कीर्तिपुर नगरपालिकाका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुलक्षण कीर्ति विहार चोभारमा सम्मान

काठमाडाैं, १८ जेठ । कीर्तिपुर नगरपालिकाका लागि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुलक्षण कीर्ति विहार चोभारमा सम्मान गरिएको छ । स्थानीय तहको निर्वाचनमार्फत कीर्तिपुर नगरपालिकामा निर्वाचित भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सुलक्षण कीर्ति विहारले मंगलबार सम्मान गरेको हो ।

मेयर राजकुमार नकर्मी, उपमेयर शुभलक्ष्मी शाक्यसहित १० वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुलाई विहारमा सम्मान गरिएको हो । उहाँहरुलाई प्रमुख अतिथि श्रद्धेय कोण्डन्य महास्थविर र विहार प्रमुख डाक्टर अनोजा गुरुमांले भगवान बुद्धको प्रतिमा प्रदान गर्नु भएको थियो । सम्मान गर्नु अघि उपस्थित नवनिर्वाचित जनप्रतिनिधिहरु तथा उपासक उपासिकाहरुलाई पञ्चशील प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि श्रद्धेय कोण्डन्य महास्थविरले ऐतिहासिक नगरी कीर्तिपुरमा रहेको सुलक्षण कीर्ति विहारले बुद्ध शिक्षाको विस्तारको लागि खेलेको भूमिकाको प्रशंसा गर्नु भयो । साथै उहाँले बुद्ध धर्मलाई विस्तार गर्न विहारले खेलेको भूमिका अतुलनीय रहेको भन्दै विहारको संरक्षण र विस्तारमा जनभावनाको कदर हुने गरी कार्य गर्न कीर्तिपुर नगरपालिकाका नवनिर्वाचितहरुलाई शुभकामना दिनु भयो ।

सुलक्षण कीर्ति विहारले अहिले बौद्ध दर्शनमा स्नातकोत्तर तहको पढाइ शुरु गरेको छ । अब बौद्ध वृद्धा श्रम र अस्पताल संचालन गर्ने योजना रहेको भन्दै विहारका प्रमुख डाक्टर अनोजा गुरुमांले त्यसको लागि सहयोगको अपेक्षा गर्नु भयो । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर राजकुमार नकर्मीले जनप्रतिनिधिलाई सम्मान गरेकोमा विहारलाई धन्यवाद दिंदै विहारको संरक्षण र विस्तारको लागि आफू संधै पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद एवं पूर्व मन्त्री राजेन्द्र कुमार केसीले सुलक्षण कीर्ति विहार मुलुककै सम्पदा भएको भन्दै विहारले अघि सार्ने योजनामा आफ्नो संधै सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । चोभारस्थित सुलक्षण कीर्ति विहारले बौद्ध धर्म र बुद्ध शिक्षाको विस्तारमा उल्लेखनीय कार्य गर्दै आएको छ । बौद्ध दर्शनमा एमएको पढाइ थालेको विहारले बौद्ध बृद्धाश्रम र अस्पताल निर्माणको योजना अघि सारेको छ ।

%d bloggers like this: