लोमान्थाङमाबौद्ध परम्परा अनुसार मनाइने ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजीपर्व सम्पन्न
काठमाडौं, २२ जेठ । मुस्ताङको लोमान्थाङमाबौद्ध परम्परा अनुसार मनाइने ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजीपर्व सम्पन्न भएको छ । लोमान्थाङमा हरेक वर्ष ज्येष्ठ कृष्ण द्वादशीतिथीदेखि तीनदिनसम्म बौद्ध परम्पराअनुसार ‘तिजी’पर्व मनाउने गरिन्छ । यो तिजी पर्व लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व हो ।
लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोछेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र बुद्ध धर्म अनुसार पूजा पाठ हुने गर्दछ । दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिन मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजापाठ गर्न, र अवलोकनका लागि खुल्ला गरिने चलन रहेको छ ।
माटोको पर्खाल भित्र रहेको ७०० वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो । मुस्ताङको परम्परा संस्कृति मात्र नभएर पर्यटक भित्र्याउने माध्यम पनि बनेको छ । विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर मानाउने पर्व पौराणिक कला पनि भन्ने गरिन्छ । लोमान्थाङ पर्व मनाउनको लागि बौद्ध धर्मवलम्वी मात्र नभइ स्वदेश तथा विदेशी पर्यटकहरुको पनि उल्लेख्य उपस्थिति हुने गर्दछ ।