बुद्ध धर्ममा थाङ्का कलाको महत्व

प्रतीक तामाङ

परिचय

थाङ्कालाई बुद्ध धर्ममा प्रयोग हुने पवित्र कला मानिन्छ । बुद्ध धर्मसँग यसको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । किनकि, बुद्ध धर्म र दर्शनकै आधारमा थाङ्का कलाको उत्पत्ति र विकास भएको हो । बुद्ध धर्मको महायान सम्प्रदाय र महायानभित्र पनि अझ बज्रयान सम्प्रदायमा थाङ्का कलाको विशेष महŒव र भूमिका रहेको हुन्छ । बज्रयानअन्तर्गत थुप्रै संस्कार सम्पन्न गर्दा थाङ्काको प्रयोग अनिवार्यजस्तै हुन्छ । भगवान् बुद्ध र बुद्ध धर्मसँग गाँसिएका विभिन्न देवदेवीहरूको चित्र अंकित थाङ्काहरू राखेर मात्रै विभिन्न पूजाका कार्यक्रम सम्पन्न हुने गरेको पाइन्छ । लामाहरूले गर्ने ध्यान, साधना र अन्य समारोहमा थाङ्काको प्रयोग अनिवार्यजस्तै हुन्छ । गुम्बा र घरघरमा बनाइएको छ्योखाङहरूमा सानो ठूलो थाङ्काहरू राखेकै हुन्छन् । धार्मिक महत्व बोकेको यो कला बौद्धदर्शन तथा बौद्ध विज्ञानलाई विस्तारमा बुझाउने एउटा सजिलो माध्यम बनेको देखिन्छ ।

 
कलाका विभिन्न विधाहरूमा बौद्ध कलालाई पनि एउटा अलग्गै विधा मान्न सकिन्छ । बौद्धकला भन्नेबित्तिकै थाङ्का र पौभाको नाम आउने गर्दछ । धार्मिक महŒव बोक्ने यी कलाकाबारेमा विभिन्न खालका जानकारीका लागि पर्याप्त अध्ययन हुनु आवश्यक छ । बुद्ध धर्मबारे जान्न यी कलाबारे पनि ज्ञान हुनुपर्छ । थाङ्काकै माध्यमबाट बुद्ध दर्शन, यसको इतिहास, जीवन, धर्मको सारलगायतका कुराहरू व्याख्या गर्न सकिन्छ । त्यसैले, थाङ्का बुद्ध धर्मलाई चिनाउन र बुझाउन महŒवपूर्ण सामग्रीका रूपमा स्थान ओगट्न सफल वस्तु हो । बुद्ध दर्शन र बुद्ध धर्मको सार यसमा चित्रण गरिएको हुन्छ । थाङ्कामा उल्लेख गरिएका चित्रहरूको माध्यमबाट यसको व्याख्या गर्न सकिन्छ । बुद्ध धर्मको साधकलाई थाङ्का अपरिहार्यजस्तै मानिन्छ । उसले थाङ्काकै सामु ध्यान गर्न सक्छ । पूजा गर्न सक्छ । थाङ्का हेर्नु मात्रै पनि एक प्रकारको भक्तिभाव  प्रदर्शन गर्नु हो ।

धार्मिक कला

थाङ्का धार्मिक कला हो । किनकि, यो बुद्ध धर्मसँग सम्बन्धित छ । बुद्धकालीन समयमै थाङ्का कलाको प्रादुर्भाव भइसकेको भनिए तापनि यसको नामको विषयमा पनि फरकफरक व्याख्याहरू पाइन्छ । थाङ्कालाई तिब्बती भाषामा ‘थाङ्कु’ भनिन्छ । तामाङ भाषामा पनि थाङ्कु नै भनिन्छ । थाङ्कु दुई शब्द मिलेर बनेको छ । ‘थाङ’ भनेको ‘खाली या सम्म कपडा’ हो भने ‘कु’ भनेको ‘मूर्ति’ हो ।
खाली कपडामा लेखिने मूर्तिको चित्र भएको हुनाले थाङ्कु नाम रहेको भनिन्छ । यही शब्द कालान्तरमा अपभ्रंश भएर थाङ्का भएको मानिन्छ । तर, थाङ्का आफंैमा पनि अर्थ बोकेको शब्द हो भन्नेहरू पनि छन् । थाङ भनेको ‘खाली कपडा’ र ‘का’ भनेको ‘बुद्धको वचन’ हो । बुद्धको वचनहरू उतार्ने कपडा या चित्र भएकाले ‘थाङ्का’ भनिएको हो भनेर यसको अर्थ दिने पनि गरिन्छ ।

अहिलेको थाङ्काको स्वरुप भने सुरुमै आएको होइन । पहिलो थाङका कागजमै लेखिएको थियो । नालन्दा महाविहारमा पनि लामो समय कागजमै थाङका लेख्ने अभ्यास गरिएको थियो । तर, कागजमा लेखिएको आकृतिहरू टिकाउ रहने कुरै थिएन

 

 

इतिहास

थाङ्का लेखन परम्परा कहिलेदेखि सुरु भयो भन्ने विषयमा एउटै खालको मत पाइँदैन । यसमा फरकफरक चर्चा पाइन्छ । तर पनि बौद्ध कलाको आरम्भको सम्बन्धमा यस प्रकारको उल्लेख गरिएको पाइन्छ ।

 
बुद्धकालीन समयमा मगधका राजा बिम्विसारलाई एकपटक मित्र राज्य वत्सका न™ेश उदायनाले रत्नजडित अमूल्य उपहार दिए । दुई मित्रका बीचमा प्रायः कुनै न कुनै उपहार आदानप्रदान भइरहन्थ्यो । मित्र रत्नजडित उपहार दिएपछि यसको सट्टामा राजा बिम्विसारलाई पनि अमूल्य उपहार दिने इच्छा भयो । तर, आफूले उपहार के दिने भन्ने विषयमा भने उनले तत्काल निर्णय गर्न सकेनन् । राजा बिम्विसार अलमलमा परे । सोच्दै जाँदा आफू भगवान्को बुद्धको अनुयायी भएकोले बुद्धकै चित्र कोरेर उपहार दिने योजना बन्यो । त्यहीअनुसार बुद्धको आकृति बुद्धकै सामु बसेर कलाकारलाई लेख्न लगाइयो । तर, कलाकारले बुद्धको देदिव्यमान ज्योति हेरेर चित्र कोर्नै सकेनन् ।

त्यसपछि भगवान् बुद्ध नदीको किनारमा उभिँदा पानीमा देखिएको छायालाई हेरेर चित्र कोर्ने काम भयो र त्यही चित्र बिम्विसारले राजा उदायनालाई उपहार दिएका थिए । यही चित्र नै बुद्धको पहिलो चित्र हुन सक्ने पनि उल्लेख गरिएको छ ।

 
थाङ्का कला नेपालबाटै तिब्बत पुगेको मानिन्छ । पछि ११ औं शताब्दीमा बौद्धाचार्य रिन्छेन साङपो तिब्बत पुगेपछि उनले पनि भारतको काश्मीरबाट थाङ्काका चित्रकारहरू झिकाएका थिए । ११औं शताब्दीदेखि तिब्बतमा थांका कलाले विकासको गति समातेको हो ।

 
अहिलेको थाङ्काको स्वरूप भने सुरुमै आएको होइन । पहिलो थाङ्का कागजमै लेखिएको थियो । नालन्दा महाविहारमा पनि लामो समय कागजमै थाङ्का लेख्ने अभ्यास गरिएको थियो । तर, कागजमा लेखिएको आकृतिहरू टिकाउ रहने कुरै थिएन । चित्र लेखिएका कागजहरू च्यातिएपछि दीर्घकालीन रूपमा रहने उपायको खोजी गर्दा कपडामा विभिन्न चित्र कोर्ने अभ्यास हुन थाल्यो । कागजको सट्टा कपडामा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न देवदेवीको चित्र लेख्ने क्रम सुरु भयो । त्यसपछि मात्र थाङ्कु नाम रहेको हुन सक्छ । सम्भवतः ११औं शताब्दीतिर काश्मिरबाट थाङ्का लेखनका लागि चित्रकारहरू तिब्बत पुगेपछि यस खालको थाङ्कु लेखनको अभ्यासको विकास भएको अनुमान लगाउन सकिन्छ । नेवारी थाङ्का अथवा पौभाको भने १३औं शताब्दीमा काठमाडौंमा उत्पादन सुरु भएको उल्लेख छ ।
सीधै कपडामा लेख्दा पनि आकृतिहरू फुल्ने, बिग्रने हुन थालेपछि फेरि समस्या देखा प¥यो । कपडामा माटो दलेर चित्र लेख्दा पनि माटो झर्न थाल्यो । त्यसपछि फेरि टाँस्ने राम्रो चीजको खोजी गर्ने काम भयो । त्यसका लागि खोजी गर्दै जाँदा त्यतिखेर याकको छाला सुकाएर गलाएपछि टाँस्ने चीज तयार भएको बताइन्छ ।

 
थाङ्का लेख्नुअघि सामानको तयारी गर्नुपर्छ । सबैभन्दा पहिले कटनको कपडा सिलाएर काठ या फलामको फ्रेममा राखेर तन्काइन्छ । त्यसपछि कपडामा सरेश पगालेर बनाइएको ग्लु र कमेरो माटो घोलिन्छ । यसरी घोल्दा दुवैको मात्रा मिलाउनुपर्छ । बढी गाढा र बढी फिका नहोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ । दक्ष चित्रकारले सबै मिलाउँछ । माटो र ग्लु घोलेपछि कपडामा लगाएर क्यान्भास तयार गरिन्छ । यस्तो क्यान्भासलाई ह्रेसी भनिन्छ । त्यसपछि मात्र स्केचअनुसारको आकृतिहरू उतारेर थाङ्का तयार पार्ने काम हुन्छ । थाङ्का लेख्नुअघि कस्तो खालका आकृतिहरू लेख्ने, के–के कुराहरू राख्ने भनेर स्केच तयार पार्नुपर्छ । यसलाई क्यारी भनिन्छ ।

थाङ्का लेखनका चरण

थाङ्का कला विशिष्ट खालको कला हो । यसको सिक्ने र सिकाउने विभिन्न चरण हुन्छन् । थाङ्का कला सिक्न निम्नानुसारको चरणहरू क्रमशः पूरा गर्दै जानुपर्छ ।

१. ह्रेसी (क्यान्भास) बनाउने
थाङ्का लेख्नु अघि सबैभन्दा पहिले ह्रेसी बनाउनुपर्छ । त्यसपछि मात्रै स्केचअनुसारको आकृतिहरू उतार्ने काम हुन्छ ।
२. छोन (रङ) लगाउने
थाङ्का कलामा रङको विशेष महŒव हुन्छ । रङकै आधारमा आकृतिहरू जस्ताको तस्तै उतार्नुपर्ने हुन्छ । रङ राम्रोसँग लगाउने कला सिक्न मात्रै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्छ ।
३. याल (सेटिङ) गर्ने
याल भनेको थाङ्कामा विभिन्न पृष्ठभूमि (आशा, जमिन या अन्य) तयार पार्ने विधि हो । यसअन्तर्गत लोमदाङ, कामदाङ, चोपताङ पर्दछ । आधुनिक कलाले गर्दा लोपदाङ र कामदाङ बिस्तारै हट्दै गएको छ । तिब्बती थाङ्कामा मात्रै बढी पाइन्छ । अहिले नेपाली थाङ्कामा प्रायः चोपताङको मात्रै काम हुन्छ ।
४. चे (रेखा) तान्ने
थाङ्का लेखनमा चेको महत्वपूर्ण भूमिका हुन्छ । चेकै आधारमा थाङ्कामा विभिन्न वस्तुका आकृतिहरूको अलगअलग स्वरूप छुट्ट्याउने काम हुन्छ । चेको विषयमा पूर्ण ज्ञान नभइकन थाङ्का कला हुन सक्दैन ।
५. म्हार फोर्बा (सुन लगाउने)
प्रायः थाङ्काहरूमा सुन लगाएकै हुन्छ । यसले गर्दा पनि थाङ्काको मूल्य बढी हुने गरेको हो । सुन लगाउने तरिका नसिकिकन थाङ्का लेखनको पूर्ण कला थाहा हुँदैन ।
६. कुम्जे गर्ने
थाङ्का विभिन्न देवीदेवताको आकृतिहरू उतार्ने काम हुन्छ । यसमा शरीरको विभिन्न भागको आकार निकाल्ने प्रक्रियालाई कुम्जे भनिन्छ । कुम्जे गर्न देवीदेवताको आकृति र उनीहरूको स्वरूपबारे विस्तृत जानकारी हुनु आवश्यक हुन्छ ।
७. चेन्जे गर्ने
थाङ्कामा कोरिएको आकृतिलाई पूर्ण दिने कामलाई चेन्जे भनिन्छ । चेन्जे गर्ने काम दक्ष चित्रकारले मात्रै गर्न सक्छ । जसले यो कलाबारे लामो अनुभव सँगालिसकेको हुन्छ ।
थाङ्का कलाका यी सबै चरणमा दक्षता प्राप्त गर्न कम्तीमा पाँच वर्ष लाग्न सक्छ । तर, बढी मिहिनेत गर्ने र छिटो टिप्न सक्नेले योभन्दा कम अवधिमा पनि थाङ्का कलामा दक्षता हासिल गर्न सक्छन् । पहिले पहिले थाङ्का कला सिक्नुअघि मन्त्रोच्चारण गर्न लगाएर बुरुस समात्न लगाइन्थ्यो । छाम बसेकाले मात्र चेन्चे गर्न पाउँथ्यो । तर, अहिले त्यस्तो छैन । सेतो गुम्बामा भने अहिले पनि थाङ्का सिक्न चाहनेले केही विधि पूरा गर्नैपर्छ । थाङ्का लेखनको काम गर्ने व्यक्तिलाई खाइबा (चित्रकार) भनिन्छ ।

थाङ्काको प्रकार

थाङ्का कलालाई लेखाइका हिसाबले दुई प्रकारमा विभाजन गर्न सकिन्छ ।
१. परम्परागत थाङ्का
मौलिक थाङ्कामा जे छ अथवा धर्मग्रन्थ (छ्योअी) मा कुनै पनि आकृतिको जस्तो वर्णन गरिएको छ, त्यहीअनुसार कोरिने थाङ्कालाई परम्परागत थाङ्का भनिन्छ । परम्परागत थाङ्कामा सैद्धान्तिक रूपमा गरिएको व्याख्याअनुसार नै आकृतिहरू उतार्ने काम हुन्छ । देवीदेवताको आकृति, मुद्रा, रङ, वहान, छ्याकछान (देवताले समातेका वस्तुहरू) जेजस्तो छ, त्यहीअनुसार नै दुरुस्त बनाउनुपर्छ ।
२. आधुनिक थाङ्का
आधुनिक थाङ्कामा सबै कुरा मौलिकताअनुसार नउतारेको हुन सक्छ । व्यावसायिक उद्देश्यले यस्ता थाङ्काहरू बढी तयार पारिने भएकाले रङ, मुद्रा, आकार तलमाथि भएको हुन सक्छ । फोटो र फोटोकपीमा भर पर्ने काम हुन्छ । मौलिक वस्तुहरू नहुने भएकाले बिक्री भइसकेको यस्ता थाङ्का फिर्ता पनि आउने गरेको छ ।
रङ प्रयोगका हिसाबले थाङ्कालाई निम्नानुसार तीन प्रकारका विभाजन गर्न सकिन्छ ः
(क) नागठी ः यस्तो थाङ्कामा पृष्ठभूमि पूरै कालो रङको हुन्छ । त्यसमा भएका आकृतिहरूलाई सुन या चाँदी लगाएर सेटिङ गरिएको हुन्छ ।
(ख) म्हेन्ठी ः यस्तो थाङ्कामा पृष्ठभूमि पुरै रातो रङको हुन्छ । ९० प्रतिशत सुन लगाएर चहकिलो पार्ने काम हुन्छ ।
(ग) सेट्ठी ः यस्तो थाङ्का ह्रेसीमा पुरै सुन लगाएर लेखिन्छ । पुरै थाङ्कामा ३ प्रतिशतजति मात्रै रङको प्रयोग गरिएको हुन्छ ।
अन्य कलामा जस्तै थाङ्कामा पनि एप्लिक आर्टको प्रयोग हुने गरेको छ । कुनै पनि रङ, सुन र बुरुसको प्रयोग नगरीकन कपडाकै मात्र प्रयोग गरी थाङ्का तयार गर्ने गरिन्छ । यस्तो खालको अभ्यास तिब्बतबाटै सुरु भएको हो । यस्तो खालको थाङ्काको पनि माग राम्रो हुने गरेको पाइन्छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान ऐनले विभिन्न ६ वटा कलाका विधाहरू छुट्ट्याएकोमा थाङ्कालाई परम्परागत कलाअन्तर्गत राखेको छ ।

थाङ्काको भाग

एउटा थाङ्कामा विभिन्न भाग हुन्छन् । सामान्यतया कुनै पनि थाङ्कामा १. छ्युरी (पानी), २. टिम्बा (बादल), ३. ढुंगा (ढाक्री), ४. न्होर्पु (फलफूल), ५. पेमा (कमल), ६. नाम्खा (आकाश) जस्ता भागहरू हुन्छन् ।
थाङ्का लेखनमा प्रयोग हुने मुख्य रङ
थाङ्का कलामा आवश्यकताअनुसार विभिन्न खालका रङको प्रयोग हुन्छ । थाङ्का लेखनमा मोटामोटी रूपमा १. थिङ (नीलो), २. पाङ (हरियो), ३. ग्याम्छाल (रातो), ४. ल्हिठी (सुन्तला),
५. कारक (सेतो), ६. सेर (पहेंलो) र ७. नाछा (कालो) रङको प्रयोग हुने गरेको पाइन्छ ।

थाङ्कामा हुने मुख्य आकृति

पहिलो बौद्ध चित्रका रूपमा भगवान् बुद्धकै आकृति उतारिएको थियो । बुद्ध धर्मको विकास र विभिन्न देवीदेवताको परिकल्पना गरिएपछि ती देवीदेवताको आकृति थाङ्का उतार्ने गरिन्छ । मुख्य गरी थाङ्कामा बुद्धको जीवनी, चेन्रेसी (अवलोकितेश्वर), गुरू पद्मसम्भव, मञ्जुश्री, ताराहरू, विभिन्न बोधिसत्व, पञ्चध्यानी बुद्ध, योगिनी, सारीपुत्र, महामौदगल्यायन, चतुर महाराजिकाका आकृतिहरू लेखिने गरिन्छ । यसैगरी सिपेखोर्लो, मण्डला, स्तुपाहरूको आकृति पनि निकै लोकप्रिय मानिन्छ ।

बुद्ध धर्म र थाङ्का

बुद्ध धर्ममा थाङ्काको भूमिका महŒवपूर्ण रहेको छ । बुद्ध धर्मका विविध कुराहरू बुझाउन धर्मग्रन्थहरू वाचन गरेर मात्रै सम्भवन थिएन । त्यसैगरी, बारम्बार प्रवचन दिएर मात्रै पनि धर्मका सबै विषय छर्लङ्ग बुझाउन गाह्रै कुरा थियो । यसैले, विभिन्न आकृति बनाउँदा त्यसबाट सजिलै बुझाउन सकिने भएकाले पनि थाङ्काको प्रचलन क्रमशः लोकप्रिय बन्दै गएको हुनुपर्छ । बुद्धकालीन समयमै विकास भएको मानिने बौद्ध कलामा भवचक्र (सिपे खोर्लो) र मण्डल अंकित थाङ्काहरू निकै प्रचलनमा रहेको र त्यसको प्रयोगलाई बुद्ध स्वयंले प्रोत्साहन गरेको उल्लेख गरिएको पाइन्छ ।

 
कालान्तरमा गुम्बा निर्माणको परम्परा सुरु भएपछि गुम्बाका भित्ताहरूमा पनि थाङ्काकै स्वरूपमा विभिन्न आकृति बनाउने परम्पराको पनि विकास भयो । यसलाई ‘देब्री’ भनिन्छ । यसरी देब्री लेखनको परम्परा सुरु भएपछि गुम्बाको वातावरण बौद्धमय बन्ने र त्यसैबाट बौद्ध शिक्षासम्बन्धी धेरै कुराहरूको जानकारी प्राप्त गर्न सकिने स्थितिको विकास भयो । यसरी क्रमशः बौद्ध चित्र या आकृति शिक्षाको गतिलो सामग्रीका रूपमा स्थापित हुँदै आयो ।

 
आज संसारभर बुद्ध धर्मका अनुयायीहरू रहेका छन् । बुद्ध धर्म विभिन्न तरिकाले प्रचारप्रसारमा गइरहेको छ । विश्व शान्ति र प्राणी मात्रको कल्याणका लागि भगवान् बुद्धले प्रतिपादन गरेको पथ अनुशरण गर्ने बौद्ध धर्मावलम्बीहरू सयौं मुलुकमा छरिएका रहेका छन् । बुद्ध धर्म विभिन्न तरिकाले प्रचार भइरहेको पाइन्छ । विभिन्न माध्यमबाट धर्मबारे प्रचार भइरहे पनि सबैभन्दा सशक्त माध्यम चित्रकला नै भएको बौद्धमार्गीहरूको ठम्याइ छ ।
थाङ्का बौद्धधर्मबाटै विकास भएको कला भएकाले यसको ठूलो महŒव र प्रभाव छ । हजारौं मानिस यो पेसामा लागेको, व्यवसाय गरिरहेको, दैनिक रूपमा ग्राहकसँग थाङ्काका बारेमा बुझाउँदा पनि धर्म र यससँग गाँसिएका विभिन्न पाटाबारे जानकारी दिने काम भइरहेको हुन्छ । धेरै मान्छेले पढेरभन्दा चित्र हेरेरै कतिपय कुराहरू छर्लङ्ग बुझ्न सक्छन् ।
यस्तो अवस्थामा स्वाभाविक रूपमा पुस्तक पढाउनुभन्दा सामुन्नेमा चित्र (थाङ्का) राखेर पढाउँदा र बुझाउँदा सहज हुन सक्छ । कम समय र मिहिनेतमा बुद्ध धर्मको विभिन्न आयामहरूका बारेमा सरल ढंगले थाङ्का कलाको माध्यमबाट बुझाउन सकिनेमा दुई मत छैन । थाङ्का कलाको यो रूपमा विकास नभइदिएको भए बुद्ध धर्मको दायरा पनि निकै साँघुरो हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

नेपालमा थाङ्का कला प्रवेश

१०औं शताब्दीतिर आएको बुद्ध प्रतिमा लक्षण सूत्रमा विभिन्न देवदेवीका प्रतिमा कसरी बनाउने भन्ने विषयमा विस्तृत चर्चा गरिएको छ । नेपाली कलाको इतिहास सन् ४६४ देखि यता मात्रै पाइन्छ । चाँगुनारायणमा पाइएको शिलापत्र नै यसको आधार मानिएको छ । लिच्छविहरूको शासनकाललाई नेपाली कलाको स्वर्ण युग भनिन्छ । नेपालबाटै तिब्बतमा बौद्धकला पुगेको हो भन्नेमा कला इतिहासविद्हरू सहमत देखिन्छन् । सातौं शताब्दीमा नेपालका राजकुमारी भृकुटीको तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह भएपछि नेपालबाट बौद्ध कला पनि तिब्बत पुगेको हो भन्ने विभिन्न ग्रन्थहरूमा उल्लेख छ । त्यतिखेर नेपालबाट तिब्बत पुगेका कलाकारले ल्हासामा रहेको जोखाङ गुम्बामा अवलोकितेश्वर, आर्य तारा, सरस्वती, हयाग्रीबलगायत अन्य देवदेवीको मूर्तिहरू बनाएको उल्लेख छ । १३ औं शताब्दीमा नेपालका प्रसिद्ध कलाकार अरनिकोको नेतृत्वमा तिब्बत पुगेका कलाकारहरूले अझ नेपाली बौद्ध कलालाई त्यहाँ व्यापक बनाएको  इतिहासमा पाइन्छ ।

 

सुती कपडामा काठको फ्रेम प्रयोग गरेर विशेष गरी बुद्धका चित्र कोरिने थाङ्का विश्वमा पाँचौं शताब्दीमा विकास भएको बौद्धधर्मालम्बीहरू बताउँछन् । उनीहरूका अनुसार बुद्ध धर्मको प्रचारका बेला पढेलेखेका मानिस कम हुने गरेको र चित्रबाटै सजिलै धर्मको ज्ञान फैलाउन थाङ्काको विकास गरिएको थियो । सो समयमा भारतस्थित हालको पटनामा रहेको नालन्दा विश्वविद्यालयमा थाङ्काको अध्ययन अनुसन्धान हुने गरेको थियो, जहाँ चीनका गुरुहरू थाङ्का अध्यापनका लागि गराउन जाने गर्थे । तर, चीनमा माओत्से तुङको पालामा भएको द्वन्द्वले उनीहरू पलायन भए ।

 
पछि चीनमा राजनीतिक वातावरणमा सुधार हुँदासम्म उनीहरू वृद्धावस्थामा पुगिसकेका कारण थाङ्काको अध्ययन कार्य हुन सकेन । पछि चीन र तिब्बतको द्वन्द्वका क्रममा कतिपय तिब्बती नागरिक नेपाल पलायन भए । आफ्नो फुर्सदिलो समयलाई उनीहरूले थाङ्का कोर्ने कार्यमा मुस्किलले प्रयोग गरे । उनीहरूलाई तत्कालीन नेपाली ‘पौभा’ तथा ‘खाइबा’ चित्रकलाले सहयोग ग‍¥यो । त्यसैले गर्दा नै नेपाली गुम्बाहरूमा बिस्तारै फैलिएको अहिलेको थाङ्का कलामा नेपाली मौलिक कलाको विशेष प्रभाव पाइन्छ ।

 
नेपाली राजकुमारी भृकुटीसँग विवाह गरेका सातौं शताब्दीका तिब्बती राजा स्रङचङ गम्पोले त्यस समय नेपालबाट आर्य अवलोकितेश्वर र विभिन्न नेपाली देवीदेवताका आकृतिहरू मगाएका थिए । नेपालबाट पठाइएको यही आकृतिहरूका आधारमा तिब्बतमा कम्तीमा हजार वर्षसम्म थाङ्का कलाले निरन्तरता पाएको विभिन्न अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

साभार राजधानी दैनिक