पाटनको महाबुद्ध मन्दिर जिर्णोद्धार हुँदै

— बिमला शाक्य
भारतको बोधगयामा अवस्थित महाबोधि मन्दिरको रिप्लीकाको रुपमा नेपालमा पनि रहेको छ । ९ हजार बुद्धको मन्दिर भनेर विश्वमा प्रख्यात यो मन्दिर ललितपुरको ओकुबहाल रुद्रवर्णमहाविहार नजिक रहेको महाबोधिमण्डप विहारमा अवस्थित छ । ९ हजार बुद्धको मन्दिर पनि यो मन्दिरमा बुद्ध मुर्तिको संख्या ३३४१ रहेको छ ।

 
शिखर शैलीको यो महाबुद्ध मन्दिरको निर्माण ने.सं ६८५ अर्थात वि.सं १६२२ मा शुभारम्भ भएको थियो । यो मन्दिरको निर्माणकर्ता यसै टोलका बौद्ध विव्दान अभयराज शाक्य थिए । उहाँले आफु चारधामको तिर्थाटन जाने क्रममा भारतको महाबोधी मन्दिर देखेपछि यस्तै मन्दिर आप्mनो ठाउँमा पनि बनाउने निधो गरी ४ वर्षसम्म त्यही बसी मन्दिरको नापनक्सा तयार पारेर यहाँ निर्माण कार्य शुरु गरेको महाबुद्ध मन्दिर जिर्णोद्धार समितिका अध्यक्ष शान्तमानन्द शाक्य बताउनु हुन्छ । मन्दिर निर्माण कार्य सम्पन्न गर्न ३ पुस्ता अर्थात ३६ वर्ष लागेको थियो । अभयराजले शुरुवात गर्नुभएको उक्त मन्दिर उनका छोरा बुद्धजु र नाति जयमुनिको पालामा सकिएको उहाँ बताउनु हुन्छ ।

 
मन्दिर निर्माण कार्य सम्पन्न भएको खुशियालीमा पूजा पाठ गरी त्यसबेला जीवराज र जयमुनिजु यहाँको प्रसाद लिएर सिकिमका राजाकहाँ पुगेका थिए । राजा अति खुशी भएर सुन उपहार दिएर ल्याएको थियो । त्यसबेलादेखि तिब्बतमा यो मन्दिर साङ्गेतुंगु भनेर प्रसिद्ध भएको कुरा पं. हेमराज शाक्यले लेख्नुभएको रुद्रवर्णमहाविहार छगू अध्ययन पुस्तकमा उल्लेख छ । त्यतिबेला त्यो सुन सबै बुंगद्यः अर्थात रातो मच्छिन्द्रनाथलाई चढाएको थिए । त्यसबेलादेखि रातो मच्छिन्द्रनाथको रथमा सुनको मोलम्बा लगाएर लुँसाहापौ बनाई चढाएका थिए । त्यसैबेला देखि बुगमलोकेश्वरको लँुसाहा राख्ने चलन रहेको अध्यक्ष शाक्य बताउनु हुन्छ ।

 
यो मन्दिरको भुईतल्लामा शाक्यमुनि बुद्धको अति आर्कषक मूर्ति प्रतिस्थापन गरिएको छ । दोस्रो तल्लामा रातो वर्णको अभिताभ बुद्ध, तेस्रो तल्ला स्वयम्भु चैत्य, चौथो तल्लामा धर्मधातु मण्डल, पाँचौ तल्लामा बज्रधातु मण्डल र छैठौं तल्लामा उष्णीस चूडामणि अर्थात शून्यनिरन्जन चैत्य रहेको छ । मन्दिर निर्माण गर्दा ढुंगा र माटोलाई पोलेर बनाइएका (टेराकोटा) बुद्धका मूर्तिहरु, विभिन्न बोधिसत्वहरु, धृतराष्ट्र, विरुपाक्ष, कुवेर विरुढक आदि देवदेवताहरुको साथै अष्टमंगलहरु, विभिन्न पद्मावलि, ज्वालावलि,बज्रावलि आदिले यो मन्दिर सजिएको छ ।

 
मन्दिरको पहिलो तल्लामा चारै कुनामा स-सानो शाखा मन्दिर रहेको छ जसमा पनि अवलोकितेश्वर वोधिसत्व,बज्रगर्भ वोधिसत्व,क्षितिगर्भ वोधिसत्व, मन्जुश्री वोधिसत्व आदि अनेक वोधिसत्वहरुको मूर्ति रहेको छ । त्यसैगरि मन्दिरको मुख्य भागमा शाक्यमुनि बुद्ध सहित चारै दिशामा अमोघपास लोकेश्वर, महामन्जुश्री, रत्नगर्भ वोधिसत्व, प्रज्ञापारमितादेवी , वज्रांकुश देवता आदि रहेको छ ।

 
ओकुबहाल नजिकै रहेको यो मन्दिरको मूलढोकाबाट साँघुरो गल्लीबाट केही भित्र गए पछि महाबोधि मण्डप विहार पुग्न सकिन्छ । प्रवेशद्वार दायाँ गणेश र महाकालको मूर्ति रहेको छ भने मुख्य मन्दिर प्रवेश गर्ने वित्तिकै दायाँ बायाँ समन्तभद्र वोधिसत्व, बज्रपाणि, दिपंकर तथागत, मैत्रेय वोधिसत्वको अति सुन्दर मूर्तिहरु रहेका छन् ।

 
यसरी हजारौं बुद्धहरुको मूर्तिले सजिएको यो मन्दिरमा पटक पटक प्राकृतिक विपत्ति आइपरेका छन् । वि.सं १९९० साल माघ २ गते आएको महाभूकम्पले यो मन्दिरलाई ठूलो क्षति पुगेको थियो । त्यसबेला यो मन्दिर एक तल्ला मात्र बाँकी हुने गरी पूरै भत्केको थियो । स्थानीय बासिन्दाहरुले जिर्णोद्धार कमिति बनाएर त्यसबेला यो मन्दिर पुनःनिर्माण गरेका थिए । पुनःनिर्माण कमितिमा शिल्पनायक पं.जोगमान शाक्यको नायकत्वमा अरु १० जना कलाकारहरु र स्थानीय बासिन्दाहरुको सहयोगमा यो मन्दिर पुनःनिर्माण कार्य नेसं १०५८ बैशाख शुक्ल अक्षय तृतीयाका दिन सम्पन्न भएको थियो । त्यसबेला मन्दिर पुनःनिर्माण सकेको उपलक्ष्यमा तत्कालीन राजा श्री ३ जुद्धशम्शेरलाई पनि निमन्त्रणा गरिएको थियो । उनले यो मन्दिर देखेपछि भूकम्प पीडित उद्धार कोषबाट लिएको ३१ सय रुपैंया मिनाहा गरिदिएको अध्यक्ष शाक्य बताउनु भयो । त्यसै गरी भूकम्प पीडित सबैजनाको ऋण मिनाहा गरिदिएको थियो ।

 
९० सालको महाभूकम्पले क्षति भएको यो मन्दिर पुनःनिर्माण भईसकेपछि यसबाट उब्रेको मन्दिरको सानो सानो राम्रो राम्रो टुक्रा जोडेर महाबुद्ध मन्दिर संगै सानो मन्दिर बनाइएको थियो जुन मन्दिरको नाम मायादेवी मन्दिर रहन गयो । यसरी ९० सालको महाभूकम्पले क्षति भएर पुनःनिर्माण भएको यो मन्दिरलाई, फेरि २०७२ साल बैसाख १२ गतेको भूकम्पले पुनः क्षति पुर्यायो । २०७२ सालको भुकम्पले मन्दिर बाहिरबाट भन्दा पनि भित्रबाट पूरै चर्केको र मुख्य तोरण पूरै क्षति हुनुका साथै ढुंगाको खम्बा भत्केको शाक्यले जानकारी दिनुभयो । उक्त मन्दिरलाई विशेषज्ञहरुको सल्लाह बमोजिम पूरै फलामको पे्रmमले घेरेर चर्केको ठाउँमा मर्मत गरियो भने तोरणको भाग पूरै नयाँ पहिला जस्तो थियो त्यस्तै निर्माण गरियो ।

 
करिब १८ महिना अगाडि गुरुजु र जेष्ठ आजु बसी क्षमा पूजा गरिसके पछि मात्र यो मन्दिरको जिर्णोद्धार कार्य शुभारम्भ भएको थियो । २०७६ सालको बैशाख महिनाको बुद्ध जयन्तीको उपलक्ष्यमा जिर्णोद्धार कार्य सकाउने योजना रहेको समितिका अध्यक्षले जानकारी दिनुभयो ।

 
यसरी प्राकृतिक विपत्तिले समय समयमा क्षति पुर्याएको ऐतिहासिक मन्दिरलाई सरकारको मुख नताकी स्थानीयस्तरबाट नै जिर्णोद्धार गरी पुनः आप्mनै पहिचान दिलाउन सफल हुने भएको छ । जुन कुरामा स्थानीय बासिन्दाले गर्वको रुपमा लिन सकिन्छ ।