बौद्ध लेखक नरेश वीर शाक्यलाई पंचवीर पुरस्कार प्रदान

बोधी संवाददाता
काठमाडौं, चैत २० । बु.सं. २५५९ को पंचवीर सिरपाः पुरस्कार बौद्ध लेखक नरेश वीर शाक्यलाई शनिवार यहाँको आनन्दकुटी विद्यापीठमा आयोजित एक कार्यक्रममा प्रदान गरियो ।

नेपाल बौद्ध परियत्तिका परीक्षक भिक्षु वोधिज्ञान महास्थविरले दाता पंचवीर सिंह तुलाधरको तर्फबाट शाक्यलाई उक्त पुरस्कार प्रदान गरेको हो ।

दाता तुलाधरले नेपालमा बुद्धधर्मको व्यापकताको लागि लेखकहरुको भूमिकाको कदर गर्नुपर्ने बताउँदै आउँदो वर्षदेखि स्कुलस्तरका नवलेखकहरुको बुद्ध धर्म सम्बन्धी उत्कृष्ट लेखलाई पनि पुरस्कारको व्यवस्थागर्ने बताउनुभयो ।

कर्यक्रममा निर्णायक मण्डलका सदस्यहरुका तर्फबाट डा. इन्द्रसिद्धि वज्राचार्य, पूर्ण ताम्राकार, नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण, लेखिका सुनिता मानन्धर एवं आयोजक मदनरत्न तुलाधरले नेपालमा बुद्धधर्मको प्राज्ञिक अध्ययन अनुसन्धान र लेखन प्रक्रियाको बारेमा चर्चा गर्नुभयो ।
पंचवीर सिरपाः पुरस्कार नेवाः भाषामा प्रकाशित हुने सन्ध्या टाइम्स (अहिले नेपालभाषा टाइम्स नामाकरण गरिएको) पत्रिकामा प्रकाशित बुद्धधर्म र दर्शन सम्बन्धी लेखहरुमध्येबाट उत्कृष्टलाई प्रदान गरिँदै आएको छ ।

कार्यक्रम युवा बौद्ध समूहया अध्यक्ष त्रिरत्न तुलाधरकाे सभापतित्वमा सम्पन्न भएको थियो ।