पद्मपाणि लोकेतिश्वर अर्थात रातो मच्छिन्द्र नाथको रथयात्रापछि शनिबार भोटो देखाइयो
काठमाडौं, २२ जेठ । पद्मपाणि लोकेतिश्वर अर्थात रातो मच्छिन्द्र नाथको रथयात्रापछि शनिबार भोटो देखाइएको छ । करुणामयी अर्थात रातो मच्छिन्द्रनाथको भोटो जात्रा शनिबार जावलाखेलमा सम्पन्न भएको छ ।
उपत्यकाका सर्वसाधारणको उल्लेख्य उपस्थितिमा भएको भोटो देखाउने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनु भयो । रातो मच्छिन्द्र नाथलाई वर्षा र सहकालको देवताको रुपमा पुजिन्छ । ललितपुरमा परम्परागत रुपमा मनाइने रातो मच्छिन्द्र नाथको रथयात्रालाई नेपालकै लामो जात्राको रुपमा लिइन्छ । ललितपुरको पुलचोकबाट शुरु भएको रथ यात्रा नगरका विभिन्न टोलमा परिक्रममा गराई जावलाखेलमा पुर्याइएपछि भोटो देखाउने चलन छ ।
चार ज्योतिषीहरुको साइत अनुसार शनिबार जावलाखेलमा भोटो देखाइएको हो । जावलाखेलमा रथ पुर्याइएको चारदिनपछि भोटो जात्रा देखाइएको हो । भोटो जात्रामा सहभागी स्थानीय राथयात्रामा सहभागी हुन पाएकोमा निकै खुशी देखिन्छन । यस दिन सरकारले पनि सार्वजनिक विदा दिने चलन छ । भोटो प्रदर्शनपछि पद्मपाणी लोकेतिश्वरलाई खटमा राखि ललितपुरकै बुंगमति लगि रथयात्रा समापन गर्ने गरिन्छ ।