वर्षा तथा सहकालका देवता रातो मछिन्द्रनाथ अर्थात् रक्तावलोकीतेश्वरको रथ आजबाट तानिने
ललितपुर, २१ बैशाख । ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथ अर्थात् रक्तावलोकीतेश्वरको रथयात्रा सुरु हुँदैछ । ललितपुरको दमकल चोकमा निर्माण गरिएको रातो मच्छिन्द्रनाथको रथलाई आज दिउँसो ४ बजे तान्न सुरु गर्ने तयारी छ ।
हरेक वर्ष बैशाख शुक्ल प्रतिप्रदाका दिन रातो मछिन्द्रनाथलाई रथारोहण गराउने चलन छ । यस वर्ष स्थानीय प्रशासनले पनि रथ तान्ने अनुमति दिएको छ । अघिल्लो वर्ष कोरोना महामारीको कारण रथ तान्ने कार्यक्रममा स्थानीय प्रशासनले रोक लगाएको थियो ।
करिब एक हजार ६०० वर्ष अघिदेखि चल्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । रथ यात्राको अन्तिम दिन भोटो देखाउने परम्परा रहेको छ । बौद्ध धर्मावलम्बीले पञ्चबुद्ध मध्येका चौथो बुद्ध ‘पद्मपाणि’का रूपमा रक्तावलोकीतेश्वरलाई पूजा गर्ने गर्छन् ।