रामेछापको खाँडादेवीमा रहेको बोधि चैत्य जिल्लामै शान्तिको सन्देश छर्न सफल

रामेछाप, २२ बैशाख । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–५ गोगनपानीमा बोधि चैत्य निर्माण भएपछि धार्मिक पर्यटक आकर्षित हुने गरेका छन् ।

पकरवास–माकादुम तामाङ एकता समाजको सक्रियतामा चैत्य निर्माण भएको हो । बौद्ध धर्मलम्बीहरुको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पहिचान बनाउने उदेश्यले चैत्य निर्माण गरिएको हो । ४५ फिट उचाइ रहेको चैत्य निर्माणको लागि २७ लाख रुपैयाँ खर्च भएको थियो ।

चैत्य निर्माणसँगै खाँडादेवी गाउँपालिकाभित्र धार्मिक पर्यटकको संख्या बढेको स्थानीयहरु बताउँछन् । खाँडादेवी गाउँपालिकामा रहेको ऐतिहासिक खाँडादेवीको मन्दिर दर्शन गर्न आउने पर्यटक गोगनपानीमा निर्माण भएको चैत्यको पनि दर्शन गर्न आउने गरेको चैत्य निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर तामाङले बताउनुभयो ।

साथै बुद्ध जयन्तीलाई लक्षित गरेर बृहत धार्मिक कार्यक्रमको आयोजनामा उपभोक्त समिति जुटेको पनि तामाङले जानकारी दिनुभयो ।

 

%d bloggers like this: