तालिवानले क्षति पुर्याएको पाकिस्तानको प्राचीन बुद्ध मूर्तिलाई दुरुस्त बनाइएपछि अनुयायीहरु हर्षित
एजेन्सी, २१ बैशाख । पाकिस्तानको स्वात उपत्यकामा तालिबानले तोडफोड गरेको गौतम बुद्धको प्रतिमालाई दुरुस्त बनाइएपछि स्थानीय बौद्ध धर्माबलम्बीहरु लाभान्वित भएका छन् ।
इटलीको सरकारले आर्थिक सहयोगमा ६ वर्षको प्रयासपछि मूर्तिलाई पूर्ववत अवस्थामा ल्याइएको हो । करिब १४ वर्षअघि पाकिस्तानको स्वात उपत्यकामा तालिबानले डाइनामाइट राखेर उक्त मूर्तिमा क्षति पुर्याइएको थियो । यो बुद्ध प्रतिमा स्थापित गर्नका लागि स्थानीयबासिन्दाले नै अग्रसरता देखाएका हुन् । यसमा लगानी भने इटाली सरकारले गरेको हो ।
चट्टानसँगै जोडिएको २१ फिट अग्लो र १२ फिट चौडाईको यो प्रतिमा करिब १३०० वर्ष पुरानो मानिन्छ । सन् २०१२ मा इटाली सरकारले स्वात उपत्यकमा रहेका पुरातात्विक महत्वका स्थलको संरक्षणमा ध्यान दिएको थियो । यसै क्रममा इटाली सरकारले पाँच वर्षभित्र २५ लाख युरो खर्च गरेको थियो ।
इटाली सरकारले यसै अभियानका क्रममा प्रतिमाका लागि पनि रकम उपलब्ध गराएको थियो । मूर्तिको पुनर्निर्माणसँगै भगवान बुद्धका अनुयायीहरु यस क्षेत्रमा ध्यान तथा दीप प्रज्वलनका लागि पुग्ने गरेका छन् ।