बौद्ध महाचैत्यमा विश्वशान्ति पूजा सम्पन्न

बोधी संवाददाता
काठमाडौं, चैत १६ । काठमाडौं स्थित प्रशिद्ध बौद्ध महाचैत्यमा मंगलबार विश्व शान्ति पूजा सम्पन्न भयो ।

प्राणी जगतकमा हुने रीस, राग, द्वेष र पाप कम होस् भन्ने कामना सहित र विश्वमै प्राकृतिक विपत्ति नआओस् भनेर यस्तो पूजा गर्ने गरिन्छ ।

बौद्धस्थित सेतो गुम्बाको आयोजनामा भएको सो विशेष धार्मिक पूजा कार्यक्रममा गुम्बाका तीन जना रिम्पोछेहरु — छ्योकि ङिमा, छ्योक्लिङ र थाङसि उर्गेन टुल्कु —बाट दिनभरी पूजापाठ भएको थियो ।

पूजाको अवसरमा २५ जना भिक्षुणीहरुले एक हातमा डमरु र अर्को हातमा काङलिङ नामक हाडले बनेको बाद्ययन्त्र बजाएर छ्याम च्योइ नाच पनि प्रस्तुत गरेका थिए ।

विश्वभरि नै प्राकृतिक विपत्ति हत्या हिंसा, दुखद घटनाहरु हुने भएकाले यसबाट मुक्तिका लागि बौद्धमा गरिएको एक दिने प्रज्ञापारमिता छोगले रिच्छेन ठ्रेनवा च्वेद पूजामा देश विदेशका भिक्षु, भिक्षुणी, उपासक उपासिका तथा बौद्ध धर्मावलम्बी मात्र नभएर अन्य धर्ममा आस्थाराख्नेहरु पनि सभाभागी भएका थिए ।

महायानी परम्परा अनुसार उक्त पूजाले मृत्युपश्चात् मुक्ति नपाएर अन्योलमा रहेमा दिवंगत आत्माहरुले समेत सही बाटो पहिल्याउन मद्दत मिल्ने पनि विश्वास गर्ने गरिन्छ ।

विश्व सम्पदा सूचीमा सुचिकृत बौद्ध धर्मका आस्थाको केन्द्र बौद्ध महाचैत्यलाई गत वर्षको भूकम्पले क्षतिग्रस्त बनाए पछि विभिन्न दाताहरु र सहयोग संस्थाको सहकार्यमा केही समय अगाडि पुनःनिर्माण गरिएको थियो ।