बोधगयामा त्रिपिटक पाठ : एक संस्मरण

राजेन मानन्धर
केही महिना अगाडि लुम्बिनीमा त्रिपिटक पाठ हुँदा प्रत्यक्ष्य सहभागी हुन सकिन । त्यस पुण्यकार्यमा आफुलाई त्यहाँ पुर्याउन नसकेकोले कतै बिझेको जस्तो अनुभव भइरहेको थियो । पछि डिसेम्बरमा दश दिनसम्म भारतको बोधगयामा यस्तै महत्वपूर्ण समारोह हुँदैछ भन्ने जानकारी पाएपछि त्यहाँ जसरी भएपनि जानपाए हुन्थ्यो भन्ने भइरहेको थियो ।
सच्चा मनले चाह्यो भने पुग्दोरहेछ । बोधी टिभीको टीमसँगै श्रद्धेय भिक्षु मैत्री तथा धुन्दुपदिदीसँगै बोधगयामा भइरहेको १४औं अन्तर्राष्ट्रिय त्रिपिटक पाठको अन्तिम दुईदिनको लागि भएपनि सहभागी हुने अवसर मिल्यो । २०१८को डिसेम्बर १०का दिन बिहान सबेरै लुम्बिनीबाट बोधगया जान हामी तयार भयौं ।

भगवान बुद्ध आफैले भन्नु भएको थियो — उहाँ जन्मनुभएको लुम्बिनी, बोधिज्ञान लाभ गर्नुभएको बोधिगया, धर्मचक्र प्रवर्तन गर्नुभएको सारनाथ तथा महापरिनिर्वाण प्राप्त गर्नुभएको कुशिनगरमा गएमा धर्म संवेदना बढ्छ । यसरी धर्म चीरस्थायी हुन्छ भनेर । यस अर्थमा पनि लुम्बिनी जतिकै महत्वपूर्ण छ भारतस्थित बोधगया ।
बुद्ध नेपालमा जन्मेको भनेर त हामी गर्व गर्छौं तर एक छिन सोचौं के उहाँले बोधिज्ञान नपाउनुभएको भए हामीले गर्व गर्ने थियौं होला? यस अर्थमा बुद्ध जन्मस्थल लुम्बिनी जस्तै उहाँले बोधिज्ञान पाएको स्थल बोधिगया पनि त त्यतिकै पवित्र र महत्वपूर्ण भयो नि । हैन र?

लुम्बिनीबाट करिब ५०० किलोमिटर दक्षिण पूर्वमा अवस्थित बोधियगा भागरतको विहार राज्यस्थित पटना भन्दा ११५ किलोमिटर नजिकै अवस्थित छ । कुनैबेला यसलाई उरुबेला, सम्बोधी अथवा वज्रासन आदि नामबाट पनि सम्बोधन गरिन्थ्यो । यसको छेवैमा निरन्जना नामक नदी बहन्छ, जसको पनि बुद्धको जीवनमा आफ्नै स्थान छ ।
यहाँ स्थित महाबोधी मन्दिर तथा त्यसको छेवैमा रहेको बोधिवृक्ष यहाँका प्रमुख आकर्षण हुन् । यसको दर्शन गर्न हरेक वर्ष नेपाललगायत विभिन्न देशबाट हजारौंको संख्यामा भ्रमण गर्न जाने गर्दछन् । शिखर शैलीमा निर्मित महाबोधी मन्दिरभित्र भवगान बुद्धको भूमिस्पर्श पद्मासनमा बसेको सुन्दर मूर्ति छ । यो मुर्ति नै यस भव्य मन्दिरको केन्द्रविन्दु हो ।
बिहान झिसमिसेमै हिँडेका हामी बोधगया मन्दिरको नजिगकै रहेको बोधगया रेजेन्सी होटलमा पुुग्दा रात परिसकेको थियो ।
०००


डिसेम्बर ११को बिहान निकै चिसो थियो । तर हामीलाई मन्दिर परिसरमा पुिग्न हतार भैसकेको थियो ।

बिहानी तरखर मिलाएर महाबोधी मन्दिरमा प्रवेश गर्यौं । मन्दिरमा सुरक्षा व्यवस्था कडा छ । विशेष गरी सन् २०१३को जुलाइ ७ का दिन लहरै १० वटा बम विष्फोट गराइए पछि यहाँको सुरक्षा कडा बनाइएको हो । निश्चित शुल्क तिरेर क्यमेरा लैजान सकिन्छ भने मोबाइल फोन जस्ता सामाग्री निषेधित नै छ । तर यहाँ प्रवेश गर्न भने विदेशीले समेत पनि कतै कुनै शुल्क तिुर्न पर्दैन ।
अन्य बौद्ध मन्दिरहरु भन्दा अलग यो मन्दिर शिखर शैलीमा बनाइएको छ । करिब ५५ मिटर अथवा १८० फिट अग्लो यो मन्दिर यसको कलात्मक शिखर, भित्तामा बनाइएका डिजाइनहरुका कारण उल्लेखनीय छ । साथै मन्दिरको चार कुनामा चारैवटा ससाना शिखरहरु बनाइएका छन्, जसले यसको सुन्दरता बढाउन मद्दत गरेको छ । तल्लो छतमा विभिन्न समयामा बनेका चैत्यहरु लहरै राखिएका छन् भने तथा बाहिरी डिजाइनका खोपीहरुमा पनि बुद्ध एवं बौद्ध मूर्तिहरुलाई सजाएर राखिएको छ ।

 

झण्डै पाँच हेक्टर जमिनमा फैलिएको यस मन्दिर परिसरमा महाबोधी मन्दिरका साथै पवित्र बोधी वृक्ष, वज्रासन तथा बुद्धले धर्मचक्र प्रवर्तन गर्नु अगाडिका केही हप्ता बिताउनुभएका स्थानहरु संरक्षित छन् । यसभन्दा बाहिर रहेको सुन्दर र शितल मुचलिन्द ताल पनि यहाँको महत्व पूर्ण स्मारक हो । अनि यस मन्दिरलाई भित्री, मध्य तथा बाहिरी चंक्रमण मार्गहरुले सुरक्षित पनि राखेको छ ।

 

बुद्धको सुनौला प्रतिमा भन्दा पनि बढी पवित्र मानेर यहाँ आउने तीर्थयात्रुहरुले पूजा गर्ने भनेको यहाँको बोधीवृक्ष हो । यो त्यही स्थल थियो जहाँ सिद्धार्थले अब मेरो शरीर सुकेर गएपनि बोधिज्ञान नपाएसम्म उठ्दिन भनेर अधिष्ठान लिनुभएको थियो, मारहरुको प्रतिकार गर्नुभएको थियो, पृथ्वीलाई आफ्नो साक्षी राख्नुभएको थियो अनि यहीँ बाट न पहिले भएको न पछि हुने बोधिज्ञान प्राप्त गरेर उठ्नु भएको थियो, संसारलाई चतुआर्य सत्यको बारेमा ज्ञान दिन आफुलाई तयार पार्नुभएको थियो ।

 

त्रिपिटक भनेको भगवान बुद्धले दिनुभएको उपदेशहरुको सम्पूर्ण संकलन हो । यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ — विनय पिटक, सुत्त पिटक र अभिधम्म पिटक । यो सबै मिलाउँदा करिब ४० वटा पुस्तकहरु बन्दछन् । यसलाई विशेष गरी थेरवादीहरुले बौद्ध शिक्षाको प्राथमिक श्रोतको रुपमा मान्ने गरेको छ ।

भगवान बुद्धको परिनिर्वाण भएपछि नै त्यसबेलाका भिक्षु भिक्षुणीहरुले बुद्ध वचनहरु संकलन गर्न धेरै मिहेनत गरे र संगायनाहरु गर्दै यसलाई एक पुस्ताबाट अर्को पुस्तामा मौखिक परम्परा अन्तर्गत रहेर हस्तान्तरण पनि गरे । उनीहरुमा यस्तो शक्ति थियो कि उनीहरु ती सबै सुत्त वा गाथाहरु कण्ठस्थ पार्न सक्थे । यस्तो विशाल उपदेशहरुको संकलन हजारौं वर्षसम्म रहिरहनुको रहस्य यही थियो । धेरै समयपछि मात्र त्रिपिटक लिखित रुपमा संकलित भयो ।

 

ठुला अथवा साना समुहमा बसेर भिक्षु भिक्षुणी तथा अरुहरु बेलाबेलामा त्रिपिटक पाठ गर्थे — शताब्दीयौंसम्म यो परम्परा चल्यो । विद्वानहरुका अनुसार हजारौं वर्षसम्म महाबोधी मन्दिरमा नियमितरुपमा त्रिपिटक पाठ हुने गर्दथ्यो । तर पछि राजनीतिक तथा सामाजिक परिवर्तनहरुले बौद्ध भिक्षु र अन्य विद्वानहरुबाट यो प्रचलनलाई डगमगाइदियो । र भारतका अन्य स्थानमा जस्तै यहाँ पनि यो टुट्यो । भगवान बुद्धले भन्नुभएकै थियो, संसारका सबै कुराहरु अनित्य छन् । हालै संसार भरी मानिसहरुमा बुद्धको शिक्षाप्रतिको रुची बढ्न थालेपछि यस टुटेको परम्परालाई बिउँताउने सम्भावना देखिएको छ । धेरैलाई चासो बढेको छ अब, आखिर यो त्रिपिटक भनेको के हो भनेर ।

 

यसअनुरुप महाबोधी मन्दिरमा पालि त्रिपिटकको पाठ गर्ने परम्पराको थालनी सन् २००६ देखि शुरु भयो । त्यसपछि लगभग ७ सय वर्ष अगाडि टुटेको यस प्राचीन परम्परालाई पुर्नजीवन दिनलाई द लाइट अफ बुद्धधर्म फाउण्डेशन इन्टरनेशनल नामक संस्थाको स्थापना २००८मा भयो । लगभग १४ वर्षदेखि विश्वभरीका थेरवाद मान्ने बौद्ध देशहरुका प्रतिनिधिको सहभागितामा भगवान बुद्धले बुद्धत्व लाभ गर्नुभएको बोधिवृक्षको मुनि बसेर मंसिर १६ देखि २६ सम्म त्रिपिटक पाठ गर्ने परम्पराको पुनरावृत्ति भएको छ । यस वार्षिक समारोहको आयोजना अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परिषद (क्ष्त्ऋऋ) ले गर्ने गर्दछ भने यसको प्रायोजन द लाइट अफ बुद्धधर्म फाउण्डेशन इन्टरनेशनल (ीद्यम्ँक्ष्) बाट हुन्छ ।

 

१४औं अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको २०७५ मंसिर १६ गते, तदनुसार डिसेम्बर २, २०१८ का दिन माहाबोधी मन्दिर बोधिवृक्षको मुनि विभिन्न देशका भिक्षु भिक्षुणी एवं उपासक उपासिकाहरुको उपस्थितिमा उद्घाटन भयो ।

त्यसदिनदेखि हरेक दिन विहानदेखि साँझसम्म मन्दिरको वरिपरि विभिन्न देशबाट आउनु्भएका श्रद्धेय भिक्षु भिक्षुणी तथा अन्य उपासक उपासिकाहरुले आफ्नो आफ्नो देशको लागि छुट्याइएको ठाउँमा बसेर त्रिपिटक पाठ गर्नुभयो । उहाँहरुले त्रिपिटकको सुत्तपिटक अन्तरगतको खुद्दक निकायका केही गाथाहरु पाठ गर्नुभयो । उहाँहरुको भाषा पालि थियोे तर लिपि भने फरक फरक थियो — कुनै पुस्तक देवनागरीमा थियो भने अरु रोमन, सिँहाली, थाइ, बर्मेली तथा अन्य लिपिमा पनि थिए । लिपि बेग्लै भएपनि, लय अलि अलि फरक भएपनि उहाँहरु सबैले त्रिपिटक नै पढ्दै हुनुहुन्थ्यो, ठिक त्यसरी नै जसरी यसलाई हजारौं वर्ष अगाडिदेखि पढिने गरिन्थ्यो । यसप्रकार उहाँहरु राष्ट्रियता, भाषा र संस्कृतिको छेकबार पार गरेर एकै छातामुनि समाहित हुन आउनुभयो ।

 

यसरी बुद्धबचनहरुको सँगालो त्रिपिटकका केही चुनिएका गाथाहरु ५ हजार भिक्षु भिक्षुणीहरु तथा अन्यले एकैसाथ १० दिनसम्म पाठ गरेर कुनैबेला छोडिएको वा बिर्सिएको परम्परालाई पुनर्जीवन दिने काम भयो । यसमा नेपाल लगायत भारत, बांगलादेश, थाइल्याण्ड, म्यानमार, भियतनाम, लाओस तथा अन्य केही देशका प्रतिनिधिहरु त्यसमा सहभागी थिए । यसबाहेक हरेक साँझ यहाँ धर्मदेशनाको कार्यक्रम पनि सञ्चालन भयो । यहाँ विभिन्न देशका श्रेद्धेय भन्तेहरुले बुद्धधर्मका विभिन्न पक्षलाई लिएर गहन चिन्तन र विश्लेषण पनि गर्नुभयो ।

 

२०७५ मंसिर २६ तदनुसार डिसेम्बर १२का दिन त्रिपिटक पाठ समारोहका्े समापन भयो । यस कार्यक्रममा नेपालका तर्फबाट अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविर लगायत विभिन्न देशका संघ प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । मैत्री भन्तेले कार्यक्रमका प्रायोजक संस्थाकी कार्यकारी निर्देशन वाङ्मो डिस्केलाई नेपालकोतर्फबाट सम्झनाको चिनो प्रदान गर्नुभयो । यसप्रकार विशेष गरी दक्षिण पूर्वी एशियाका बौद्ध राष्ट्रहरुको प्रतिनिधिहरुको सहभागितामा त्रिपिटक पाठ हुनु भनेको साँच्चै पवित्र तथा महत्वपूर्ण कार्य हो ।

 

नेपालको दृष्टिकोणबाट हेर्दा यति ठुलो कार्यक्रममा नेपालको सहभागिता भने केही पातलो रहेको देखिन्छ । यसमा अखिल नेपाल भिक्षु महासंघ तथा व्योमा कुसुमा बुद्धधर्म संघको सहभागिता अर्कोवर्ष बढ्ने आशा गर्न सकिन्छ । विभिन्न देशबाट सहभागी हुन आउनुभएका भिक्षुहरुले त्रिपिटकको पचिय तथा यसप्रकारको त्रिपिटक पाठको महत्वका बारेमा बताउनुभएको छ ।

 

यसरी हेर्दा एउटा बिर्सिएको पुरानो परम्पराले नयाँ जीवन पाएको देखिन्छ । सबै बौद्धहरुलाई नयाँ आनन्ददायक प्रोत्साहन मिलेको छ कि अब पवित्र बोधिवृक्षको मुनि हरेक वर्ष विभिन्न देशका बौद्ध भिक्षु भिक्षुणीहरु आएर एकै साथ परित्राण पाठ गर्ने परम्परा बसेको छ । पक्कै पनि यसका लागि धेरै भन्दा धेरै भिक्षु भिक्षुणी उपासक उपासिका तथा धेरैवटा संस्थाहरुको मिहेनत, लगन र सहकार्यले पनि यसलाई सफल बनाएको छ, यस्तै भन्नुहुन्छ द लाइट अफ बुद्धधर्म फाउण्डेशन इन्टरनेशनलकी कार्यकारी निर्देशक वाङ्मो दिक्से।

हो । एउटा परम्परा बसेको छ । यो सन्देश संसार भरी फैलिन्छ र मानिसहरु बुद्धधर्म र त्रिपिटकको बारेमा कुरा गर्नेछन् । उनीहरुले यो कति महत्वपूर्ण छ भनेर खोज्नेछन् आफै पत्ता लगाउने छन् । त्यसपछिले उनीहरु त्रिपिटकको सही अनुवाद र यसको विश्लेषण खोज्ने छन् । बौद्ध विद्वानहरु भन्छन् त्रिपिटकको अध्ययन विना बुद्धधर्मको ज्ञान अपुरो नै रहन्छ । यस अर्थमा वर्षैपिच्छे गरिने त्रिपिठक पाठको गरिमामय महत्व छ ।

 


त्रिपिटक पाठ मात्र होइन । यहाँ बेलाबेलामा यस्ता धार्मिक कार्यक्रमहरु चलिरहन्छ । कहिले त्रिपिटक पाठ, कहिले मोलम पूजा । अथवा त्यस्तै त्यस्तै । वर्ष भरियहाँ धार्मिक वातावरण गुन्जायमान भइरहन्छ । यसो नहुँदा पनि सयौं लामा भिक्षुहरु काठको फ्याक राखेर दिन रात दण्डवत गरिरहेका हुन्छन् भने माथिल्लो चंक्रमण मार्गमा पनि जपमाला घुमाउँदै मन्त्र गुनगुनाउँदै घुमिरहेका लामा वा गृहस्थीहरु सँधै देखिन्छन् । यसमा पनि बढी भने तिब्बती मूलका लामाहरु नै धेरै हुन्छन् ।

 

परिसर बाहिरको वातावरण पनि कम धार्मिक छैन । यहाँ एक दर्जन जति विभिन्न देशका बौद्ध संस्थाहरुले बनाएका विहारहरु छन् । तिनीहरु ती देशका बौद्धहरुको मात्र प्रतिनिधित्व गर्दैनन् बर त्यहाँका बौद्धकलाका विभिन्न पाटाहरुलाई पनि दर्शाइरहेका हुन्छन् ।

 

परिसर भन्दा बाहिर करिब पाँच मिनेट हिँडेपछि महाबोधी सोसाइटीको विहार छ । यस महाबोधी मन्दिरको संरक्षणमा यस सोसाइटी तथा अनागरिक धर्मकापलको योगदानलाई बिर्सन सकिन्न । नजिकै तिब्बती गुम्बा भेटिन्छ । त्यस्तै यहाको बर्मी विहार र सँगै थाइ विहार पनि छ । यसैको नजिकै चीनियाँ मन्दिर बनेको छ । यहाँ भन्दा अलिक पर भूटानी गुम्बा बनेको छ ।

 

यसका साथै बोधगयालाई धार्मिक स्थलको रुपमा मात्र नहेरी यसको पुरातात्विक महत्वका बारेमा पनि अध्ययन गर्न चाहनेहरुका लागि नजिकै पुरातत्व संग्रहालय बोधगयाको निर्माण गरिएको छ ।

यहाँ भ्रमण आउनेहरु धेरैजसो यहाँको ऐतिहासिकतामा प्रश्न गर्दैनन् । यहाँ पाइएका अभिलेख तथा पुरातात्विक अवशेषहरु सजाएर राखिएका पनि छैनन् । महाबोधी मन्दिरलाई आफु पुरातात्विक भनेर प्रमाणित गर्नु छै्रन त्यसकारण यसका जग, पर्खाल वा अन्य भाग छ्याङग राखिएका छैनन् । यहाँ आउनेहरु, बौद्धहरु हुन् वा अबौद्धहरु नै, यसलाई बुद्धयानको उद्मगस्थलको रुपमा आउँछन् जुन स्थानबाट विश्वभर बुद्धले सिकाउनुभएको ज्ञान फैलियो, यसमा नमन गर्न आउँछन् । आफुलाई बुद्धको ज्ञानमा समर्पण गर्न आउँछन् ।

 

हुन त हामी यहाँ केही दिन अरु बस्न चाहन्थ्यौं तर व्यवहारिकताले हामीलाई चाँडै घरतर्फ खिँच्यो । केही पुण्यले भरिएका मिठा संस्मरणहरुलिएर हामी १३ डिसेम्बरको बिहाने फर्कियौं ।