रातो मच्छिन्द्रनाथ अर्थात् रक्तावलोकीतेश्वरको रथ आज गाबाहालबाट तानेर सुन्धारा पुर्याइने
ललितपुर, २२ बैशाख । रातो मच्छिन्द्रनाथ अर्थात् रक्तावलोकीतेश्वरको रथयात्रा अन्तर्गत आज गाबाहालबाट रथ तानेर सुन्धारासम्म पुर्याइने भएको छ । यसअघि हिजो ललितपुरको दमकल चोकमाबाट रथलाई तानेर गाबाहालसम्म पुर्याइएको थियो ।
हरेक वर्ष बैशाख शुक्ल प्रतिप्रदाका दिन रातो मछिन्द्रनाथलाई रथारोहण गराएपछि तिथी र साइत अनुसार रथ तान्ने परम्परा रहेको छ । साइत अनुसार आज दिउँसो ४ बजेपछि रथ तानेर सुन्धारा पुर्याइने रथका मुख्य पुजारी कमलराज बज्राचार्यले जानकारी दिनुभयो ।
करिब सोह्र सय वर्ष अघिदेखि चल्दै आएको रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएर असार शुक्ल चाैंथीसम्म करिब दुई महिना मनाइन्छ । रथ यात्राको अन्तिम दिन भोटो देखाउने परम्परा रहेको छ । यसलाई नेपालकै लामो जात्राको रुपमा लिइन्छ ।
जात्रामा काठमाडौं उपत्यकाभरका स्थानीयहरको उल्लेख्य सहभागिता रहने गरेको छ । बौद्ध धर्मावलम्बीले पञ्चबुद्ध मध्येका चौथो बुद्ध ‘पद्मपाणि’का रूपमा रातो मच्छिन्द्रनाथ अर्थात रक्तावलोकीतेश्वरलाई पूजा गर्ने गर्दछन् ।।