“बुद्ध धर्म र बौद्ध सन्देश”को विमोचन भिक्षु कौण्डन्य महास्थविरबाट

बोधी संवाददाता
ललितपुर, भाद्र २१ । पुरुष शाक्यवंशद्वारा लिखित लेखहरुको सँगालो “बुद्ध धर्म र बौद्ध सन्देश”को विमोचन आज नेपाल भिक्षु महासंंघका महासचिव भिक्षु कौण्डन्य महास्थविरबाट भयो ।

यस अवसरमा उहाँले नेपालीहरु बौद्ध बन्ने तर बुद्धको शिक्षा स्वीकार नगर्ने स्थितिमा भएकोले अब बौद्ध संघसंस्था तथा बौद्धहरु व्यक्तिगतरुपमा पनि सचेत भएर समाजमा व्यापक जनचेतना ल्याएर बुद्धधर्मको पुनः पुनर्जागरण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले नेपाली समाजमा व्याप्त आफ्ना छोराछोरीहरुलाई विदेश पठाएर त्यहाँको संस्कृतिमा हुर्कनदिइरहने चलन बढेकोले उनीहरुले क्रमशः नेपाली धर्म र संस्कृति तथा आमाबाबुलाई गर्नुपर्ने जिम्मेवारी बिर्सिरहेको कटुसत्यमाथि पनि प्रकाश पार्नुभयो ।

उहाँहरुले अरु बौद्धलेखकहरुले पनि बुद्धधर्मको सैद्धान्तिक र व्यवहारिक पक्षको बारेमा ग्रन्थ रचना गर्न पनि आह्वान गर्नुभयो ।

पुस्तकको बारेमा बोल्दै बौद्ध विद्वान प्रा डा बज्रराज शाक्यले पुस्तकले थेरवाद, महायान र वज्रयानको सैद्धान्तिक पक्षमा गहन अध्ययन विश्लेषण गर्ने प्रयास गरेकोले लेखकलाई बधाइ दिनुभयो ।

त्यस्तै लेखक सुवर्ण शाक्यले लेखको बारे जानकारी दिँदै शाक्यवंशले ८५ वर्षको उमेरमा पनि निरन्तर कलम चलाउने जाँगर राखेकोमा बधाइदिनुभयो ।

पुस्तकका सम्पादक नरेशवीर शाक्यले लेखकले यस्तो उमेरमा पनि गहन अध्ययन गरेर सबैले बुझ्ने भाषामा बुद्धधर्मका गहन विषयहरुमा कलम चलाएकोमा धन्यवाद दिनुभयो ।

लेखक शाक्यवंशले आफुले कहिलेकाहीँ मात्र लेख्ने प्रयास गरेकोमा सबैको माया र हौसलाले यति लेखहरु लेखेर आनन्दभूमिमा नियमित प्रकाशित गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रकाशका तर्फबाट लोटस रिर्सच सेन्टरमा अध्यक्ष डा सुरेन्द्रमान वज्राचार्यले लेखक शाक्यवंशका लेखहरु सामान्य बौद्धजन तथा शोधकर्ताहरुलाई उपयुक्त हुने भएकोले उहाँका अरु पनि कृतिहरु प्रकाशनुन्मुख भए सेन्टर सहर्ष प्रकाशन गर्न तयार भएको जानकारी दिनुभयो ।

३४४पृष्ठको उक्त पुस्तकमा बुद्धधर्मसँग सम्बन्धित १५वटालेखहरु संग्रहित छन् ।

1 week ago/Saturday, September 7th, 2019 /