नेपालमा १७औं ग्याल्वा कर्मपाको ३४ औं जन्मोत्सव मनाइँदै

बोधी संवाददाता

काठमाडौं, बैशाख २२ । हिमाली बुद्धधर्मको काग्र्यु सम्प्रदायका प्रमुख धर्मगुरु सत्रौं ग्यल्वा कर्मापा ठिन्ले थाये दार्जेको ३४औ शुभ अवतरण तथा यो वर्ष विविध कार्यक्रम गरी तीन दिनसम्म मनाइँदैछ ।

 

हिमाली बुद्धधर्मका चार सम्प्रदायहरु मध्ये कग्र्युपा सम्प्रदायको मूल मठाधिशको रुपमा ग्यल्वा कर्ममालाई लिइन्छ । कर्मपाको अर्थ बुद्धचर्या वा तथागत निर्देशित बाटोलाई प्रधानता दिने भन्ने हुन्छ । यसरी कग्र्युको सर्वोच्च मठाधिशलाई कर्मपा भनेर संबोधन गर्ने औपचारिकता मंगोल बादशाहबाटै शुरु भएको भनिन्छ ।

 

तीनदिने जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगा उप्रेतीले बुद्धधर्म नेपालकै पहिचान भएकोले नेपालमा भएका विभिन्न यान सम्प्रदायको उचीत सम्मान गर्दै देशभरीका बौद्धहरुले नेपालको परिचय विश्वसामु लैजान आग्रह गर्नुभयो ।

 

जन्मोत्सबको पहिलो दिवसको कार्यक्रमअनुरुप  कर्म काग्यु बौद्ध परम्परा र वर्तमान स्थिति विषयमा डा. रमेश ढुंगेलले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

 

उहाँले कग्र्यु परम्परामा अत्यन्त आदरसाथ मगधका महापण्डित सिद्ध लिोपालाई आदिबुद्ध बज्रधर अर्थात् तिब्बती बोलीमा दोर्जेछाङको रुपमा मान्ने चलन भएको, हिमालयको काग्र्यु परम्परामा भारतको सिद्ध तथा अन्य संस्कारगत र शास्त्रीय पभाव निकै परेको बताउनुभयो । यसका साथै उहाँले छैठौं बुद्ध (दुग्चा साङ्गे)को रुपमा प्रथम कर्मपा दुस्युम खेन्पाको भोटमा रातोवर्णका मानवजातिको भूमिमा अवतरण भएको हो भन्ने मान्यता सारा कग्र्यु सम्प्रदायमा व्यापक भएको पनि जानकारी दिनुभयो ।
उहाँले कर्मपाले भर्खरै घोषणा गरेको भिक्षुव्रतको शील फिर्ता गरी बज्रयानी तान्त्रिक विधिको उपयोगका निन्ति खाडो युम स्हेशी गरेको अथवा साधारण भाषामा विवाह गरेको बारेमा स्पष्टीकरण दिँदै त्यो तथ्यपूण घटना हो भन्दै यो नौलो होइन भन्नुभयो ।
बौद्ध दर्शन प्रवन्ध तथा गुम्बा विकास समितिका अध्यक्ष खेन्पो कर्मा लेप्चेले कर्मपाले विनय, बोधिसत्वशील तथा तान्त्रिक शील तीनवटै लिएको हुनुपर्ने बताउनुभयाे । साथै उहाँले नेपालमा महायान वज्रयान र थेरवाद तीनवटै सम्प्रदायका बौद्धहरु भएकोले सबैले तीनवटै यान अन्तर्गतका सम्प्रदायलाई समान रुपले सम्मन गर्नुपर्नेमा पनि जोड दिनुभयाे ।

 

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा नरेशमान बज्राचार्यले डा ढुंगेलले हिन्दु धर्ममा कृष्णले धर्म हराएपछि म जन्म लिन आउँछु भनेको जस्तो बुद्धले कतै यस्तो नभनेको स्मरण गराउनुभयो ।

 

साथै कर्मपाले हालै भिक्षुशील तोडेर बिहे गरेको भन्ने विषयमा कर्मपाले विवाह गरेको भौतिक सुखको लागि हो कि विश्वशान्तिको लागि हो भन्ने कुरा भविष्यले बताउने कुरा हो भन्दै यस विषयमा टिकाटिप्पणी नगर्न पनि अनुरोध गरे ।

 

हाल दिल्लीमा बसिरहनुभएका कर्मपाले  भूटान मूलकी रिन्चेन यानजोमसँग गतः मार्च २५मा विवाह गरेपछि बौद्ध जगतको एक समुहबिच अन्योल छाएको थियो ।

 

कार्यक्रम कर्मपा श्यामारनाग् संघका अध्यक्ष लोडो रिम्पोछेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

आयोजकले आगामी तीन दिनसम्म काठमाडौं लगायत देशकाविभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी कर्मपाको जन्मजयन्ती मनाइने पनि जानकारी दिए ।

 

नेपालमा हिमाली बुद्धधर्म अन्तर्गतका चारैवटा सम्प्रदायका बौद्धहरु भएको र त्यसमा काग्र्यु सम्प्रदायको समुदाय र गुम्बा इत्यादिको संरक्षण गर्नलाइ कर्मपा श्यामरनाग् संघको स्थापना गत वर्ष भएको थियो ।