अन्तर्राष्ट्रिय भावना केन्द्रमा बाल लघुशिविर प्रारम्भ

बोधी संवाददाता
काठमाडौं, चैत १८ । शंखमुल स्थित अन्तर्राष्ट्रिय भावना केन्द्रमा आजदेखि एकहप्ते बाल लघुशिविर अन्तर्गत बालकहरुका लागि ध्यान शिविर प्रारम्भ भयो ।

यस कार्यक्रम अन्तर्गत २५ जना बालकहरु श्रामणेर भएका समेत गरी करिब ७० जनाले एक हप्ता सम्म विपस्सना ध्यान सिक्ने र अभ्यास गर्ने छन् । यस अवधिमा उनीहरुले विपस्सनाका साथै आधारभूत बौद्ध शिक्षा पनि प्राप्त गर्नेछन् ।

“यस अवधिभर सहभागिहरुले ५० मिनेट दैनिक ध्यान अभ्यासका साथै शील, सुचरित्र, बुद्धजीवनी, त्रिरत्न वन्दना, मंगल सूत्र एवं मैत्री भावनाबारे ज्ञान हासिल गर्नेछन्,” केन्द्रकी निर्देशक अनागारिका अग्गञाणीले भन्नुभयो । साथै उहाँले बालअवस्थादेखि नै उनीहरुको मन मष्तिष्कमा सत्यधर्मको बिउ रोप्न सकेमा उनीहरु सच्चा नागरिक हुनेमात्र नभई उनीहरु स्वयंले आफ्नो आफ्नो जीवनमा शान्ति र सुख प्राप्त गर्न सक्ने पनि बताउनुभयो ।

केन्द्रले आफ्नो स्थापना काल २०४६सालदेखि वार्षिक रुपमा यस्ता शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।