बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक

रत्नकाजी वज्राचार्य

कयौँ विद्वानहरु मैले भ्रमित भेटें! उनीहरुलाई लाग्दोरहेछ बौद्ध धर्ममा उल्लेख भएका स्वर्गलोक र ब्रम्हलोक तथा ब्रम्हा त हिन्दु धर्ममा वर्णन गरिए जस्तै एउटै हो । तर बौद्ध धर्ममा उल्लेख गरिएको स्वर्ग र ब्रम्हलोक तथा ब्रम्हा नितान्त फरक छन् अनि ती लोकहरुको उत्पति, ति लोकहरुमा पुग्ने वा भोग गर्न जाने मार्ग पनि पुरै फरक छन्। त्यति मात्र हैन ति लोकहरु बौद्ध धर्ममा अनित्य र मानवलोकमा भन्दा अपुर्ण पनि छन। त्यसैले स्वर्गलोक र ब्रम्हलोकको भोग र आयु पनि निश्चित छ।


बौद्ध धर्ममा स्वर्ग र ब्रम्हलोक कसरी उत्पति भयो? यि लोकहरुमा के छ? कस्ता मानिसहरू ति लोकहरुमा पुग्न सक्छन्? त्यहाँ कस्तो जीवन भोग गर्न पाइन्छ। कति समय ति लोकहरुमा बस्न पाइन्छ? ति लोकहरुमा बस्नेहरुले निव्वाण प्राप्त गर्न किन सक्दैनन्? 


स्वर्ग र ब्रम्हलोक कसरी उत्पन्न भयो भनेर हिन्दु लगायतका ईश्वरवादी धर्ममा त कुनै तर्क नै आवश्यक पर्दैन किनभने ती लोकहरुको सृष्टी उनै ब्रम्हा वा ईश्वरले गरेका हुन् र जसजसले पुजा पाठ भक्ती भजन गर्यो वा ईश्वर रिझाउन सक्यो तिनैलाई स्वर्गको द्वार खोलिदिन्छन् सुखभोग गर्नको लागि। 


यो ब्रम्हाण्ड न आदि न मध्य र न अन्त हुने कर्मचक्रको निरन्तरता हो। उत्पति र विनाशको चक्र हो। क्रमिक विकास र विनाशको शृङ्खलाबदद्ध निरन्तरता हो भन्ने अंतिम सत्यको उजागर भगवान बुद्धले गरिदिनु भए पश्चात् सहजै अनुमान लगाउन सकिन्छ कि ती स्वर्ग र ब्रम्हलोकको निर्माण वा निर्माता अरु कोही नभएर हामी र हाम्रो कर्म नै हो वा मानव कर्मद्वारा नै उक्त लोकहरुको उत्पति भएको हो। कुशल कर्मको एउटा तहमा पुगेकाहरुको मृत्यु पश्चात् स्वर्ग र ध्यान कर्मबाट समाधी र प्रज्ञा प्राप्त गरेता पनि विपश्यना नजानेका वा त्रिरत्नको विपश्यनाको फल प्राप्त नगरेकाहरुद्वारा रुप रहित ब्रम्हलोक सृजना भएको हो र यो स्थान हासिल गरेकाहरुलाई ब्रम्हा भनिएको हो । त्यसैले ब्रम्हाहरु हजारौं, लाखौंको संख्यामा हुन्छन्। यी हरफहरू पढ्दा अलि असहज लाग्न सक्छ तर आवश्यकताले नै उत्पादन हुन्छ भन्ने बुझेमा सहज हुन्छ साथै प्रतित्यसंउत्पाद पनि । जन्म जन्मान्तरमा विविध खालका पुण्यकर्महरूका चरणहरुको संग्रह पश्चात सुख भोग गर्न स्वर्गलोक प्राप्त हुने गर्दछ । स्वर्गलोक काम क्रिडा मदिरामा मस्त भैरहन पाउने स्थान हो र पुण्यकर्मको फलको अवधी समाप्त भएमा वा स्वर्गलोकमा पनि अकुशल कर्म गरेमा स्वर्गलोकबाट आफ्नो पुर्बभवहरुमा संकलित पुण्य र पापकर्म अनुसार मानिस, पशु, प्रेत वा अन्य लोकहरुमा जन्मनु अवस्यंभावी हुन्छ र त्यस्तै ब्रम्हलोकका ब्रम्हाहरुलाई वा माहाब्रम्हा पनि मनुष्य लोकमा आर्जित शिल समाधीको पुन्यको अवधी समाप्तिसंगै पूर्बभवहरुमा संकलित पून्य र पापका विपाक अनुसार विभिन्न लोक र योनिमा जन्मनु र आफुले ती लोकहरुको भवहरुमा फलाएको कुशल र अकुशल कर्मको फल अनिवार्य  भोग्नु पर्ने हुन्छ। न त स्वर्ग न त ब्रम्हलोक वा सुखावती, तुसित वा तवतिस्म कुनै पनि लोकमा बसेर निव्वाण प्राप्त गर्न सकिँदैन। निव्वाण प्राप्तिको लागि मनुस्य लोकमा मानिस नै हुनु पर्छ, त्रिरत्नको शरणागत हुनैपर्छ । त्रिरत्न शरणं।