के हुने रहेछ प्रार्थनाहरुले ?

भगवानको जीवनकालमा एक व्यक्ति भगवान कहाँ आएर रुँदै विलौना गर्दै भन्न लाग्यो –  भगवान! हिजो मेरा बृद्ध पिताको मृत्यु भयो। म हजुर भन्ते कहाँ एउटा प्रार्थना लिएर आएको छु। भगवान् मेरा पिताजीप्रति केहि दया राखेर कुनै उपकार गरिदिनु हवस् हजुर……

यी साना-तिना पण्ड-पुजारीहरुले यहाँ कुनै कर्मकाण्ड गर्दछन् तुरुन्त वहाँ स्वर्गको ढोका खोलिन्छ, स्वर्ग मा प्रवेश मिल्छ अरे। यदि हजुर जस्ता महापुरुषले नै कुनै कर्मकाण्ड गरिदिएमा स्वर्गको प्रवेश मात्र नभैकन लामो समयसम्मको निवास मिल्ने थियो। त्यसैले मेरा मृत्यु पिताजीको लागि, केही न केही अवस्य गरिदिनु होस् भगवान्…….. भनेर विलौनाका साथ साथै विन्ती चढायो।
भगवानले बुझ्नु भयो, यो व्यक्ति भावावेशमा छ। यसलाई लाख सम्झाए पनि, केहीपनि बुझ्ने छैन।

तापनि अतुलनीय भगवान बुद्धको सम्झाउने  अलग अलग किसिमका विधीहरु हुन्थ्यो ।  वहाँ भगवानले दुईवटा माटाको भाँडो लिएर आउन भन्नु भयो। यो सुनेर, उसको मृत्यु भएका पिताको निम्ति भगवानले कुनै राम्रो कर्मकाण्ड गरी दिनु हुनेभो भन्ने सोचले बडो खुशीको साथ, भगवानले भने बमोजिम दुईटा भाँडो लिएर आयो।

भगवानले आदेश दिनु भयो- एउटा भाँडोमा घिउ हालेर, अर्को हण्डीमा ढुङ्गा अथवा बालुवा हालेर भर र दुबै हण्डीको मुखलाई राम्ररी सिएर बाँध, अनि भाँडोहरुलाई पाेखरीमा हालिदेऊ।  त्यस व्यक्तिले त्यसरीनै आफ्नो पिताको सुखिच्छा प्राप्तिको लागि कर्मकाण्ड गर्दै दुबै  भाँडोलाई त्यसरी नै पानीमा हालिदियो। दुबै भाँडो आफ्नो वजनले पानीको तल गएर पिँधमा बसे। अब भगवान ले भन्नुभयो- अब यी दुबै भाँडोलाई एउटा मोटो लठ्ठीले हिर्काएर फुटाई देऊ!!!!!!!

त्यसबेला एउटा अन्धविश्वास थियो समसान घाटमा, पिताको आधा जलेको शरीरको टाउकोलाई यदि छोराले लठ्ठीले हिर्काएर फुटायाे भने पिताको स्वर्गको बास प्राप्ति हुन्छ। त्यसैले उनले भगवानले मलाई दुबै माटाको हण्डीलाई फुटाउन लगाउनुभयाे, कर्मकाण्ड कार्यलाई पुरा गराउँदै हुनुहुन्छ भनेर बडो खुसीका साथ दुबै भाँडाे फुटाई दियो।

जब दुबै भाँडाहरु फुटे, तब जुनमा घिउ थियो, त्यो घिउ माथि आएर तर लागेर बग्न थाल्यो र जुनमा ढुङ्गा वा बालुवा थियो, त्यो तल तलै डुबेर पिँधमा पुग्यो।

तब भगवानले भन्नु भयो हेर ! यति सम्मको कार्य त मैले गराई दिएँ। अब रहेको कार्य आफ्ना पण्ड, पुजारीहरु लाई बोलाएर उनीहरुलाई भन – उनीहरु यहाँ बसेर प्रार्थना गरुन् कि- ए ढुङ्गा, बालुवा तिमीहरु माथि आउ ! ए घिउ तिमीहरु  तल जाउ ! खै! म पनि हेरौँ न त के हुने रहेछ यस प्रार्थनाहरुले ?

मानिसले भन्यो- भगवान! यो पनि कसरी हुन सकछ र? ढुङ्गा, बालुवा पानीभन्दा भारी भएको हुनाले त्यो सँधै तलनै डुब्छ, माथि आउन नसक्ने हुन्छ। र घिउ पानी भन्दा हल्का भएकाले त्यो सँधै माथि नै बग्ने गर्दछ, त्यो कसरी तल जान सक्छ र त्यो त प्रकृतिले  बनाएको नियम नै हो।

भगवानले – अरे ! तिमी प्रकृतिले बनिबनाईको नियम लाई बुझ्ने वाला, तिम्रो विचारमा यति सानो कुराको सोच र ख्याल पनि आएन कि- तिम्रो पिताले आफ्नो जीवन भरमा ढुङ्गा वा र बालुवा जस्तो गरुङ्गो, भारी काम गरेको भए त उनि तलतिर नै जाने छ। कस्ले उसलाई माथि चढाउन सक्छ र ? यदि उसले घिउ जस्तो हल्का फुक्लो काम गरेका छन् भने तब उ माथिनै जाने छ। कस्ले उसलाई तल तिर झार्ननै सक्छ र?

जब धर्मको यो अटूट नियमको बारेमा बोध हुन थाल्छ कि- जस्तो कर्म गरिन्छ, त्यसको उस्तै फल मिल्दछ, तब आफ्नो कर्महरु को प्रति सजग रहन थालिन्छ। धोकाले भरिएको कर्मकाण्डहरु बाट टाढा हुन सकिन्छ।
यही उपदेश भगवान ले महानाम शाक्य लाई दिनु भएथ्यो।

अनुवाद – बिष्णु धनञ्जय