्ध ग्रन्थहरु बेलायत लगेका थिए र साथै उनले ती बहुमुल्य सम्पदालाई विश्वका विभिन्न देशका पुस्तकालयहरुमा समेत वितरण गरेका थिए । यसको अध्ययनबाट उनीहरुले बुद्धधर्म र दर्शनको मर्म बुझेकोे अनि यसको गहन अध्ययनमा लागेको उहाँले बताउनुभयो ।

साथै उनले हाल पनि काठमाडौंका बौद्धहरुको घर घरमा पूजा गर्नका लागि राखिएका त्यस्ता अमुल्य बौद्ध ग्रन्थहरु भएको तर केहीले भने थोरै पैसाको लोगमा चीन अमेरिका लगायतका बौद्धहरुलाई बेच्ने गरेकोमा दुख व्यक्त गर्नुभयो । “कुनै दिन यस्तो पनि नआउला भन्न सकिन्न जुन दिन नेपालमा यहाँ लेखिएका कुनै पनि बौद्ध ग्रन्थ बाँकी रहने छैनन्,” उहाँले भन्नु भयो ।

साथै त्यस्ता ग्रन्थहरुको अहिले डिजिटल प्रति बनाउनु अति जरुरी भएको बताउँदै यस बारे कुनैबेला जर्मन परियोजनाले बनाएका अति दुर्लभ माइक्रोफिल्म समेत हाल नष्ट हुने क्रममा रहेकोले त्यसको समयमै उचित संक्षण गर्नुपर्ने तर्फ पनि ध्यानाकर्षण गर्नुभयो ।

यसका साथै आशा सफूकुथिमा स्थानीय व्यक्तिहरुको प्रयासबाट सातहजार जति ग्रन्थहरुको संरक्षण भएकोमा शुखी पनि व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम नेपालभाषा केन्द्रीय विभागको आयोजनामा सम्पन्न भएको थियो ।

4 years ago/Sunday, April 2nd, 2017 /