धम्मवती गुरुमां र धर्मकीर्ति विहार

राजेन मानन्धर
नेपालको राजधानी काठमाडौंको पुरानो केन्द्र असन बजारको छेवैमा एउटा विशाल र प्राचीन स्तुप छ जसलाई सामान्य जनभाषामा सिघः भनिन्छ ।
यस सिघः परिसरमा नेपालमा अबलम्बन गरिने बुद्ध धर्मका तीनैवटा यानहरुको अभ्यास हुन्छ । यहाँ नेवार बुद्धधर्म अन्तर्गतकोे श्री शान्तिघट वज्रधातु चैत्य महाविहार छ, हिमाली बुद्ध धर्म अनुसार पूजा गरिने डुप्गोन् जाङ्गछुब छोयलिङ गुम्बा छ र थेरवाद अनुसारको अभ्यास गरिने श्रीघः विहार छ । यसका साथै यहाँ अर्को एउटा भव्य र सुन्दर धर्मकीर्ति विहार छ ।
अहिले देखिने परम्परागत नेवार वास्तुकलाको झल्को दिने दाचिअपा, कलात्मक झ्याल र ढोकाबाट सुसज्जित यस विहारको पछाडि कसैको सपना, कल्पना तथा धेरै सहयोगीहरुको मिहेनत तथा सहकार्यको प्रतिफल छ ।
यस विहारको कुरा गर्दा पाटनको रुद्रवर्ण महाविहार अर्थात् ओकुबहालमा विसं १९९१को असार पुर्णिमामा जन्मनुभएकी गणेश कुमारी शाक्यको नाम स्मरण गर्नुपर्नेहुन्छ ।
जीवनको एकमात्र लक्ष्य नै बुद्धधर्मको अध्ययन गर्ने र नेपालमा बुद्धशिक्षाको पुनर्जागरण गर्ने लिनुभएकी गणेशकुमारी धेरै बाधा अडचन सहेर १४ वर्षसम्म म्यानमारको मोलमिनमा बुद्धधर्मको गहन अध्ययन पश्चात् धम्मावती गुरुमां बनेर नेपाल फर्कनुभयो ।
विसं २०२०साल आश्विन ७ गते उहाँ नेपाल फर्कनुहुँदासम्म यहाँ आफु बस्ने एउटा ठाउँको समेत व्यवस्था थिएन । पहिलो वर्षसम्म त उहाँले जन्मथलो पाटनमै जेनतेन बसेर धर्म प्रचार गरिरहनुभयो ।
यसबिच केही समय काठमाडौं ज्याबहालस्थित भाजुरत्न र ज्ञानमान शाक्यको घरमा बसेर ससाना भाइबहिनीहरुलाई पढाउन थाल्नुभयो । त्यस्तै उहाँ काठमाडौं तःखाछेँ स्थित दानलक्ष्मी कंसाकारको घरमा पनि केही समय बस्नुभयो ।
आफु बस्न र उपासक उपासिकाहरुका लागि धर्म प्रचार पनि गर्न मिल्ने भनेर उहाँले आफ्ना बुबा हर्षमान शाक्यले दिनुभएको रु ३ हजारको सदुपयोग गरेर श्रीघः स्थित रत्नबहादुर मालीको ६० फिट लम्बाइ र ३१ फिट चौडाइ भएको जग्गाको टुक्रा खरिद गरेर लिनुभयो ।
जग्गा त भयो तर त्यसलाई आश्रयस्थल बनाउन त्यति सजिलो थिएन । सबैबाट यथाशक्य दान भने प्राप्त भयो । सबैको सहयोगले एउटा सामान्य एकतले विहारको स्वरुप तयार भयो । यति गर्नको लागि रु ६५ हजार खर्च भएको थियो जुन त्यतिबेला निकै ठुलो रकम थियो ।
महाप्रज्ञा भन्तेले धम्मवती विहार नामाकरण गर्न दिनुभएको सल्लाहलाई स्वीकार नगरी यसलाई हेरालानी ताम्राकारको सल्लाह बमोजिन धर्मकीर्ति विहार नामकारण गरियो । र यसको उद्घाटन विसं २०२२ बैशाख २२ गते सम्पन्न गरियो ।
विहारमा आउने उपासक उपासिकाहरुको संख्या बढ्दै गएपछि त्यो विहार सानो जस्तो भयो । त्यसपछि विभिन्न समयमा त्यहाँ विभिन्न दाताहरुको सहयोगबाट त्यसलाई बढाउँदै नयाँ हल, भान्छाकोठा, शौचालय, धारा आदि पनि थपिए ।
प्रारम्भिक कालका दाताहरुको नाम लिँदा केशरी लक्ष्मी, दानलक्ष्मी, हेराकाजी राजकर्णिकार, नन्दलाल जोशी, हेराथकुं शाक्य र मोतिकाजी शाक्य, हेराकाजी, कुलिशरत्न र जुजुरत्न, हेरादेवी, ताराशोभा स्थापित, हर्षरत्न र सानुरत्न स्थापित, मणिहर्ष ज्योति र केशरीलक्ष्मी कंसाकार, हेराकाजी राजकर्णिकार, आशामाया राजकर्णिकार आदिको नाम अविस्मरणीय हुनआउँछ ।
यस्ता थुप्रै सानातिना कुराहरु थप्ने कामले ब्ययभार बढेको तर सबै आवश्यकता पुरा नभएको देखिएकोले असन दगुबहालका द्रव्यमानसिं (भाइराजा) तुलाधर एवं परिवारले जगैदेखि भत्काएर नयाँ बनाउने जिम्मा लिनुभयो । पुराना दाताहरुको अनुमति पाएपछि नयाँ चरणमा विशाल तथा सुविधासम्पन्न विहारको निर्माण भयो । नयाँ विहार भवनको २०५७ पुष २२ गते शिलान्यास भएपछि यस विहारले यहाँ आउने उपासक उपासिकाहरु तथा यहाँ सञ्चालित विभिन्न धार्मिक एवं सामाजिक क्रियाकलापहरुलाई नयाँ उचाइ प्रदान गर्यो ।
२०७२ सालको महाभूकम्पले नेपालमा धेरै नयाँ पुराना संरचनालाई क्षति पुर्यायो तर यस नवनिर्मित विहारमा भने कुनै उल्लेखनीय क्षति भएन ।
पहिला दाताहरुको स्वइच्छाले र श्रद्धाले जसले जे सक्छ त्यो गर्ने भन्ने भावनाले नै सबै काम भइरहे थियो । पछि यहाँ आउने उपासक उपासिकाहरुको संख्या बढेअनुरुप यस विहारको व्यवस्थापनलाई केही औपचारिक रुप दिने काम २०४६ सालको परिवर्तन पछाडि विस्तारै हुँदै गयो । यसै अनुरुप २०४८ बैशाख ५ गते यो विहार धर्मकीर्ति विहार नामले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा संघसंस्था ऐन २०३४ अन्तर्गत दर्ता भयो ।
त्यस पछि फेरि २०५९साल जेठ १५ गते यसलाई धर्मकीर्ति विहार संरक्षण कोषको नामले दर्ता गरिएको छ । हालै यसको विधानलाई समेत समयानुकूल परिवर्तन गरी २०७२ माघ १९ गते प्रथम संशोधन गरी स्वीकृति लिएबाट अहिले यो औपचारिक रुपमा धर्म तथा समाज सेवाको काममा अगाडि बढ्न सफल भएको देखिन्छ ।
हाल यस विहारमा भुइँ तल्लामा एउटा ठुलो धम्महल छ, जहाँ भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्ति, धर्मचक्र प्रवर्तन तथा निर्वाण मूर्तिहरु छन् । यस हलको पछाडि शौचालय तथा स्वास्थ्य सेवा केन्द्र छ । माथिल्लो तल्लामा विहार प्रमुख धम्मावती गुरुमां तथा अन्य गुरुमांहरुको शयनकक्षहरु छन् । त्यसभन्दा माथिल्लो तल्लालाई गुरुमांहरु लगायत अन्य उपासक उपासिकाहरुका लागि भान्छाकोठाको रुपमा प्रयोग गरिएको छ ।
यो विहार भनेको विशुद्ध रुपमा भिक्षुणी अथवा अनागारिकाहरु मात्र बस्ने विहार हो । यहाँ अहिले विभिन्न उमेरका गरी लगभग २० जना जति गुरुमांहरु बस्छन् । उहाँहरुको अभिभावक गुरु र नेतृ भनेको धम्मावती गुरुमां नै हुनुहुन्छ ।
यो धर्मकीर्ति विहार एउटा भवन मात्र होइन । यहाँ हरेक दिन जस्तै कुनै न कुनै धार्मिक एवं सामाजिक गतिविधिहरु सञ्चालन भइरहेको हुन्छ । त्यस्ता गतिविधिहरुले नै यस विहारलाई जीवन्त बनाएको छ । यसको श्रेय उनै श्रद्धेय शासनधज धम्माचरिय, अग्गमहागन्थवाचक, पण्डित भिक्षुणी धम्मवती गुरुमांलाई नै जान्छ ।
नियमित बुद्धपूजा हुनु भनेको विहार जीवन्त हुनु हो । यहाँ हरेक महिनाको संक्रान्ति, पूर्णिमा, औंसी, शुक्लपक्ष अष्टमी तथा कृष्णपक्ष अष्टमीका दिन गरी पाँचपल्ट विशेष पूजा भइरहन्छ । अन्य समयमा भन्दा यी दिनहरुमा उपासक उपासिकाहरुको घुइँचो बढी लाग्छ भने यी दिनमा अधिकांश समय धम्मावती गुरुमांले नै बुद्धधर्मको सैद्धान्तिक पक्ष र सामाजिक समस्याहरुको समाधानका विषयमा धर्मदेशना दिने गर्नुहुन्छ ।
यसबाहेक काठमाडौं उपत्यकाका बौद्धहरुले श्रद्धापूर्वक मान्ने गुंला महिनामा महिनैभरी बुद्धपूजा र धर्मदेशना पनि हुने गर्दछ । अनि विहारकै विकासमा आफ्नो जीवन अर्पण गर्नुभएकी धम्मावती गुरुमांको जन्मदिन गुरु पूर्णिमाको अवसर पारेर साप्ताहिक विषेश कार्यक्रम चलाउनु पनि धर्मकीर्ति विहारको विशेष पक्ष हो ।

 

यहाँ बौद्ध युवाहरुको धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठी छ जहाँ उनीहरुले बुद्धधर्म सिक्ने लगायत अन्य विभिन्न श्रृजनात्मक कार्यक्रमहरुको आयोजना हुन्छ । यहाँ हरेक हप्ता जस्तै बुद्ध धर्मका बारेमा अध्ययन, अध्यापन, प्रवचन आदि चलिरहन्छ । अझ बेलाबखतमा भारत, चीन, श्रीलंका, म्यानमार, थाइल्याण्ड, रसिया, संयुक्त राज्य अमेरिका जस्ता देशका बौद्ध विद्वानहरुको प्रवचन एवं अन्तरक्रियाहरुको कार्यक्रमको पनि आयोजना हुन्छ । ती मध्ये म्यान्मारकी स्टेट काउन्सिलर तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुकी हरेकपटक नेपाल आउँदा धर्मकीर्ति विहार आएर धम्मवती गुरुमांको अगाडि घुँडा टेकेर जानु भनेको सम्पूर्ण बौद्ध जनको लागि गौरवको कुरा हो ।

 

विसं २०२९सालदेखि धर्मकीर्ति नामक बौद्ध मासिकको प्रकाशन यहीँबाट भइरहेको छ । यसैबिच यहीँबाट नेपाली, नेपालभाषा र अंग्रेजी गरी ३००वटा भन्दा बढी पुस्तकहरुको प्रकाशन भइसकेको छ ।
विभिन्न उमेरका उपासक उपासिकाहरुको रुचिलाई ध्यानमा राखेर यहाँ धर्मकीर्ति बौद्ध ज्ञानामाला भजन खलाः स्थापना गरी बेला बेलामा सांगीतिक माध्यमबाट बुद्ध शिक्षाको प्रचार गर्न पनि यो विहार अग्रसर भएको छ ।
समय समयमा यहाँ युवतीहरुलाई ऋषिणी प्रवज्या तथा युवाहरुलाई श्रामणेर अल्पकालीन प्रवज्या दिने जस्तो कार्यक्रमहरु आयोजना गरिन्छन् ।
यहाँको स्वास्थ्य क्लिनिकमा बेलाबेलामा स्वास्थ्य शिविरहरु पनि सञ्चालन हुने गर्दछ । यसबाहेक विभिन्न स्थानमा स्वास्थ्य शिविर, रक्तदान कार्यक्रमहरुको आयोजना हुन्छ भने प्राकृतिक प्रकोपको बेलामा यथाशक्य राहत वितरणको कार्यक्रम समेत यहाँका सदस्यहरुले गर्ने गर्दछन् ।
यसका साथै बालबालिकहरुलाई आधुनिक प्रणलीद्वारा बुद्धशिक्षा दिने उद्देश्यले धर्मकीर्ति शिक्षा सदन नामक प्रि स्कुल पनि यहीँबाट सञ्चालन गरिएको छ ।
८६ वर्षका टेक्नुभएका धम्मावती गुरुमां आज पनि यस विहारको सबै जसो कार्यक्रममा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । अरुले जिम्मा लिएको कार्यक्रममा समेत आवश्यक सररल्लाह दिनुहुन्छ । उहाँको हौसलाले नै यहाँका गुरुमांहरु तथा उपासक उपासिकाहरुमा जोश र जाँगर पैदा हुन्छ ।
धर्मकीर्ति विहार अब एउटा विहार मात्र रहेन । यहाँ आउने दाताहरुको विशेष पहलमा काठमाडौंका विभिन्न स्थानमा नयाँ विहारहरु बन्ने क्रम बढेको छ, जसलाई धर्मकीर्ति विहारका शाखाहरुको रुपमा समेत लिन सकिन्छ । ती विहारहरु यस प्रकार छन् ः
ड्ड पद्मकीर्ति विहार कमलपोखरी
ड्ड धर्मकीर्ति बसुन्धरा विहार, बसुन्धरा
ड्ड निर्माणमूर्ति किम्डोल विहार, किम्डोल स्वयम्भू
ड्ड सुलक्षणकीर्ति विहार, चोभार तथा
ड्ड गौतमी भिक्षुणी विहार, लुम्बिनी
यसप्रकार यहाँ समय समयमा विभिन्न समुदायका उपासक उपासिकाहरुका लागि समयानुकूल र आवश्यकता अनुसारका कार्यक्रमहरु भइरहन्छ । र यसको बारेमा यहाँ विस्तृत जानकारी दिन नसकिएतापनि त्यस्ता कार्यक्रमहरुले यहाँको स्थानीय समाजमा धर्मका छाप छोड्न र समग्रमा नेपालमा बुद्धशासनलाई नै चीरस्थायी बनाउन उल्लेखनीय भूमिका खेलिरहेको सर्बविदितै छ ।
यसरी हेर्दा नेपालको थेरवाद बुद्धधर्मको प्रचार प्रसार गर्न तथा अशिक्षित र एकदम परम्परागत जीवन बिताइरहेका स्थानीय नेवार समुदायमा बुद्धधर्म भनेको कर्मकाण्ड मात्र होइन बुद्ध भनेको कुनै काल्पनि देवता होइन र उहाँले सिकाउनु भएको शिक्षा जीवनोपयोगी र वैज्ञानिक पनि छ भन्ने तथ्यलाई स्थापित गर्न यस विहारले ऐतिहासिक भूमिका खेलेको छ भन्दा अत्युक्ति हुनेछैन ।

 

4 months ago/Tuesday, July 7th, 2020/