कुम्भघोषकको कथा 

प्रस्तुति : संजय शाक्य

भगवान् बुद्धको समयमा राजगृह नगरमा र राजगृह श्रेष्ठीको घरमा अहितवातक रोग लाग्यो। यो रोग लाग्दा अन्य प्रणीदिखि लिएर मानिसहरु समेत मर्छन्। घरको भित्ता फोडेर जानेको ज्यान बच्छ। यो रोग राजगृह श्रेष्ठीलाई पनि लाग्यो। उनका छोरा अगाडि बसिरहेका थिए। श्रेष्ठीले छोरालाई भने,” बाबु, यो रोग लाग्दा घरको भित्ता फोडेर जो निस्कन्छ,उसको ज्यान बच्छ। अत: हामीहरुको वास्ता नगरी भित्ता फोडेर निस्की आफ्नो ज्यान बचाऊ। पछि आएर फलाना ठाउँमा गाडिराखेको ४० कोटी धन लिई आफ्नो जीविका गर।” उनी त्यसै गरी पहाडतिर गएर बसे।

१२ बर्षपछि उनी राजगृह नगरमा फर्केर आई गाडिराखेको ठाउँमा गई हेर्दा धन सुरक्षित नै देखे। बालक अवस्थामा नै उनी बाहिर गएको हुँदा अहिले ठूलो भइसकेका उनलाई चिन्ने कोही थिएनन्। अत: उनले विचार गरे – “यदि यो गाडेको धन झिकेर ल्याएँ भने मानिसहरुले मलाई दु:ख दिन पनि सक्छन् र समात्न पनि सक्छन्। बरु कुनै ज्यालादारी काम गरेर बस्नु बेश होला।” यति विचार गरेर काम खोज्दै जाँदा एक ज्यामीकहाँ ‘मानिसहरुलाई बिहानै उठाउने’ काम पाएर भात-ज्याला लिएर सो काम गर्न थाले। उनलाई बस्ने एक ठाउँ दियो। उनी दिन दिनै सबेरै उठी “दाजु भाइ, दिदी बहिनी हो! बेला भयो उठ्नुहोस्! आ-आफ्नो काममा जानुहोस्! गाडामा गोरुहरु बाँध्नुहोस्! हात्ती, घोडा र पशुहरुको निमित्त घाँस काट्न जानुहोस्! यागु भात पकाउनुहोस्!” भन्दै घुम्न थाले।

एक दिन उनी कराएको आवाज बिम्बिसार राजाले सुनेर “यो त महाधनी पुरुषको आवाज हो” भनी भन्दा त्यहाँ बसेकी परिचारिकाले राजाले “राजाले जे पायो, त्यो भन्नहुन्न” भनी एकजना मानिसलाई हेर्न “त्यो मानिसलाई हेरेर आऊ” भनी पठाई। ऊ गएर आई “ऊ त दरिद्र मानिस हो” भनी भन्यो। भोलिपल्ट पनि उनको आवाज सुनी राजाले त्यस्तै भने। सो परिचारिकाले त्यो दिन पनि मानिस पठाई हेर्न पठाउँदा “एक दरिद्र” भन्ने सुनेर राजालाई सो कुरा बताई। राजाले चाँही विश्वास गरेनन्। “राजाले त्यसै भनेको अवश्य पनि होइन होलान्, त्यसमा केही रहस्य हुनुपर्छ।” भनी ठानी उसले राजालाई बिन्ती गरी “यदि सरकारबाट एकहजार कार्षापण पाए, यसको सबै कुरा पत्ता लगाई त्यो धन सरकारमा टक्र्याउने छु” भनी भन्दा राजाले उसलाई एक हजार कार्षापण दिए।

ऊ आफ्नी छोरीलाई लिएर मैला लुगाहरु लगाई कुनै बटुवा जस्तो देखिने गरी ज्यामीहरु बस्ने सडकमा गई एक घरमा पसी “आमा! तपाईं एक दुई दिन बास बस्ने छौं” भनी भन्दा उसले “यहाँ ठाउँ छैन, पल्लो घरमा कुम्भघोघोषकको डेरामा ठाउँ खाली छ, त्यहाँ गएर बस” भनी भनेपछि छोरीसँग ऊ त्यहाँ गई “हे स्वामी! हामीहरु परदेशी हौं, आज एक रात तपाईंकहाँ बास बसी भोलि बिहान सबेरै जानेछौँ” भने। उनले यहाँ ठाउँ छैन भन्दा पनि उनीहरु घरबाट बाहिर निस्कन चाहेनन् र उहीं बसे।

भोलिपल्ट उनी काममा जान लाग्दा “हे स्वामी! तपाईंको चामल दिएर जानुहोस्; पकाई राख्नेछौँ” भनी भने। “चाहिन्न” भनी पटक पटक भन्दा पनि जिद्दी गरी उनीहरुले चामल लिए र उनी कामबाट न आउन्जेलसम्म भाँडाकुँडा किनेर ल्याई असल चामल ल्याई दुई तीन थोक तरकारीहरुको साथ राम्ररी भात पकाई राखे। उनी आएपछि खाना दिए। खाना खान सिध्याएपछि उनको मन केही नरम भएको कुरा चाल पाई उनीहरुले “हे स्वामी! हामीहरु सार्‍है थाकेका छौँ, एक दुई रात यहीं थकाइ मारी जानेछौँ” भनी भन्दा उनले स्वीकार गरे।

उनीहरुले त्यसै रात र भोलिपल्ट बिहान पनि मधुर खाना बनाएर उनलाई ख्वाए। उनीहरुले फेरि भने “हे स्वामी! हामीहरु केही दिन यहीं बस्नेछौँ।” यस्तै गरी बस्दा बस्दै एक दिन उनी सुतेको खटियाको डोरी अलि अलि गरी काटी चुडाँलिदिए। खटिया झोलिंदै आएकोले खटियामा बस्दा लच्केर भुईंमा छुने जस्तो गरी खटिया खाल्टो पर्‍यो। अनि “एउटा खटिया भएको पनि तिमीहरुले यस्तो पारिदियौं” भन्दै कराउन थाले। अनि केटीको आमाले “हे स्वामी! के गरौं, टोलका केटाकेटीहरुलाई कति भने पनि रोक्न सक्दिन। अब यस बेला के गर्ने?” भन्दै छोरीलाई बोलाई “छोरी! तिम्रो दाइलाई पनि एक छेउमा सुत्ने ठाउँ देऊ” भने। “आउनुहोस, स्वामी! यहाँ सुत्नुहोस्।” भनी आफू सुत्ने ठाउँमै ठाउँ बनाइदिएपछि गएर सो केटीसँगै सुते। त्यसै रातमा संसर्ग भयो। केटी रुन थाली। “छोरी! किन रोएकी?” भनी आमाले सोधेपछि उसले “यस्तो भयो” भनी भन्दा “हुनदेऊ, तिमीलाई पनि एउटा पुरुष चाहिन्थ्यो, उनलाई पनि एउटी केटी चाहिन्थ्यो” भनी आमा चाँहीले भनी। त्यसपछि उनलाई ज्वाँई बनाई मिलेर बसे।

केही दिनपछि सो परिचारिकाले राजाले खबर पठाई “महाराज! कामदारहरुको टोलमा एक उत्सवको घोषणा गराउनुहोस्। जसको घरमा उत्सव मनाइंदैन, उसलाई राजदण्ड लाग्नेछ।” राजाले त्यस्तै गरए। अनि उनकी सासूले भनी,”ज्वाइँ! कामदारहरुको टोलमा राजाज्ञा अनुसार उत्सव गर्नुपर्ने भयो। अब के गर्ने?”

“आमा! ज्यालादारी काम गरेर जीविका गरेको छु। कहाँबाट मैंले पैंसा ल्याउने?”
“ज्वाईँ! गृहस्थी भई बस्नेले ॠण काढेर भए पनि राजाको आज्ञालाई पालन गर्नुपर्छ। जाऊ, जहाँबाट भएपनि एक दुई कार्षापण ॠण लिएर आऊ। ॠण भनेको पछि तिर्न सकिने छ।”

अनि कराउँदै ४० कोटी धन गाडेको ठाउँबाट एउटा कार्षापण ल्याए। उसले त्यो कार्षापण खर्च गरी उत्सव मनाए। फेरि केही दिनपछि राजाकहाँ खबर पठाई। राजाले पनि “उत्सव नगर्नेलाई जरिवाना हुनेछ” भनी घोषणा गराए। उसले उनलाई अघिजस्तै भनी। उनी गएर यसपटक ३ वटा कार्षापण लिएर आए। उसले ती पनि राजालाई दिएर “अब चाँही यो पुरुषलाई बोलाउन पठाउनुहोस्” भनी खबर पठाई। मानिसहरु आएर उनलाई “तिमीलाई राजाबाट बोलावट भएको छ” भनी भन्दा उनी डराउँदैं “मलाई राजाले चिन्दैनन्, म जान्न” भनी भने। बोलाउँदा नमानेपछि पुरुषहरुलाई “मेरो ज्वाँईलाई किन जवर्जस्ती गरेको भनी हप्काई ज्वाँई चाँहीलाई “ज्वाइँ आऊ, तिमीलाई हात हाल्नेलाई राजाकहाँ जाहेर गरी दण्ड गराउनेछु” भन्दै ऊ पनि घरबाट निस्की। मानिसहरुले उनलाई दरबारमा लिएर गए। ऊ चाँही उनीहरुभन्दा अगाडि नै दरबारमा गई भेष बदली राजासँगै बसिरही। राजपुरुषहरुले उनलाई राजाकहाँ पुर्‍याए। राजालाई अभिनन्दन गरी उनी उभिरहे। राजाले “तिमी कुम्भघोषक हौँ” भनी सोधे।

“महाराज! हो!”
“किन तिमी महाधन छाडेर दु:ख देखाई बसेका हौ?”
“महाराज! ज्यालादारी काम गरी जीविका गर्ने मैंले कहाँबाट धन पाउनु?”
“यस्तो नभन, किन हामीलाई छकाउछौँ?”
“महाराज! मसँग धन हैन, सरकारलाई मैंले छकाएको छैन।”

अनि राजाले ती कार्षापणहरु देखाउँदै “यी कार्षापणहरु कसका हुन् त?” भनी सोध्दा देख्ने बित्तिकै चिनेर “अहो! कसरी यी कार्षापणहरु यहाँ पुग्यो?” भन्दै यता उता हेर्दा ती दुबै आमा छोरीलाई देखी “अहो! यिनीहरुलाई राजाले पठाएका रहेछन्” भनी चाल पाए।

अनि राजाले फेरि सोधे,” हे पुरुष! भन, किन किन यसरी कुरा लुकाइरहेको?”
“मलाई भरोसा दिने कोही छैन।”
“म जस्ताको भरोसा लिनु हुन्न?”
“महाराज! यदि राजाले भरोसा दिनुहुन्छ भने मेरो कल्याण हुनेछ।”
“म तिमीलाई भरोसा दिनेछु, भन तिमीसँग कति धन छ?”
“महाराज! ४० कोटी छ।”

राजाले त्यो धन राज प्रांगणमा थुपार्न लगाई महाजनहरु एकत्रित पारी “यो नगरमा यतिका धन हुने अरु कोही छ के?” भनी सोध्दा “छैन” भन्ने कुरा सुनेपछि “त्यसोभए यो धनको मालिकलाई के गर्नुपर्ला?” भनी सोध्दा “महासम्मान” गर्नुपर्छ भनी भनेपछि उनलाई “श्रेष्ठी पद” दिई सो केटी पनि उनैलाई दिए। अनि उनलाई लिएर भगवान् बुद्धकहाँ गई राजाले भने – “भन्ते! मैंले यो जस्तो धैर्यवान् पुरुष कहिल्यै देखेको थिइन। जो यत्तिका धन भएर पनि कति पनि अभिमान नगरी धैर्य लिई कृपण जस्तै भई बस्नसक्ने। मैंले यस्तो उपायद्वारा उनलाई ‘श्रेष्ठी पद’ दिएँ” भनी बिन्ती गरे।

यो सुनेर शास्ताले “महाराज! यसरी जीविका गर्नेलाई धार्मिक जीविका भन्न सकिन्छ। चोरी आदि काम गर्नेलाई इहलोकमा पनि दु:ख हुन्छ परलोकमा पनि त्यस्ता कर्मद्वारा सुख दिन सक्दैन। धन परिहानी हुँदा खेतीको काम अथवा ज्यालादारी कामद्वारा जीविका गर्नु नै धार्मिक जीविका हो भनी भन्न सकिन्छ। यस प्रकार वीर्य सम्पन्न हुने, होस् राख्नसक्ने, शरीर, बोलीद्वारा शुद्ध काम गर्ने, बुद्धि पुर्‍याई संयमतापूर्वक जीविका गर्नेको यश बढ्दछ” भन्नुहुँदै यो गाथा भन्नुभयो –

“उट्ठानवतो सतिमतो, सुचिकम्मस्स निसम्मकारिनो।
सञ्ञतस्स च धम्मजीविनो, अप्पमत्तस्स यसोभि बड्ढति।।”

अर्थ –

“जो स्‍मृतिवान् भई उद्योग गर्छ, संयमपूर्वक सुकार्य गर्छ र अप्रमादी भई धार्मिक काम गर्छ, यसरी जीवन बिताउने व्यक्तिको यश बढ्छ।”

भवतु सब्ब मंगलं!!!