लुम्बिनीमा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ : एक रिपोर्ट

राजेन मानन्धर
आज भन्दा करिब २६सय वर्ष अगाडि लुम्बिनी उद्यानमा एक बालकको जन्म भयो । संसारका सबै मानिसलाई कसरी दुःखबाट मुक्त बनाउन सकिन्छ भनेर उहाँले ज्ञानको खोजीगर्न भारतका कैयन गाउँ शहर डुल्दै ६ वर्ष बिताउनुभयो । आखिर उहाँले त्यो ज्ञान प्राप्त गर्नुभयो र उहाँ भगवान बुद्ध हुनुभयो । बुद्धले ज्ञान प्रप्तिपछिको ४५ वर्ष यस भारतवर्षका विभिन्न ठाउँहरुमो भ्रमण गरेर ज्ञान बाँड्दै बिताउनुभयो । आज हामी उहाँलाई चिन्छौं, सम्मान गर्छौं वा श्रद्धा चढाउँछौंत त्यही ज्ञानका लागि, जुन उहाँले हामीलाई दिनुभयो ।

उहाँको परिनिर्वाणदेखि पटक पटक यस्तो विश्व भरिका हजारौं हजार बौद्ध भिक्षु भिक्षुणीहरु बसेर पाठ गरेर त्यसलाई पूर्ण रुप दिए । यसरी बुद्ध बचन संकलन र संरक्षण गर्ने कामलाई संगायना वा संघायना भनिन्छ । उहाँहरुले त्यसरी मिहेनत गरेर संकलन गरेकोले नै आज हामीसँग बुद्ध शिक्षा संरक्षित अवस्थामा रहेको हो ।भगवान बुद्धको महापरिनिर्वाण भएदेखि शताब्दीयौं लगाएर छ पटक सम्म विश्वभरीका थेरवाद बौद्धह्ररुको सम्मेलन अथवा संगायना गरेर यसलाई पूर्ण रुप दिएको मानिन्छ ।

त्रिपिटक भनेको भगवान बुद्धले दिनुभएको उपदेशहरुको सम्पूर्ण संकलन हो । यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ — विनय पिटक, सुत्त पिटक र अभिधम्म पिटक । यो सबै मिलाउँदा करिब ४० वटा पुस्तकहरु बन्दछन् । यसलाई विशेष गरी थेरवादीहरुले बौद्ध शिक्षाको प्राथमिक श्रोतको रुपमा मान्ने गरेको छ ।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई भिक्खु विभंग, भिक्खुनीविभंग, महावग्ग, चुलवग्ग तथा परिवारमा विभाजन गरिएको छ । सुत्तपिटकभित्र दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय तथा खुद्दक निकाय पर्दछन् । त्यस्तै अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान पर्दछन् ।

संसारका सबै बौद्ध देशहरुमा ठुला अथवा साना समुहमा बसेर भिक्षु भिक्षुणी तथा अरुहरु बेलाबेलामा त्रिपिटक पाठ गर्थे — शताब्दीयौंसम्म यो परम्परा चल्यो । विद्वानहरुका अनुसार हजारौं वर्षसम्म महाबोधी मन्दिरमा नियमितरुपमा त्रिपिटक पाठ हुने गर्दथ्यो । त्यस्तै नेपाल लगायतका विभिन्न देशका बौद्ध विहार, बहाल बहिलमा पनि बुद्ध बचनहरुको आआफ्नै ढंगबाट पाठ गर्नेै परम्परा छ ।

हालै संसार भरी मानिसहरुमा बुद्धको शिक्षाप्रतिको रुची बढ्न थालेपछि यस टुटेको परम्परालाई बिउँताउने सम्भावना देखिएको छ । धेरैलाई चासो बढेको छ अब, आखिर यो त्रिपिटक भनेको के हो भनेर ।

यस सन्दर्भमा भारतको महाबोधी मन्दिरबाट त्रिपिटकको पाठ गर्ने परम्पराको थालनी सन् २००६ देखि शुरु भयो । त्यसपछि लगभग १४ वर्षदेखि विश्वभरीका बौद्ध देशहरुका प्रतिनिधिको सहभागितामा बोधगयामा त्रिपिटक पाठ गर्ने परम्पराको पुनरावृत्ति भएको छ ।

यसै पुण्यकार्यबाट प्रेरित भइ नेपालमा स्थित बुद्ध जन्मभूमि लुम्बिनीमा पनिगत वर्ष सन् २०१८देखि अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह गर्ने परम्परा बसेको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ अथवा च्यान्टिङ कार्तिक २८ शुरु भयो ।

यसको पहिलो दिन पहिलो दिन कार्तिक २८ अथवा नभेम्बर १४का दिनबिहान प्रतीकको रुपमा ल्याइएको त्रिपिटक ग्रन्थ सहित विशिष्ट व्यक्तिहरुको अगुवाइमा स्थानीय एवं विभिन्न देशबाट आउनुभएका भन्ते गुरुमांहरुका साथै काठमाडौं, बुटवल, पोखराका साथै अन्य स्थानबाट आउनुभएका बौद्ध समाजका उपासक उपासिकाहरुको साथ पदयात्रा आयोजना गरिएको थियो । उक्त पदयात्रा शान्तिदीप स्थलदेखि मायादेवीको मन्दिर परिक्रमा गरी सभास्थामा पुग्यो । त्रिपिटक पाठ लुम्बिनीस्थित मायादेवी मन्दिरको उत्तर पुर्वको उद्यानमा गरिएको थियो ।
औपचारिक कार्यत्रमकोशुरुवातमा उपसंघनायक भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गर्नुभयो ।

यसको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी तथा थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी गर्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले अघि बढाइरहेको विभिन्न विकास निर्माणका कामहरुको बारेमा जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले यो कार्यक्रम बौद्धहरुको मात्र होइन सबै शान्तिप्रेमी जनताको साझा कार्यक्रम भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले इतिहासमा पनि त्रिपिटक सज्झायना कार्यक्रमहरु राजाको संरक्षणमै हुने गरेको भन्दै यस्तो कार्यक्रम अब लुम्बिनीमा पनि सरकारी स्तरबाटै सञ्चालन गनुपर्नेमा जोड दिनुभयो ।

सो कार्यक्रममा २५ देशका १००० भन्दा बढी भिक्षु भिक्षुणी तथा उपासक उपासिकाको सहभागिता भएको आयोजकले जनाएको छ । आयोजकहरुले व्यवस्था गरेको समय तालिका अनुसार विभिन्न राष्ट्रका प्रनितिधिहरुले आआफ्नो अंशको त्रिपिटक पाठ गरे । यस अनुसार पहिलो दिन सुत्तपिटक, दोश्रो दिन विनयपिटक तथा तेश्रोदिन अभिधर्मपिटकका सुत्रहरुको बाचन गरिएको थियो । हरेक दिन दिउँसो खाना र चियाको समय बाहेक बिहान ८ बजेदेखिसाँझ ५ बजेसम्म पाठ गर्ने तालिका बनाइएको थियो ।

पहिलो दिनको पाठ सत्रमा नेपाली भिक्षुहरुको नेतृत्वमा सूत्रपिटक अन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन भयो । त्यसपछि श्रीलंकाली भिक्षुहरुबाट सुत्र पाठ भयो ।


यसै अवसरमा भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विभिन्न देशमा भिक्षु भिक्षुणीहरुको समेत आगमन भयो । उहाँहरुले यहाँ आउँदाको अनुभव तथा त्रिपिटक पाठको महत्वको बारेमा बताउँदै यसप्रकारको कार्यक्रमले लुम्बिनीको गरिमा अझ बढाउने धारणा व्यक्त गर्नुभएको छ ।

दोस्रो दिनकार्तिक २९ अथवा नभेम्बर १५का दिनभियतनामी तथा क्याम्बोडियाली भिक्षुहरुले पाठ गर्नुभयो । त्यसपछि चीनियाँ, जापानी तथा कोरियन भिक्षुहरूको नेतृत्वमा अन्य सुत्रहरुको पाठ भयो ।

यसप्रकार विशेष गरी दक्षिण पूर्वी एशियाका बौद्ध राष्ट्रहरुको प्रतिनिधिहरुको सहभागितामा लुम्बिनीमा त्रिपिटक पाठ हुनु भनेको साँच्चै पवित्र तथा महत्वपूर्ण कार्य हो ।

हरेक दिन विहानदेखि साँझसम्म विभिन्न देशबाट आउनु्भएका श्रद्धेय भिक्षु भिक्षुणी तथा अन्य उपासक उपासिकाहरुले आफ्नो आफ्नो देशको लागि छुट्याइएको ठाउँमा बसेर त्रिपिटक पाठ गरेको ध्वनीले पवित्र लुम्बिनी उद्यान गुन्जायमान भयो । सबै थेरवादी देशहरुबाट आउनुभएका भिन्ते गुरुमां तथा उपासक उपासिकाहरुको भाषा पालि थियोे तर उहाँहरुले पढ्ने पुस्तकका लिपि भने फरक फरक थियो — कुनै पुस्तक देवनागरीमा थियो भने अरु सिँहाली, थाइ, बर्मेली तथा अन्य लिपिमा पनि थिए । लिपि बेग्लै भएपनि, लय अलि अलि फरक भएपनि उहाँहरु सबैले त्रिपिटक नै पढ्दै हुनुहुन्थ्यो ।

यसबाहेक महायानी तथा वज्रयानी लामा, आनी तथा गुरुजुहरुको ग्रन्थहरुको भाषा र भाषा फरक भएतापनि ती सबै बुद्ध बचन नै थिए । उहाँहरुले ती ग्रन्थहरु ठिक त्यसरी नै पढ्नुभयो जसरी यसलाई हजारौं वर्ष अगाडिदेखि पढिने गरिन्थ्यो । यसप्रकार उहाँहरु राष्ट्रियता, भाषा र संस्कृतिको छेकबार पार गरेर एकै छातामुनि समाहित हुन आउनुभयो ।

यसरी हेर्दा एउटा बिर्सिएको पुरानो बौद्ध परम्पराले नयाँ जीवन पाएको देखिन्छ । भगवान बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा एकपल्ट फेरि जाने अवसर मिलेको छ । सबैले आफुले पढेजस्तै अन्य देशका भिक्षुभिक्षुणी तथा उपासक उपासिकाहरुले कसरी बुद्धबचनलाई पाठ गर्छन् भन्ने सिक्ने अवसर प्राप्त भएको छ । ती सबैले पाठ गरेको ध्वनीले लुम्बिनीको वातावरण झन् बढी पवित्र बन्न पुगेको छ ।

यस कार्यक्रमको महत्वबारे सहभागी नेपालका भन्ते तथा गुरुमांहरु हरुको बाक्लो सहभागिता थियो । कार्यक्रमको बारेमा भिक्षु उदयभदले यसप्रकारको कार्यक्रमा विदेशीहरुको सहभागिता अझ बढान सकिने बताउनु भयो । त्यस्तै श्रद्धाचारी गुरुमांले नेपाली उपासक उपासिकाहरुको सहभागिता पनि बढाउन सकेमा धेरै राम्रो हुने बताउनुभयो ।

लुम्बिनीमा आयोेजना भएको यस माहान् उत्सवमा काठमाडौ, ललितपुर तथा भक्तपुरका धेरै उपासक उपासिकाहरु सहभागी हुनुभएको छ । उहाँहरुले यस कार्यक्रमका बारेमा आफ्नो आफ्नो प्रतिक्रिया दिनुभएको छ ।

व्यवसायी पुष्करमान शाक्यले यहाँ लुम्बिनीमा यति ठुलो कार्यक्रम भइरहँदा पनि भैरहवादेखि लुम्बिनीसम्म आउने बाटोको विजोग छ भन्नुभयो ।

त्यस्तै करुणा बुद्धाचार्यले यहाँ हजारौं मानिसहरु जम्मा भइरहँदा पनि शौचालयको राम्रो व्यवस्था नभएको तथा भएको एउटा शौचाल पनि अनि दुर्गन्धित तथा प्रयोगै गर्न नसकिने गरी बिग्रेको बताउनुभयो ।

तेस्रो दिनमाकार्तिक ३० अथवा नभेम्बर १६का दिनथाइ भन्तेहरूको नेतृत्वमा पाठ भयो । दिउँसोे वज्रयानी गुरुजुहरु, नेपाली थेरवाद गुरुमांहरु तथार महायानी आनीहरूले पाठको नेतृत्व गर्नुभयो ।

आयोजकका तर्फबाट आयोजक लुम्बिनी विकास कोषका कार्यकारिणी समितिका सदस्य राजेश ज्ञवालीले यसपालीको कार्यक्रममा भएको कमी कमजोरी हटाएर अर्को वर्ष यो भन्दा धेरै भव्य तरिकाले त्रिपिटक पाठ आयोजना गर्नुपर्ने बताउनुभयो ।
यसरी बुद्धबचनहरुको सँगालो त्रिपिटकका केही चुनिएका गाथाहरु लगभग १हजार भिक्षु भिक्षुणीहरु तथा अन्यले एकैसाथ ३ दिनसम्म पाठ गरेर कुनैबेला छोडिएको वा बिर्सिएको परम्परालाई पुनर्जीवन दिने काम भयो । यसमा नेपाल लगायत भारत, चीन, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम, लाओस, कोरिया, जापान तथा अन्य केही देशका प्रतिनिधिहरु सहभागी थिए ।

यसका साथै दुई दिन नेपालका दुइ तथा एक विदेशी प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि भयो । पहिलो दिनमा धर्मदेशना उपसंघनायक भिक्षु बोधीसेन भन्तेबाट तथा सिंगापुरका भिक्षु सुमनासिरी महास्थविरबाट धर्म देशना भयो । दोस्रो दिनविद्याधर आचार्यमहायोगी श्रीधरराणा रिम्पोचेबाट धर्मदेशना भयो ।

तेस्रो दिनको पाठ सकिएपछि औपचारिक समापन कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा आयोजकका तर्फबाट यस कार्यक्रममा सहयोग गर्नुहुने विभिन्न संस्थाहरु तथा व्यक्तिहरुलाई सम्मानस्वरुप सम्झनाको चिनो प्रदान गरिएको थियो ।

यस अवसरमा समापन कार्यक्रममा बोल्दै लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समितिका अध्यक्ष मैत्री महास्थविरले सबैको सहकार्य एवं सहभागिताले नै यस्तो ऐतिहासिक कार्यक्रम सफल भएको बताउनुभयो । साथै अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परषिद्का सदस्य वाङ्मो दिक्सेले सबैको सहयोगमा यो कार्यक्रम सफल भएकोमा सबैलाई बधाइ दिनुभयो । लुम्बिनी विकास कोषका उपध्यक्ष मेत्तेय भन्तेले यस प्रकारको कार्यक्रम बौद्धहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको भएकोले आगामी दिनमा यसमा अझ धेरै सहभागिता हुने आशा व्यक्त गर्नुभयो । औपचारिक कार्यक्रमपछि उपस्थित सबै भिक्षु गुरुमां तथा लामा अनि आनीहरुलाई उपासक उपासिकाहरुले दान प्रदान गर्नुभयो ।

कार्यक्रमको समाप्ति पछि सबै सहभागी भिक्षु भिक्षुणी, लामा, आनी तथा उपासक उपासिकाहरु लामबद्ध भएर दाहिने हातले मैनबत्ती बोकेर मन्दिर वरिपरी दीपयात्रा गरेर र विश्वशान्तिको कामना गरे ।

आउँदो वर्ष यसै समयमा यहाँ लुम्बिनीमा तेश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ कार्यक्रम आयोजना हुँदैछ । अब लुम्बिनीमा हरेक वर्ष विभिन्न देशका बौद्ध भिक्षु भिक्षुणीहरु आएर एकै साथ त्रिपिटक पाठ गर्ने परम्परा बसेको छ । पक्कै पनि यसका लागि धेरै भन्दा धेरै भिक्षु भिक्षुणी उपासक उपासिका तथा धेरैवटा संस्थाहरुको मिहेनत, लगन र सहकार्यले पनि यसलाई सफल बनाएको छ । आगामी वर्षहरुमा यसमा अझ धेरै सहभागी बनाई सबैको सहकार्यले यसलाई अझ धेरै व्यापक र सफल बनाउन सबैको मिहेनतको खाँचो छ ।

rzm

5 days ago/Sunday, December 1st, 2019/