म्हेपी परिसरमा रहेको लोकेश्वर ध्यान गुम्बामा न्युने व्रत हुँदै
काठमाडौं, १८ जेठ । काठमाडौंको म्हेपी परिसरमा रहेको लोकेश्वर ध्यान गुम्बामा न्युने व्रत भैरहेको छ । श्रद्धेय टासी गुरुको प्रमुखत्वमा सोमवारदेखि सुरु भएको १५ दिने कार्यक्रममा श्रद्धालुहरू जप, पाठ, ध्यान गरिरहेका छन्।
मंगलवार गुम्बामा भएको पूजामा श्रद्धेय तासी गुरुको साथमा अरु लामा गुरुहरू, आनीहरू एवं उपासक उपासिकाहरूबाट लोकेश्वरको पूजा, वन्दना एवं जप पाठ गरिएको थियो । भगवान बुद्धको वन्दना गर्दै महाकरुणाका प्रतिक बुद्ध, बोधिसत्व, गुरुहरुलाई रत्नमण्डल अर्पण गरिएको थियो । न्युने ब्रत अर्थात मौन व्रतमा अन्य कुराकानी गरिँदैन ।
तर विभिन्न स्तोत्र र सूत्रहरूको रूपमा रहेका बुद्ध वचनहरूको पाठ एवं मन्त्र जप गर्ने गरिन्छ । तिब्बती पात्रो अनुसारको यो साकादावा महिनामा भगवान बुद्धको त्रिसंयोगको स्मरण गर्दै निराहार व्रत गर्ने, मौनव्रत गर्ने, पाठ, पूजा गर्ने चलन रहेको छ । मानिसको काय, वाक र चित्तबाट हुन सक्ने अकुशल कार्यहरुबाट जोगिन र कुसल कार्यको माध्यमबाट जगत कल्याणको कामना गर्दै पूण्य सञ्चय गर्न यस्ता अनुष्ठानहरू गर्ने बौद्ध परम्परा रहेको पाइन्छ ।