अखिल नेपाल भिक्षु महासंघमा नयाँ नेतृत्व

बोधी संवाददाता
काठमाडौं, चैत १७ । अखिल नेपाल भिक्षु महासंघको १९ साधारण सभाद्वारा महासंघले बिहीबार भिक्षु मैत्री महास्थविरको अध्यक्षतामा नयाँ कार्यसमितिका पदाधिकारीहरुको चयन गरेको छ ।

चार वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिका उपाध्यक्षमा भिक्षु सुमेध महास्थविर तथा भिक्षु धर्ममूर्ति महास्थविर, महासचिवमा भिक्षु कोण्डन्य महास्थविर, सचिवमा भिक्षु राहुल महास्थविर, कोषाध्यक्षमा भिक्षु बोधिज्ञान महास्थविर, एवंं सदस्यहरुमा भिक्षु शीलभद्र महास्थविर, भिक्षु भद्दिय महास्थविर, भिक्षु तपस्सीधम्म महास्थविर, भिक्षु पञ्ञासार स्थविर, भिक्षु पञ्ञारत्न स्थविर, भिक्षु सरणंकर स्थविर, भिक्षु पियदस्सी स्थविर, भिक्षु अशोक स्थविर तथा भिक्षु आचारो स्थविर निर्वाचित भए ।

यसअघि महाधिवेशनमा महासचिव भिक्षु कोण्डन्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विद्यमान विधानमा केही समस्या रहेकाले विधान संशोधनका संयोजन समेत रहनुभएका भिक्षु कोण्न्यले नै विधान संशोधन प्रस्ताव पनि प्रस्तुत गर्नुभएको थियो । यसै अनुसार सहभागीहरुले छलफल गरी आवश्यक संशोधन पारित समेत गरे । त्यस्तै नेपाल बौद्ध परियत्ति सम्बन्धी केन्द्रीय परीक्षा नियन्त्रक भिक्षु बोधिज्ञानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै लुम्बिनीमा हाल निर्माण भइरहेको थेरवाद विहारका सम्बन्धमा भिक्षु धर्ममूर्ति महास्थविरले प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

यसका साथै भिक्षु राहुल महास्थविरले परित्राण, महापरित्राण तथा पूजाका विषयमा, भिक्षु कोलित महास्थविरले प्रवज्या तथा उपसम्पदाका विषयमा, भिक्षु धर्ममूर्ति महास्थविरले स्वास्थ्यका विषयमा तथा भिक्षु पियदस्सीले प्रचार प्रसारका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
चैत्र १६ र १७ गते सम्पन्न १९ औं साधारणसभा उपसंघनायक भिक्ष्नु ज्ञानपूर्णिक महास्थविरको सभापतित्वमा सम्पन्न भएको थियो ।