जाह्वला जात्रासँगै करुणामयको जात्रा समापन

बोधी संवाददाता
ललितपुर, जेठ ११ । किंवदन्तीसँग जोडिएको भोटोको प्रदर्शन सँगै करिब एक महिना लामो करुणामय बुङ्गद्यःको जात्रा आज समापन भएको छ ।

पाटनको तःबहाल स्थित मन्दिरमा राखिएको बुङ्गद्यःको मूर्तिलाई पुल्चोक स्थित रथमा राखेपछि जात्रा शुरु भएको थियो भने रथलाई क्रमैसँग गाबहाल, मंगलबजार, सुन्धारा, थति र लगनखेलमा राख्दै अन्तमा जावलाखेलमा ल्याएपछि जात्रा सकिन्छ ।

बौद्धहरुले बोधिसत्वको एक रुप मानेका बुङ्गद्यःलाई करुणामय तथा रातो मछिन्द्रनाथको नामले पनि सम्बोधन गरिन्छ ।

महिनाभरि जात्राका कारणले विभिन्न प्राणीहरुले दुख भोग्नु पर्यो होला भनेर जात्रा समापन हुनु अगाडि हिजो भात पकाएर उक्त स्थानमा छर्ने गरिन्छ । सोही कारणले आजको जात्रालाई जाह्वला जात्रा भनिन्छ र भात छर्ने भएको ले यस ठाउँलाई नै जाउला खेल भनिनेगरेको स्थानीबासीको भनाइ छ ।

यसै दिन देखाइने गरेको विशेष भोटो भने बुङ्गद्यःसँग प्रत्यक्ष सम्बन्धित नभएर पनि अन्य एउटा किम्बदन्तीसँग गाँसिएर आजको दिनमा भोटो देखाइन्छ ।

बुङ्गद्यःको जात्रा कहिले देखि प्रचलनमा आएको भन्ने यकीन नभएपनि भोटो जात्रा भने विसं ६६२देखि चलाउन थालेका मानिन्छ ।

काठमाडौं गोरखनाथले गर्दा यहाँ उपत्यकामा १२ वर्षसम्म अनिकाल लागेकोले उनलाई उठाउन भनी उनका गुरुलाई भारतको कामाख्याप्रदेशबाट ल्याइएको जनविश्वास छ ।

उक्त अवसरमा राष्ट्रपति विद्या भण्डारी लगायत विशिष्ट पदाधिकारी एवं नवनिर्वाचित जनप्रतिनिधि पनि जात्रा हेर्न उपस्थित भएका थिए ।

फाेटो साैजन्य नेवान्युजअनलाइन

4 years ago/Thursday, May 25th, 2017 /