काठमाडौं उपत्यकाको बौद्ध समाजमा बसुन्धरा ब्रतको स्थान

विमला शाक्य
काठमाडौं उपत्यका प्राचीन कालदेखि धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको स्थलको रुपमा लिन सकिन्छ । यहाँका धार्मिक सांस्कृतिक सम्पदाहरुले नेपाललाई विश्वमा परिचित गराएको छ । यहाँको नेवार समुदायको सम्पदा, जात्रा पर्व, रितिरिवाज र परम्पराले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कला प्रेमीहरुलाई मोहित बनाएको छ ।
उपत्यका भित्र बसोवास गर्ने बौद्ध समाजमा उनीहरुको बौद्ध संस्कृति अनुसार दैनिक जीवनमा गरिने देव देवीहरुको पूजा पाठ, ध्यानभावना, स्तुति, धारणी पाठ संग संगै विभिन्न समयमा ब्रत बस्ने परम्परा निरन्तर चलिरहेको छ । यसै क्रममा नेवार बौद्ध समाजमा बसुन्धरा देवीलाई बुद्ध जननी, प्रज्ञाका मूर्ति, पृथ्वी स्वरुपिनी भनेर महत्वका साथ मूर्ति स्थापना गरी पूजा गर्ने, स्तोत्र धारणी, सूत्रादि वाचन गर्ने तथा ब्रत बस्ने परम्परा पनि परापूर्वकाल देखि निरन्तर चल्दै आएको छ ।
वसुन्धरा देवीको ब्रत हरेक वर्षको भाद्र कृष्ण पक्ष तृतीयाका दिन बस्ने परम्परा रहेको छ । भाद्र महिनाको कृष्ण पक्ष तृतीयाको दिन शुभारम्भ गरी श्रावण महिनाको कृष्ण पक्ष तृतीयाको दिनसम्म १२ महिनासम्म बस्नुपर्ने ब्रत भनी बौद्ध ग्रन्थहरुमा उल्लेख छ । नेवार बौद्धहरु भाद्र महिनाको कृष्ण पक्ष तृतीयाको दिन ब्रत बस्दै आएको छ । प्रत्येक महिनाको कृष्ण पक्ष तृतीयाका दिन वसुन्धरा देवीको ब्रत बस्नुपर्ने हो । तर महिनापिच्छे बस्न नसक्नेहरु शुरुको दिन भाद्र कृष्ण पक्ष तृतीयाको एक दिन बस्ने गरेको पाईन्छ । प्रत्येक महिनाको कृष्ण पक्षको तृतीयामा बस्ने भएकोले गातिला ब्रत भनिएको हो ।

 
बसुन्धरा देवी तीनवटा मुखारकृति भएकी देवी हुनुहुन्छ । उहाँ त्रिमूर्ति बसुन्धरा, महालक्ष्मी र कुमारीकी प्रतिक हुनु हुन्छ । बिचको मुहार पहेंलो वर्णको, दायाँको कुंकुम वर्ण (पहेंलोमा अलि रातो मिसेको), बायाँको र बाँया मुहार रातो हुन्छ । उहाँको ६ वटा हातले कलश, धानको बाला, प्रज्ञापारमिता पुस्तक, जपमाला, ज्वाला न्हाय्कं र मुुख्य दायाँ हातले वरदान दिइरहेको मुद्रामा ललितासनमा विराजमान हुनु हुन्छ । अन्न, धन, रत्न, प्रज्ञा र श्री सम्बृद्धिको रुपमा लिएकी बसुन्धरा देवीलाई पृथ्वी माताको रुपमा पुज्ने गर्दछ । प्रज्ञारुपी प्रज्ञापारमिता देवी भएकोले उहाँलाई प्राणीहरुको मात्र होइन बुद्धका माता पनि भन्ने गरिन्छ । प्रज्ञा पूर्ण नभईकन कोही पनि प्राणी बुद्ध हुन सक्दैन त्यसैले प्रज्ञा नै बुद्धको जननी हो ।

 

उहाँलाई नै सर्वलक्ष्मी, विश्वलक्ष्मी, राज्यलक्ष्मी, गृहलक्ष्मी, धन धान्य लक्ष्मी, महालक्ष्मी आदि षोदशीलक्ष्मी भनेर १६ प्रकारको लक्ष्मीको नामले समेत पूजा गर्ने गरिन्छ । योमरी पुन्हीको दिनमा धान्य लक्ष्मीको रुपमा कू पुजा गर्ने चलन नेवार समाजमा रहेको पाईन्छ । त्यसैगरि बौद्धहरुले तिहारमा लक्ष्मीपूजाको दिन बसुन्धरा देवीको पूजा गर्ने चलन रहेको छ । यसै गरी बसुन्धरा रुपी पृथ्वीको माथि चैत्य, मन्दिर एवं देवताको मूर्ति तथा घर निर्माण गर्न अगाडि शिलान्यास गर्ने बेला पनि बसुन्धरा देवीको पूजा गर्ने गरिन्छ । त्यतिमात्र होइन बुढाबुढी जंक्व गर्ने धार्मिक कार्य अन्तर्गत महारथारोहण गर्ने बेला पनि बसुन्धरा देवीको मण्डल बनाएर पूजा गर्ने परम्परा रहेको छ ।

बौद्ध समाजमा सम्यक दान, पंचदान एवं विहारमा गरिने धार्मिक कार्यमा समेत बसुन्धरा देवीको महत्वपूर्ण स्थान रहेको पाईन्छ । उपत्यकामा प्रचलित सम्यक दान कार्यक्रममा दीपंकर तथागतहरु मध्ये सबभन्दा अगाडि उच्च स्थानमा बसुन्धरा देवीलाई सम्मानपूर्वक विराजमान गर्ने चलन रहेको छ । घरको मूल ढोका माथि बुद्ध, वोधिसत्वहरु चित्रसंगै बसुन्धरा देवीको चित्र पनि लेख्ने प्रचलन रहेको छ । त्यसै गरि मूल ढोकाको दायाँ बायाँ बसुन्धराको प्रतिक स्वरुप भद्रघट, पूर्णघटको चित्र लेख्ने पनि परम्परा रहेको छ । प्रत्येक पाँच वर्षमा पाटनको नागबहालमा हुने सम्यक पर्वमा बसुन्धरा देवीलाई पाटन दरबार स्वायरमा राखी उपत्यकाका विभिन्न स्थानमा रहेका दिपकंर तथागतहरुले स्वागत गरी सबभन्दा उच्च स्थानमा राखी पुज्ने चलन रहेको संस्कृतिविद एवं शताब्दीपुरुष सत्यमोहन जोशी भन्नुहुन्छ ।

 

उपत्यकामा जम्मा १२ स्थानमा बसुन्धरा देवी सिद्ध हुनु भएको भनी १२ तिर्थस्थलहरु रहेका छन् । यी तिर्थस्थलहरु मध्ये पनि सबभन्दा पहिले ललितपुरको गुणागुलि अर्थात् गोदावरीको उत्पत्ति भएको मानिन्छ ।
अतितकालमा बज्रधरसागर निर्धोष नामका तथागतले आर्य बसुन्धरा देवीलाई श्रद्धाभाव पूजा गरी मण्डल बनाएर ब्रत बसी पूूजा पाठ गरेमा उसले आफुले चिताएको सबै कुरा पूरा हुन्छ भनी भन्नु भएको बौद्ध सूत्रमा उल्लेख छ ।
यसकारण बसुन्धरा देवीको नाममा ब्रत बसी पूजा गर्ने प्रचलन स्वयं बुद्धले उपदेश दिनु भएको ग्रन्थमा उल्लेख छ । स्वयम्भु पुराण अनुसार स्वयम्भु ज्योतिरुप दर्शन गर्न नेपाल मण्डल आउनु भएका सप्त तथागतहरु मध्ये विश्वभू तथागत फुल्चोक पर्वतमा गई नेपाल मण्डल रहेको नागदहको पानी सुकाई तिर्थ उपतिर्थ उत्पन्न भएको र फुल्चोक पर्वतमा वसुन्धरा देवी उत्पन्न भई उहाँको पादमूलमा पवित्र जलभरिपूर्ण भई गुणागुलि अर्थात गोदावरी उत्पत्ति हुन्छ भनी भविष्य वाणी गर्नु भएको थियो ।


कालान्तरमा दानासुरकी पत्नी महालक्ष्मी वसुन्धरा देवीको तपस्या श्रद्धाभावका कारण वसुन्धरा देवी प्रशन्न भई दर्शन दिनु भएको र उहाँको पादुकामूलबाट तत्काल गुणागुलि कुण्ड उत्पन्न भएको मानिन्छ । यसै जलप्रवाहबाट प्रभावती नदी उत्पन्न भएको भनिन्छ । यसै परम्परागत अनुस्मरण गरी प्रत्येक धार्मिक कार्य पूजा संकल्प गर्ने बेला बसुन्धरा प्रभावबाट उत्पन्न प्रभावती नदी संगमे… भनी वाक्य उच्चारण गर्ने गरिन्छ ।
बसुन्धरा देवी विराजमान उपत्यकाका १२ वटा तिर्थस्थलहरु मध्ये ब्रतको शुरुवात पनि गोदावरीबाट गर्ने परम्परा अहिले सम्म रहँदै आएको छ । त्यसपछि स्वयम्भुमा अवस्थित बसुपुर , चावहिलको धनद्वँ, बसुन्धराको बसुन्धरा द्वँ, क्वहिटी, ई देश बोडे, तिष्टुङ, तुकंबाहा, श्रीघः, असनको अन्नपूर्ण देवी, नयाँ सडक विशालबजारमा रहेको कलश, गोदावरी नौधारास्थित जलकुम्भ देवी भएको स्थानमा ब्रत बस्ने परम्परा रहेको छ । यी स्थानहरुमा वर्षभरि ब्रत बस्नेहरु प्रत्येक महिनाको कृष्ण पक्षको तृतीयाको दिन ब्रत बस्ने गर्दछ । भाद्र कृष्ण तृतीयाको दिन टोल टोलमा ब्रत बस्ने चलन नेवार बौद्ध समाजमा अहिले पनि निरन्तर चलिरहेको छ । बसुन्धरा देवीको ब्रत बसेमा धनधान्य पूर्ण हुने, निरोगी हुने, ईच्छाएको पूरा हुने तथा सन्तान नभएकाहरुले सन्तान प्राप्त गर्ने हुने हुनाले परापूर्वकालदेखि ब्रत बस्दै आएको हिरण्य वर्ण महाविहारका गुरुजु दिपक बज्राचार्य भन्नुहुन्छ ।
बसुन्धरा देवी ब्रतको शुरुमा गुरुजु र जजमान बसी गुरुमण्डल पूजा गरिन्छ । त्यसपछि आ आप्mनो आसन अगाडि रहेको गुरुमण्डल पूजा गरिन्छ । गुरुमण्डल पूजा सकेपछि बसुन्धरा देवीको पूजा शुरु हुन्छ । बसुन्धरा देवीको मूल मण्डलमा रहेको बुद्ध धर्म संघको पूजा गर्ने गरिन्छ । यसरी पूजा सकेपछि मण्डलको मुख्य बिच भागमा रहेको बसुन्धरा देवीको पूजा शुरु हुन्छ । वसुन्धरा देवीको पूजा गर्ने बेला वसुन्धरा देवीलाई दाप्mवः स्वाँ, ताय्, आख्यः २१र२१ पटक चढाएर पूजा गरिन्छ । त्यसैगरि ५ किसिमको पूmल , ५ थरिको मिठाई, पान सुपारी फलपूmल आदि पनि चढाउने गरिन्छ । बसुन्धरा देवीको मूल मण्डलमा बिमिरोलाई धानले छोप्ने गरिन्छ यसबेला गुरुजुले बसुन्धरा मन्त्र पढ्ने गरिन्छ । यो बिमिरोलाई आप्mनो पूजा कोठामा राख्ने गरेमा धनधान्य पूर्ण हुने विश्वास गरिन्छ ।

 

ब्रत बस्ने बेला ६ गाँठो बनाएको पहेंलो धागोको बसुका पनि चढाउने गरिन्छ । ब्रत समाप्त हुन अगाडि गुरुजुले बसुन्धरा देवी सम्बन्धी केही कथाहरु उपदेश दिइन्छ । यी कथाहरुको मध्ये पनि सुचन्द्र गृहपति, विमलावती आदि कथाहरु वाचन गर्ने दिपक गुरुजु भन्नुहुन्छ ।
बसुन्धरा देवी ब्रतको अन्तमा बसुन्धरा देवी र मूल मण्डलमा अर्ग दिइसके पछि ब्रत समाप्त हुन्छ । त्यसपछि गुरुजुले सबै ब्रतालुहरुलाई टिका लगाईदिइसकेपछि प्रसादको रुपमा खीर, फलफुल, दूध ख्वाउने गरिन्छ ।
यसरी बौद्ध समाजमा बसुन्धरा देवीको महत्व उच्च रहेको साथै यसको ब्रत बसेमा प्राप्त हुने फलका कारण ब्रतालुहरुको संख्या बर्षैपिच्छे बढ्दै गएको पाईन्छ ।