राष्ट्रपतिद्वारा लामागुरु अध्ययन भ्रमणको समापन

बोधी संवाददाता
काठमाडौं, चैत ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित ४१आैं लामागुरु अध्ययन भ्रमणको मंगलबार समापन गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समापन कार्यक्रममा बोल्दै उहाँले भगवान् बुद्धका आदर्श वचनलाई आत्मसात् गरी अगाडि बढेमा समाजमा शान्ति आउँछ र हिंसा हत्या अन्त्य हुन्छ भन्नुभयो ।

उहाँले शान्ति, अहिंसा, करुणा, सदभाव र मित्रताका आदर्श पुरुष भगवान् बुद्धका आदर्शलाई आत्मसात् गर्न आग्रह पनि गर्नुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले अध्ययन भ्रमणका सहभागीलाई प्रमाणपत्र वितरणसमेत गर्नु भएकाे थियाे ।

उक्त अवसरसा सहभागी लामाहरुको प्रतिनिधिमण्डलले राष्ट्रपतिसमक्ष बौद्धधर्ममा आस्था राख्ने लामागुरुहरुको तर्फबाट नेपालको बौद्ध धर्म, संस्कृति र परम्पराको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने हेतुले उक्त समितिको चित्रण गराउँदै विभिन्न कठिनाइहरुका सम्बन्धमा ज्ञापनपत्र पनि पेश गर्याे ।

ज्ञापन पत्रमा गत वर्षको महाभूकम्पबाट समितिमा दर्ता भएका ६१ जिल्लाहरुमध्ये ३८ जिल्लाका करिब १३१८ वटा गुम्बा तथा विहारहरु पूर्ण रुपमा क्षति भएको र राष्ट्रिय पुननिर्माण प्राधिकरणमा पहल गरी समितिले भूकम्पीय गुम्बाहरु पुननिर्माण आयोजना अन्तर्गत २५ जिल्लाका ९९३ वटा गुम्बा तथा विहारहरुलाई पहिलो किस्ता वापतको रकम रु ३६ करोड ७५ लाग ९० हजार विनियोजन गरिएकोमा बाँकी रकम यथाशिघ्र उपलब्ध गराइदिन आग्रह गरिएको थियो ।

बौद्ध दर्शन प्रवर्धन तथा गुम्ब विकास समितिलाइ गुम्बा विभागको रुपमा स्थापना गर्न र बौद्ध केन्द्रीय गुम्बा , केन्द्रीय पुस्तकालग बौद्ध अध्ययन तथा अनुसन्धान केन्द्रको स्थापना गर्न पनि अनुरोध गरिएको थियो ।

बुद्ध धर्म र दर्शनबारे अध्ययन गर्न समितिले हरेक वर्ष लामागुरु अध्ययन भ्रमणको संयोजन गर्दै आएको छ । विभिन्न ३० भन्दा बढी जिल्लाका लामागुरुले यस पटक नेपाल र भारतका विभिन्न गुम्बा अध्ययन गरेका थिए ।